Techie IT
१३ असोज २०७९, बिहीबार

गृहसचिव सिंहबाट नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण


काठमाडौं । गृहसचिव विनोद प्रकाश सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण तथा निरीक्षण गरी उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । निरीक्षण भ्रमणका क्रममा गृह सचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए ।

No description available.

निरीक्षण पश्चात गृहसचिव सिंहले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा संगठनको हीत र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई  सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिवद्ध र लगनशील भएर कार्य गर्न आग्रह गरे । आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उनले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

गृहसचिव सिंहले प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, समाजमा शान्ति स्थापना र मानव अधिकार संरक्षणमा प्रतिवद्ध रहने प्रहरी संगठनले निभाएको भूमिकाको प्रशंसा गर्दै सत्य सेवा सुरक्षणमको नारा सहित प्रहरी संगठनले आफ्नो विशिष्ट योगदान इतिहासका हरेक कालखण्डमा स्थापित गर्दै आएकोमा नेपाल प्रहरीमा आवद्ध सबै कर्मचारीको लागि गौरवको विषय भएको उल्लेख गरे । गृहसचिव सिंहले आउँदो निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र भयरहित तवरले सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरूले अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गृहसचिवबाट प्राप्त निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गर्ने प्रतिवद्धता जनाए । प्रहरी महानिरीक्षक सिंहले आउँदो निर्वाचनलाई स्वच्छ, भयरहित र नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनाई सुरक्षा योजना अनुरूप सबै प्रहरी कर्मचारीहरूले मन, वचन र कर्मले ऐक्यबद्ध भई जिम्मेवारी बहन गर्ने उल्लेख गरे ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृह मन्त्रालयका प्रवक्ता सह सचिव फणिन्द्रमणी पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु एवम् प्रहरी वरिष्ठ अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्