Techie IT
१३ असोज २०७९, बिहीबार

शिक्षालयलाई राजनीतिक मैदान नबनाउन शिक्षाराज्यमन्त्रीको आग्रह


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षण संस्था पठनपाठनको थलो भएकाले शिक्षालयलाई राजनीतिक मैदान नबनाउन आग्रह गरेकी छिन् ।

शिक्षा पत्रकार समाजको दोस्रो वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षण संस्था बालबालिकाको पढ्नका लागि खोलिएका पवित्र मन्दिर भएकाले विश्वविद्यालय वा विद्यालयमा तालाबन्दी र अवरोध तथा राजनीति अवाञ्छनीय भएको स्पष्ट गरे । उनले शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र लक्ष्य समावेश गरिएको ‘शिक्षाको सोचपत्र २०७९’ हालै सार्वजनिक भएकाले सोअनुसार कार्यान्वयनका लागि सबै पक्षको सहयोगको अपेक्षा व्यक्त गरे ।

उनले प्रविधि र सामाजिक सञ्जालको प्रभुत्व रहेको आजको युगमा शिक्षाको महत्व अझै बढ्ने भएकाले विज्ञान र प्रविधिको विकास र त्यसका फलस्वरुप विश्वव्यापीकरणले संसारलाई खुम्च्याइरहेको समयमा समयसापेक्ष शिक्षा र सूचना विस्तारका लागि नागरिकको कर्तव्य भएको राससलाई बताए ।

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सरकारले हालै सार्वजनिक गरेको शिक्षाको सोचपत्रले शिक्षा विकासको समग्र पक्षमा समावेश गरेको र यो जीवन्त दस्तावेज भएको बताए । उनले मन्त्रालयले दिने शैक्षिक सूचनाको प्रवाहमा कुनै कमी नहुने विश्वास व्यक्त गरे ।

शिक्षाविद् प्रा. डा. वासुदेव काफ्लेले गुणत्मक शिक्षाको आधार उत्कृष्टता भएकाले उत्कृष्टता र सन्तुष्टि आवश्यक भएको बताउँदै शिक्षा पत्रकारले खोजी पत्रकारिता र जनचेतनाका लागि काम गर्नुपर्नेमा जोड दिए ।

शिक्षासेवी सम्मानित र पत्रकार पुरस्कृत
कार्यक्रममा सार्वजनिक शिक्षाको सुधारमा समर्पित विभिन्न शिक्षासेवीलाई सम्मानित गरिएको छ । यस क्रममा धनुषाको जनता मा.वि.का प्रधानाध्यापक पवन मण्डल, काठमाडौँको जनकल्याण मा.वि.का प्रधानाध्यापक कुमारी कमला राई र विश्वनिकेतन मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठ र काभ्रेको जनज्योति मा.वि.का प्रधानाध्यापक भानुभक्त मैनालीलाई सम्मान गरिएको छ ।

यस्तै समाजले स्थापना गरेको रु. २५ हजार राशिको शिक्षा पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टकी पत्रकार तारा चापागाइँलाई प्रदान गरिएको छ । पिपल्स क्राफ्ट एक्सर्टका सञ्चालक तथा समाजसेवी गोपी कँडेलको रु. दुई लाख २२ हजार २२२ सहयोगमा सो पुरस्कार कोष स्थापना भएको हो । कार्यक्रममा अक्षय कोष स्थापना गराएकामा व्यवसायी कँडेललाई पनि सम्मान गरियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्