Techie IT
शुक्रबार, मंसीर १२,२०७७

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा कम राजस्व असुल


बीरगञ्ज ।
वीरगञ्ज आन्तरिक राजस्व कार्यालय पर्साले चालू आर्थिक वर्षको भदौसम्मको राजस्व लक्ष्य भेट्न सकेको छैन । कोरोना महामारीको कारण अन्तःशुल्क र आयकर दाखिलामा कमी आएपछि कार्यालयले लक्ष्यअनुरूप राजस्व संकलन गर्न नसकेको हो । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हृदयनारायण महतोका अनुसार चालू आव २०७७–७८ का लागि कार्यालयले ८९ करोड १५ लाख ३६ हजार लक्ष्य पाएकोमा ७३ दशमलव ७२ प्रतिशत अर्थात् ६५ करोड ७२ लाख १९ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको छ ।

यो लक्ष्यको २६ दशमलव २८ अर्थात् २४ करोड कम हो । कार्यालयले अन्तःशुल्कतर्फ ३७ करोड ४७ लाख ९० हजार लक्ष्य पाएकोमा १८ करोड ८४ लाख ८० हजार, भ्याटतर्फ २८ करोड ६९ लाख ४२ हजार लक्ष्य पाएकोमा ३० करोड ५९ लाख ५६ हजार, आयकरतर्फ २२ करोड १२ लाख ९० हजार लक्ष्य पाएकोमा १५ करोड छ लाख ६८ हजार, घरबहालतर्फ ४९ लाख १६ हजार लक्ष्य पाएकोमा ६२ लाख १३ हजार, ब्याजकरतर्फ ३५ लाख १६ हजार लक्ष्य पाएकोमा ५९ लाख दुई हजार गरी कुल ६५ करोड ७२ लाख १९ हजार राजस्व संकलन गरेको छ ।

पर्सामा पहिले सातवटा मदिरा उद्योग सञ्चालमा थिए, जसमध्ये छवटा बन्द भइसकेका छन् । एकमात्र हिमालयन डिस्टिलरी सञ्चालनमा छ । त्यसको पनि कोरोना महमारीका कारण छ महिनादेखि उत्पादन ठप्प भएर राजस्व संकलन प्रभावित भएको छ । त्यसैगरी आयकरतर्फ पुस मसान्तसम्म समय रहे पनि करदाता निष्क्रिय देखिएको कर अधिकृत नेत्र घिमिरेको भनाइ छ ।

आन्तरिक राजस्व कार्यालय, वीरगञ्जले भदौमा मात्र ४० करोड ९६ लाख १७ हजार राजस्व लक्ष्य पाएकोमा २९ करोड ४७ लाख ३७ हजार राजस्व संकलन गरेको थियो भने गत साउनमा ४९ करोड १९ लाख १९ हजार लक्ष्य पाएकोमा ३६ करोड २४ लाख ८२ हजार राजस्व संकलन गरेको थियो ।

आयकर तिर्न सरकारले पुस मसान्तसम्म समय दिएको हुन्छ, जसमा व्यक्तिगत स्लेबमा चार लाखसम्म आम्दानी गरेकोमा कर तिर्नु पर्दैन । सोभन्दा बाँकी एक लाखमा १० प्रतिशत, दुई लाखमा २० प्रतिशत, सात लाखदेखि २० लाखसम्म ३० प्रतिशत र २० लाखभन्दा माथिको रकममा ३६ प्रतिशत कर तिर्नुपर्ने नियम छ ।

त्यसैगरी निकाय (प्रालि/साझेदारी)ले २५ प्रतिशत आयकर तिर्नुपर्ने नियम छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले निक्षेपको पाँच प्रतिशत ब्याज कर आन्तरिक राजस्व कार्यालयलाई बुझाउँछन् । भ्याट र अन्तःशुल्कको विवरण र शुल्क हरेक महिनाको २५ गतेभित्र आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्छ । नबुझाएमा प्रतिमहिना एक हजार जरिवाना लाग्छ । भ्याट १३ प्रतिशत लाग्छ भने अन्तःशुल्क बहुदरमा फरक वस्तुमा फरक–फरक लाग्ने गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्