Techie IT
मंगलबार, मंसीर १६,२०७७

राजधानीबाट आउने बढेसँगै जिल्लावासीमा कोरोनाको त्रास


सोलुखुम्बु ।
पछिल्लो समय नेपाल सरकारले लामो तथा मध्यम दूरीको सवारीसाधन सञ्चालन गरेसँगै सहरमा रहेकाहरू गाउँ फर्केने क्रम बढेको छ । काठमाडौँबाट जिल्ला फर्कने यात्रुबाट सोलुखुम्बुमा पनि कोरोनाको फैलिने हो कि भन्ने त्रास उत्पन्न भएको छ । सरकाले असोज १ गतेबाट लामो दूरीमा यातायात सञ्चालन गर्न अनुमति दिएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना संक्रमण त्रास बढेको हो ।

अहिले सडक तथा हवाइ मार्ग हुँदै देशको जुनसुकै क्षेत्रबाट निर्बाधरूपमा नागरिकहरू आउने क्रम बढेकाले यहाँका स्थानीयमा त्रास बढेको हो । कोरोनाका कारण लकडाउन तथा निषेधाज्ञाको समयमा सहरबाट नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै खबर सोध्न र कोसेली बुझ्न झुम्मिने छिमेकीहरू अहिले परपरै भाग्ने गरेका छन् । अहिले न त कोसेलीको आश छ, न त नयाँ खबर बुझ्ने इच्छा छ, केबल सहरबाट आउनेसँग सम्पर्कमा जाँदा कोरोना संक्रमण हुनसक्ने त्रास ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्कलाई हेर्दा असोज १ गतेदेखि बुधबारसम्म सडक मार्ग हुँदै एक हजार नौ सय २३ जना यात्रु सोलुखुम्बु जिल्ला भित्रिएका छन् । ट्राफिक प्रहरी इन्चार्ज तथा सहायक प्रहरी निरिक्षक कृष्ण कटुवालका अनुसार उनीहरू तीन सय ९५ वटा सुमो र एक सय ५० वटा बसमार्फत जिल्ला भित्रिएका हुन् ।

जिल्ला भित्रिएका नागरिकको न त पीसीआर परीक्षण गरिएको छ, न त क्वारेन्टिनमा राख्ने र बस्ने स्पष्ट निर्देशन नै जारी गरिएको छ । जसले गर्दा जिल्लामा कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन् । नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढदै जाँदा यातायात सञ्चालन गरिएकाले गाउँबस्तीमा समेत कोरोना फैलनसक्ने नेचासल्यान गाउँपालिकाका हिमबहादुर बस्नेतको चिन्ता छ ।

सुरुवाती चरणमा स्थानीय सरकारले बाहिरी जिल्लाबाट आएका नागरिकहरूलाई क्वारेन्टिनमा राख्ने, आवागमनमा कडाइ गर्ने, सीमा नाकामा चेकजाँच गर्ने गरेको भएपनि अहिले कति नागरिक गाउँपालिका भित्रिए भन्ने समेत तथ्याङ्क राख्न सकिएको छैन । गाउँघरमा आएका नागरिक समेत खुला स्थानमा हिँडडुल गर्दा कोरोना संक्रमण भयावह स्थितिमा पुग्ने बस्नेतको अनुमान छ । जिल्ला भित्रिने मुख्य नाका सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्ताले भएपनि नगरपालिकासँग भने के–कति नागरिक जिल्ला भित्रिए भन्ने तथ्याङ्क छैन ।

संघीय सरकारले नै लामो दूरीको यातायात सञ्चालन गरेपछि स्थानीय तहमा भित्रिने नागरिकको विषयमा समन्वयमा समेत समस्या भएको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ । ‘जिल्लाबाहिरबाट आएका नागरिकको व्यवस्थापन अहिलकोे मुख्य चुनौती रहेको छ ।’ अध्यक्ष राईले भने, ‘स्थानीय नागरिक सचेत हुनुको विकल्प छैन ।’ असोजको पहिलो सातादेखि जिल्लाका सबै क्षेत्रमा विद्यालय समेत सञ्चालन गरिएको छ ।

यस अवस्थामा खुला आवागमन तथा यसको व्यवस्थापनमा ध्यान नपुग्नुले आगामी दिनको अवस्था जटिल हुने स्थानीय नागरिक बताउँछन् । योसँगै नजिकिएको जाडपर्वको समयमा जिल्ला भित्रिने नागरिको संख्या पनि बढ्ने भएकाले पनि कोरोनाको इपिसेन्टर बनिरहेको काठमाडाँैबाट निर्बाधरूपमा यात्रु आउँदा सचेतता अपनाइएन भने यसले ठूलो क्षति हुनसक्नेतर्फ सबैले ध्यान दिनुपर्ने देखिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्