Techie IT
शुक्रबार, मंसीर १२,२०७७

कोरोना महामारीमा पनि एडीबीका परियोजनाहरूका निर्माण कार्य निर्वाधरूपमा सञ्चालन


काठमाडौं ।
कोडिभ १९ महामारीले विकास आयोजना प्रभावित भइरहेका बेला एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सञ्चालित सबै विकास परियोजनाहरूमा निर्माणकार्य निर्बाधरूपमा अगाडि बढिरहेको छ । कार्यस्थलमा निर्माणकार्य सञ्चालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडुअर (एसओपी) लागू गरेर विकास परियोजनालाई अगाडि बढाइएको हो ।

एसओपी अन्तर्राष्ट्रिय अभ्यास तथा विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य तथा विकाससँग सम्बन्धित संस्थाहरूले जारी गरेका निर्देशिकाहरूलाई पालन गरी बनाइएको बैंकले जनाएको छ । बैंकले आफ्ना शत् प्रतिशत लगानी रहेका विकास परियोजनामा एसओपी लागू गरेर निर्माण कार्यलाई अगाडि बढाएकोे हो ।

कोभिड १९ जोखिमका कारण अहिलेसम्म पनि अन्य स्रोतहरूबाट सञ्चालित धेरै विकास परियोजनाहरू अगाडि बढ्न सकिरहेका छैनन् । एडीबीले एसओपी बनाएर ‘मे’देखि नै लागू गर्न आयोजना कार्यान्वयन निकायहरूलाई परिपत्र गरेको थियो । मार्चमा लकडाउन (बन्दाबन्दी) सुरु भएपछि कोभिडका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाइएको बैंकले जनाएको छ ।

एडीबीले सबै परियोजना कार्यान्वयन निकायसँग दु्रत सर्वेक्षण गरी ती निकायले माग गरेअनुुसार जुलाइ २१ देखि २३ सम्म सबै आयोजना कार्यान्वयन निकाय, परामर्शदाता तथा निर्माण व्यवसायीहरूलाई एससोपी कार्यान्वयनबारे अभिमुखीकरण तथा परामर्श दिएको एडीबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको वेभिनारमा सिंहले एसओपीमा निर्माण कार्य सुरु गर्दा व्यवस्था गर्नुपर्ने मुख्य दुई क्षेत्रहरू कार्यस्थलको व्यवस्थापन र कर्मचारीहरूको जनस्वास्थ्यको व्यवस्थापनका विषयमा पालना गरिनुपर्ने व्यवस्थाहरू स्पष्टरूपमा दिइएको बताए ।

निर्माण कार्य क्षेत्रमा कामदारको व्यवस्थापन, प्रवेशद्वारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलीकरण, सामान लोड–अनलोड गर्ने तरिका, पीपीईको प्रयोग एवं कामदारहरूको बस्ने शिविर (क्याम्प)को उचित व्यवस्थापन गरिएको सिंहले बताए ।

यसैगरी आकस्मिक उपचारको तयारी, संक्रमणयुक्त केसमा आकस्मिक प्रोटोकल एवं क्वारेन्टाइनको व्यवस्था पनि आयोजनाहरूमा गरिएको उनले बताए । जोखिम व्यवस्थापनका लागि कार्य, सञ्चार तथा मानव व्यवहारको संयुक्त कार्यक्रम, सरकारद्वारा जारी निर्देशन, निर्देशिका र अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुसरण गर्नु र विकास आयोजनालाई निरन्तरता दिनु नै एसओपीको मुख्य लक्षय रहेको बैंकले जनाएको छ । एसओपीले नेपाल सरकारको प्रचलित कानुनी तथा विकास साझेदारहरूको प्रावधानहरूको पालना गरेको पनि बैंकले जनाएको छ ।

कार्यक्रममा एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजना साइटहरूमा कामदारहरूको सुरक्षा सुनिश्चित गर्न एसओपीले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बैंकले तयार पारेको एसओपी आयोजनाहरूमा लागू भईरहेको र एउटा राम्रो सुरुवात भएको जानकारी दिए ।

बैंकको लगानीमा निर्माणाधीन परियोजनाहरले पहिले नै एसओपीको विकास गरेको र प्रयोगमा पनि ल्याउनु सुखद् भएको उनले बताए । विकास परियोजनालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले एडीबीले एसओपी बनाएर निर्माणलाई निरन्तरता दिएको उनको भनाइ थियो । कार्यक्रममा एडीबीले बनाएको जस्तै एसओपी बनाएर अन्य विकास परियोजनालाई अगाडि बढाउन सकिने पूर्वअर्थसचिव सुमन शर्माले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्