Techie IT
आईतबार, मंसीर २१,२०७७

भूकम्प स्मृति उद्यानले अन्तर्राष्ट्रिय महत्व राख्छ : सभामुख


सिन्धुपाल्चोक ।
सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताएका छन् । बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरणका लागि भएको बैठकमा उनले सो कुरा बताएका हुन् ।

उक्त स्मृति उद्यानका संरक्षकसमेत रहेका सभामुख सापकोटाले राष्ट्रिय गौरवको आयोजना स्मृति उद्यान बनाउन कानूनी जटिलता हटाएर पूरा गरी छाड्ने प्रतिबद्वता जनाए । विधि, विधान निर्माण गर्ने सङ्घीय संसद्को नेतृत्व गरेको हिसाबले बैठकमा उपस्थित भएको सभामुख सापकोटाले बताए । “यो राष्ट्रिय गौरवको आयोजना हो, यसले अन्तर्राष्ट्रिय महत्व राख्छ”, सभामुख सापकोटाले भने, “यसकारण बैठकमा मेरो उपस्थिति आफैँमा अर्थपूर्ण छ ।”

समस्या निराकरणका लागि जोखिम आवश्यकता परे पनि दिन आफू तयार भएरै आएको उनले राससलाई बताए । राम्रो काम गर्नका लागि कानूनी जटिलतामात्रै प्रधान नरहेको उनको जिकिर थियो । देशकै स्मरणयोग्य बनाउनका लागि केही क्षति भए पनि ब्यहोर्न तयार हुनपर्नेमा उनले जोड दिए । “हामीले थालेको महान कार्यलाई रोक्ने होइन कि त्यसलाई ठिक ढङ्गले निकास दिनुपर्छ”, सापकोटाले भने । उपाय कसरी निकाल्न सकिन्छ गहन छलफल गरेर निष्कर्ष निकाल्न उनले प्रमुख जिल्ला अधिकारीलगायतलाई निर्देशनसमेत दिए ।

स्मृति उद्यानको तत्कालीन वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङद्वारा वि.सं. २०७३ वैशाख २९ गते शिलान्यास गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ दारेगौँडा पानी ट्याङ्कीमा भगवती सामुदायिक वन क्षेत्रको ४२ हजार १०८ वर्गमिटर क्षेत्रमा बन्ने गरी शिलान्यास भएको हो ।

निर्माण समन्वय र सहजीकरण समिति गठनसमेत भएर निर्माण शुरु भएको भनिएको उद्यान पाँच वर्ष बितिसक्दासमेत योजनामै थन्किएको छ । रु. ४९ करोड ९३ लाख १६ हजार ५२४ को लागत अनुमान र उद्यानको डिपिआरसमेत सम्पन्न गरी पुनःनिर्माण प्राधिकरणबाट रु. एक करोड स्वीकृत भई घेराबार लगाइएको थियो ।

बैठकको अध्यक्षता गरेका सांसद तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले सिन्धुपाल्चोकमा विद्यालय भवन निर्माणले देशकै अग्रता पाएजस्तै भूकम्प स्मृति उद्यान पनि सोही गतिमा बन्नुपर्ने धारणा राखे । भूकम्पले देशकै सर्वाधिक क्षति पु¥याएको सिन्धुपाल्चोकमा भूकम्प स्मृति उद्यान बनाउन कसैगरी नरोकिने ठोकुवा गरे ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, पूर्वसांसद सुभाष कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल तथा नेपाली काँग्रेसका जिल्ला सचिव बिलबहादुर तामाङलगाएतले स्मृति उद्यान पुनःनिर्माणमा अड्किएको गाँठोलाई कुनै विधिद्वारा फुकाउनुपर्ने धारणा राखे ।

बैठकमा भूकम्प स्मृति उद्यान निर्माणको हालसम्मको प्रगति र समस्याका बारेमा भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरण समितिका सदस्यसचिव सन्तोषकुमार निरौलाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै निरौलाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट यही आर्थिक वर्ष २०७७ साउन २७ मा वन क्षेत्रको जग्गा सिफारिस समितिको सिफारिससहित पेश गर्न निर्देशन दिएको बताए ।

उनका अनुसार सो समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष, जिल्ला समन्वय अधिकारी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अधिकृत र सम्बन्धित नगरपालिकाको प्रमुख सदस्य रहेका छन् । बैठकले सदस्यसचिव रहेका निरौला र वन डिभिजन कार्यालय सिन्धुपाल्चोकका डिभिजन प्रमुखलाई परामर्श गरेर समस्या सुल्झाउन जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

यसैबीच भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरण समितिका संयोजक यसअघि सांसद शेरबहादुर तामाङ रहेकामा बैठकले पूर्वसांसद सुभाष कर्मचार्यलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ । आफूले जिम्मेवारी पाएसँगै स्मारक उद्यान निर्माणमा पूर्णरुपमा लागिपर्ने कर्मचार्यले प्रतिबद्वता जनाए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्