Techie IT
सोमबार, वैशाख ६,२०७८

पूर्वमन्त्री डा. खतिवडा राजदूत

वैरागी मुख्यसचिव/लोकसेवाको सबै परीक्षा खुल्ला


काठमाडौं ।
सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको लागि नेपाली राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अर्थमन्त्रीबाट राजीनामा दिएपछि खतिवडालाई सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार बनाउने निर्णय गरेको थियो ।

उनलाई विशेष आर्थिक सल्लाहकार बनाएपछि प्रधानमन्त्री ओलीले नै अर्थ मन्त्रालयको जिम्मेवारी लिने र अर्थ मन्त्रालय चलाउने काम सल्लाहकारको रुपमा खतिवडाले नै गर्ने अनुमान गरिएको थियो । यो बीचको अवधिमा त्यस्तै देखिए पनि बिहीबार खतिवडा एकाएक अमेरिकाको राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् । संसदीय सुनुवाइपछि खतिवडा राजदूतमा नियुक्त हुनेछन् ।

बिहीबारकै बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गरी उनलाई बेलायतको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको छ । त्यस्तै, डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतको लागि सरकारले सिफारिस गरेको छ । रेग्मीले राजीनामा दिएपछि रिक्त मुख्यसचिव पदमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई बढुवा गरिएको छ ।

सरकारले कोरोनाको कारण रोकिएको लोकसेवाका सबै परीक्षा र विज्ञापन तथा नियमित पदपूर्तिसम्बन्धी व्यवस्था पनि फुकुवा गरेको छ । अब सिनियरहरु उपसचिवहरुको बढुवा हुने ढोका पनि खुला भएको छ ।

प्राडा केसीलाई अनशन फिर्ता लिन सरकारको आग्रह : सरकारले अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । केसी स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी केही दिनदेखि अनशनमा छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्राडा केसीले विगतदेखि उठाउँदै आएका धेरै माग पूरा भएर कार्यान्वयनमा गइसकेको बताउँदै अनशन तोड्न आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले चिकित्सा शिक्षासम्बन्धी ऐन र उक्त ऐनअनुसार उच्चस्तरीय आयोग बनेर काम सुरु भइसकेको र सातै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खुल्ने विषय पनि सम्बोधन भइसकेको उल्लेख गरे । मन्त्री ज्ञवालीले सिङ्गो मुलुक कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा रहेका अवस्थामा अनशन, धर्ना, हडताल र सत्याग्रह सुहाउँदो विषय नभएको बताउँदै केही विषय बाँकी भए पछि छलफल गर्न सकिने बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्