Techie IT
मंगलबार, मंसीर १६,२०७७

बेवारिसे चार बालबालिकाको पुनःस्थापना


जुम्ला ।
जुम्लामा बेवारिसे अवस्थामा फेला परेका चार बालबालिकालाई पुनःस्थापन गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति, सरोकारवालाको सहयोग तथा समन्वयमा पुनःस्थापनाका लागि उनीहरूलाई सुर्खेत पठाइएको छ ।

अल्पकालीन आश्रयका लागि सेवा केन्द्र जुम्लामा तत्कालका लागि बसेका उनीहरुको पहिचान खुलेपछि बास र अध्ययनका लागि समन्वय भएपछि प्रहरीको साथमा सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

अल्पकालीन सेवा केन्द्रका अध्यक्ष भगवती श्रेष्ठका अनुसार उनीहरुले शुरुमा नाम ठेगाना पनि फरक दिएका थिए । अहिले वास्तविक ठेगाना पहिचान भएको छ । मधु भनिएकी सुनिता परियार र उनका बाबुको नाम अमर परियार खुलेको हो । तीन वर्षको बच्चा सुनिता परियारको भएको छोरा खुलेको छ । अर्का गीता भन्ने कविता परियार रहेको खुलेको छ । कविताको आमाको निधन भइसकेपछि कान्छी श्रीमती ल्याएका र शारीरिक तथा मानसिक हिंसामा परी कामको खोजीमा जुम्ला आएको खुलेको हो ।

उनीहरुलाई बेवारिसे अवस्थामा भेटिएपछि स्थानीय प्रशासन र प्रहरी, सेवा केन्द्रको सहयोगमा अल्पकालीन आश्रयका लागि सेवा केन्द्रमा राखिएको थियो । राससका अनुसार उनीहरुलाई जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, जिल्ला प्रहरी कार्यालय प्रमुख काफ्ले, चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईँ, आश्रय केन्द्रका अध्यक्ष श्रेष्ठसहितको टोलीले प्रहरीको साथमा सुर्खेत पठाएको हो ।

सुर्खेतमा कोपिला भ्याली र मानवसेवा आश्रममा तत्कालीन पुनःस्थापनाका लागि पठाएको हो । यसैगरी चन्दननाथ नगरपालिकाको रु. २० हजार आर्थिक सहयोगमा उनीहरुलाई जुम्लाबाट सुर्खेत पठाइएको निमित्त प्रशासकीय अधिकृत चौलागाईँले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्