Techie IT
बिहीबार, मंसीर १८,२०७७

जिपीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द


दमौली ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो ।

उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेसन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए । उनका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्याक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।

“अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उनको सम्पर्कमा आएका छन्, सबैको शुक्रबार स्वाब सङ्कलन गर्दैछौँ,” डा. श्रेष्ठले भने, “पिसिआर रिपोर्ट आएपछि मात्रै सेवा खुल्छ ।”

आइसोलेसनलाई छुट्टै भवन : सो केन्द्रमा आइसोलेसन कक्षका लागि छुट्टै भवन निर्माण हुने भएको छ । हाल अस्पतालमा ५० शय्या क्षमताको आइसोलेसन छ । कोरोना महामारी फैलिएपछि अस्पतालको दोस्रो र तेस्रो तलामा रहेका विभिन्न विभाग हटाएर आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।

अस्पतालको नियमित सेवा सञ्चालन गर्नलाई छुट्टै भवन निर्माण गरेर आइसोलेसन सञ्चालन गरिने अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले राससलाई बताए । आठ कोठाको नयाँ भवन निर्माणका लागि टेन्डर आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए ।

सङ्घीय सरकारले ५० शय्या क्षमताको आइसोलेसन भवन बनाउन रु. एक करोड बजेट पठाएकामा अपुग हुने भएपछि ३० शय्याको आइसोलेसन बनाइने श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्