Techie IT
बुधबार, मंसीर १७,२०७७

सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारको सडक निर्माण कार्य पुनः सुरु


सोलुखुम्बु ।
छ महिनादेखि रोकिएको सोलुखुम्बुको सदमुकाम सल्लेरी बजार क्षेत्रको मुख्य सडक निमाण कार्य सुचारु भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बन्दाबन्दीका कारण ह्युमपाइप ढुवानी गर्न नसक्दा रोकिएको काम पुनः सुरु भएको निर्माण कम्पनीका प्रतिनिधि राजु तामाङले जानकारी दिए । लामो समय ढुवानीमा समस्या हुँदा निर्माण कार्यमा प्रभाव पारेको उनको भनाइ छ । बन्दाबन्दी तथा निषेधाज्ञा हटेपछि ढुवानीमा सहज भएपछि निर्माण कार्य थालिएको उनले बताए ।

आयोजनाको सम्पर्कमा प्रतिनिधि तामाङले लकडाउन खुलेसँगै निर्माण सामान ढुवानी गरेर काम सुरु गरेको बताए । २०७५ माघ ७ गते १८ महिनामा काम सक्नेगरी सुरु भएको सडक आरसीसी गर्ने काम निर्धारित समयमा नसकिँदा स्थानीयले सास्ती बेहोर्दै आएका छन् । केही भागमा ढलान गरिएको भए पनि ढलान हुन बाँकी स्थानमा भने हिलोले यात्रा गर्न कठिन हुनेगरेको छ ।

सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ को जिरो प्वाइन्टदेखि सल्लेरीसम्मको एक किलोमिटर सडक निर्माणको कार्य हालसम्म ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले दाबी गरेको छ । गत वैशाखमा नै निर्माण सम्पन गर्नुपर्ने सम्झौता भए पनि लकडाउनका कारण सम्पन्न गर्न नसकेकाले समय थप गरी पुनः काम सुरु गर्न लागिएको तामाङको भनाइ छ । अहिले निर्माण कार्यको म्याद छ महिना थप भएको छ । जम्मा छ करोड बजेटमा खानी ब्राइट र नेसनल जेभीले संयुक्तरूपमा सडक निर्माणको जिम्मा लिएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्