Techie IT
१७ साउन २०७८, आईतबार

काठमाडौंमा थप ६२ जनामा कोरोना


काठमाडौं, साउन २५
शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा काठमाडौँ उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ६२ जनासहित देशका विभिन्न जिल्लामा ३ सय ७८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट तीन जनाको मृत्यु भएको जानकारी समेत दिए । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ७३ जना पुगेको छ । सक्रिय सङ्क्रमित छ हजार २ सय ६ मध्ये प्रदेश नं. १ मा ४ सय ७८, प्रदेश नं २ मा दुई हजार ९ सय २९, वाग्मती प्रदेशमा एक हजार २९, गण्डकी प्रदेशमा २ सय ४२, प्रदेश नं ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७५ सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म विश्वभर एक करोड ९५ लाख ४९ हजार ९ सय १ कोभिड–१९ बाट सङ्क्रमित छन् । सात लाख २४ हजार १ सय ८६ व्यक्तिको मृत्यु भइसकेको छ र एक करोड २५ लाख ७० हजार ६ सय ३१ व्यक्ति यस रोगबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ७ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

हालसम्म जम्मा चार लाख ३५ हजार २ सय ८९ परीक्षण भएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिको सङ्ख्या १० हजार ७ सय ९२ छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या ४ सय ९९ जना छन् । हालसम्म डिस्चार्ज हुने १६ हजार ३ सय १३ छन् । पीसीआर सात हजार ८ सय ८८ जनामा परीक्षण गरिएको छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्ला छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्