Techie IT
मंगलबार, मंसीर १६,२०७७

म्याग्दीको तमाने र खबरामा सलहले बाली नष्ट


काठमाडौं,साउन २५

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ ।

सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका छन् । पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायतका गाउँमा लगाएको मकै र धानबाली सलहको झुण्डले नष्ट गरिदिएपछि किसान रुनु न हाँस्नुको अवस्थामा पुगेको बेनी नगरपालिका–२ खबराकी किसान तुलसी सापकोटाले राससलाई बताएका छन् ।

सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको गौश्वाराका किसान ध्रव घिमिरेले भने। “लाखौँको सङ्ख्यामा भित्रिएको सलहले गाउँ नै छोपेको छ”, उनले भने, “भगाउने प्रयास गर्दा गर्दै मकै र धानबालीमा ठूलो क्षति पुगेको छ ।”

बालीमा पसेको सलहलाई धपाउनका लागि स्थानीयवासीले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरे पनि सफल नभएको उनले जानकारी दिए। बिहीबार बिहानै खेतबारीमा देखिएको सलह आइतबार बिहानसम्म पनि खेतबारीमा नै रहेको छ । सलहले सबैभन्दा बढी मकैबालीमा क्षति पु-याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पु-याएको स्थानीयवासीले बताएका छन् ।

पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ । बाढीपहिरोले बितण्डा मच्चाइरहेको अवस्थामा खेतबारीमा सलह देखिएपछि स्थानीय चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरे पनि क्षतिको विवरण प्राप्त भइनसकेको जनाएको छ ।

दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिङ्गा, भकुण्डेलगायतका क्षेत्रमा सलह पानी परेपछि हराएको थियो । पहिरो र कोरोनाको कहरका बीचमा भित्रिएको सलहले बाली नष्ट गरेपछि किसान निराश भएका छन् । सलह धपाउन किसानले गरेको प्रयास सफल भएको छैन । म्याग्दीका विभिन्न ठाउँहरूमा अझै पनि सलहको झुण्डले धान र मकैमात्रै होइन, फलफूल र तरकारीमा पनि क्षति पु-याएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्