राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा एक अर्ब ७८ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार दुुई सय ४० दिने मुुद्दती निक्षेपको रुपमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
पेन्सन तथा उपदान कोषमा रहेको रकम २०७७ कात्तिक २ गतेदेखि २०७८ जेठ ३१ गतेसम्मको लागि राख्न लागिएको हो । यसरी मुुद्दती निक्षेपको रुपमा राखिने कुुल रकममध्ये वाणिज्य बैंकहरुको लागि एक अर्ब ४२ करोड ४० लाख, विकास बैंकहरुको लागि २६ करोड ७० लाख र फाइनान्स कम्पनीहरुको लागि आठ करोड ९० लाख रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही असोज १८ गते अपराह्न ४ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्नेछ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियलस्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्