Techie IT
मंगलबार, मंसीर १६,२०७७

सम्झनाको हत्या राजेन्द्रले स्विकारेपछि शव आफन्तले बुझे


काठमाडौं ।

बझाङकी १२ बर्षिय सम्झना कामीका हत्या आरोपी राजेन्द्र बोहराले हत्या आफैँले गरेको स्वीकार गरेपछि सम्झनाका आफन्तले शव बुझेका छन् ।

सम्झनाको हत्या उनले मन्दिरभित्र रहेको त्रिशूलले हिर्काएर गरेको मंगलबार राती स्वीकारेको प्रशासनले जनाएको छ।

यसअघि अपराध स्विकार नगरेका राजेन्द्रले मंगलबार राती हत्या गरेको स्विकार गरेको बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार बेलुका पत्रकार सम्मेलन गरिसकेपछि राजेन्द्रले आफैँले हत्या गरेको स्वीकार गरेका छन्।

प्रहरीका अनुसार उनले सम्झनाको हत्या आफूले त्रिशूलले हानेर गरेको र उक्त हतियार मन्दिर छेउको एउटा रूखको जरामा लुकाइएको छ भनेर बयान दिएका छन् । अहिले उक्त हतियार सहित घटना स्थलमा खटिएको सीआईबीको टोली चैनपुर आउँदैछ गरेको पनि जानकारी दिएको छ ।

हत्या भएको ८ दिनपछि आफन्तले जिल्ला अस्पतालबाट शव बुझेका हुन् । जिल्ला अस्पतालबाट सम्झनाको शव बुझ्दै गोरख कामीले दोषीलाई कारबाही हुन्छ भनेर आफूहरूले शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागि संर्घष जारी राख्ने बताए।

नेपाल सरकार गृहमन्त्रालयका सचिवले फोन मार्फत बालिकाका आफन्तलाई १० लाख रुपैयाँ दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामबहादुर सार्कीले बताए।

मंगलबार अबेर पीडित पक्ष र प्रशासन वीचको छलफल पछि क्षतिपूर्तिका लागि नेपाल सरकार संग अनुरोध गर्ने र घटनाका बारेमा थप अनुसन्धान जारी राख्ने सहमति भएको थियो । यस सहमति पछि शव बुझ्न आफन्त सहमत भएका थिए।

गत बुधबार साँझ घरबाट गोठमा गाईभैंसी बाध्न हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै हत्या भएको थियो । सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययन गर्थिन्।

घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन्। उनको आमा बाबु रोजगारीका लागि भारतमा रहेका थिए ।

दाषीलाई कडाभन्दा कडा कारवाही गर्नका लागि जताततैबाट सरकारलाई दवाब आइरहेको छ । सरकारले पनि दोषीमाथि कडा कारवाही गर्ने प्रतिवद्धता जनाइरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्