नायब सुब्बाको कमाइ करोडमाथि

काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत नायब सुब्बा गणपति झाले विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा गैरकानुनी रुपमा अकूत सम्पत्ति आर्जन गरेको पाइएको छ । नायब सुब्बा झाले दुई करोड ४४ लाख ७१ हजार एक सय पाँच रुपैयाँ ५१ पैसा गैरकानुनी तरिकाले सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
२०३९ मंसिर ९ गतेमा गाविस सचिव (राप अनं. द्वितीय) पदबाट सार्वजनिक सेवामा प्रवेश गरी विभिन्न पद तथा कार्यालयमा कार्यरत रही २०७८ साउन महिनाबाट अवकाश पाएका झाले २०३९ साल साउनदेखि २०७७ वैशाख ८ सम्मको समयको समग्र आयव्यय हेर्दा आय/आर्जनतर्फ पारिश्रमिक हेर्दा उक्त रकमको स्रोत खुल्न सकेन । उनले सो अवधिमा समग्र आय/व्यय हेर्दा आय/आर्जनतर्फ पारिश्रमिक बचत, जग्गा बिक्री, विभिन्न बैंक तथा कर्मचारी सञ्चयकोषको ऋण, कृषि आय, सवारीसाधनको आय, बीमा म्याचुरिटी र न्यू थ्री ब्रदर्स एण्ड बिल्डर्स नामको फर्मबाट प्राप्त आय समेत गरी जम्मा दुई करोड ४२ लाख ६७ हजार एक सय चार रुपैयाँ ५६ पैसा आम्दानी गरेको र उक्त रकम व्ययतर्फ जग्गा खरिदमा विभिन्न बैंकबाट लिएको ऋणको सावाँब्याज, विभिन्न प्रकारका सवारीसाधन (जेसीबी, स्कार्पियो, बोलेरो, ट्याक्टर) समेत खरिद, घर निर्माण, अध्ययन खर्च, करुणाकर इन्टरप्राइजेज, न्यू श्री ब्रदर्स एन्ड बिल्डर्स र नीति कन्सट्रक्सनसमेतका व्यावसायिक फर्म तथा कम्पनीको दर्ता तथा सञ्चालनमा र कृषि उपकरण खरिद गरेको पाइएको छ । चार करोड ८७ लाख ३८ हजार दुई सय १० रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ ।
झाको समग्र आम्दानी दुई करोड ४२ लाख, ६७ हजार, एक सय चार रुपैयाँबाट समग्र खर्च चार करोड ८७ लाख ३८ हजार दुई सय १० रुपैयाँ घटाउँदा हुन आउने दुई करोड ४४ लाख ७१ हजार एक सय पाँच रुपैयाँबराबरको खर्च तथा लगानी (सम्पत्ति)को वैधानिक स्रोत खुल्न नआएपछि झाले भ्रष्टाचार गरेको खुलेको हो ।
सम्पत्तिमध्ये आंशिक रुपमा स्रोत खुलेको ६३ लाख ७३ हजार पाँच सय ५५ मूल्यबराबरको सम्पत्ति एवं बाँकी अपुग बिगो गणपति झाको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको मौज्दातबाट पाँच लाख ८४ हजार दुई सय २६ रुपैयाँ गरी दुई करोड ४४ लाख ७१ हजार एक सय पाँच रुपैयाँ जफत गर्न अख्तियारले माग गरेको छ ।
झाले गैरकानुनी रुपमा आर्जन गरेको आफ्नी पत्नी मीनादेवी झा र छोराहरु दिवाकर कुमार झा, शिवाकर कुमार झा र करुणाकर कुमार झाको नाममा राखेको पाइएको छ । अख्तियारले उनीसँगै उनकी पत्नी र छोराहरुलाई प्रतिवादी बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्