Techie IT
१२ असार २०७९, आईतबार

सार्वजनिक सवारीले भाडा बढाए तर यात्रु घटाएनन्


दोलखा ।
लकडाउन खुलेसँगै लामो तथा छोटो दूरीमा चल्न थालेका सवारी साधनले सरकारले तोकेको मापदण्डविपरीत यात्रु बोक्ने गरेको पाइएको छ । करिब छ महिनाको बन्दाबन्दीले ग्यारेजमै थन्किएका बस अहिले दोलखादेखि राजधानी काठमाडौँलगायत पूर्वको झापासम्म चल्न थालेका छन् ।

चरीकोटदेखि पूर्वतिर दैनिक बर्दिबास, वीरगञ्ज तथा झापा काँकरभिट्टासम्म चल्ने तीनवटा बस बिहान ७ बजे, ९ बजे र दिउँसो १ बजे छुट्ने गर्छन् । चरीकोटबाट खुर्कोट पुग्नको लागि यसअघि दुई सय ५० रुपैयाँ भाडा लाग्थ्यो तर सरकारले कोरोना भाइरस रोकथामको लागि भन्दै असोज १ गतेदेखि सबै सवारीमा एक सिट, एक यात्रु राखेर ५० प्रतिशत भाडा वृद्धि गर्न पाउने मापदण्ड बनाएर सवारी चलाउन दिएको छ । यद्यपि सवारीसाधनले भने ५० प्रतिशत नभई ८० देखी सय प्रतिशतसम्म भाडा बढाएर यात्रुसँग असुल गर्नेगरेका छन् । लकडाउनअघि चरीकोटबाट खुर्कोट पुग्नको लागि दुई सय पचास रुपैयाँ भाडा तिरे पुग्नेमा अहिले पाँच सय रुपैयाँ भाडा तिर्नुपरेको यात्रु पर्शुराम श्रेष्ठले बताए ।

सोमबार पूर्वको बर्दिबासदेखि चरीकोटका लागि छुटेको बा २ ख ६३६२ नम्बरको बसले सरकारको नियमविपरीत बसभरि खचाखच यात्रु बोकेकै कारण तीन हजार जरिवाना तिरेको छ । सो बसभित्र रहेका ३६ वटा सिटभरि यात्रु राखेको हुँदा ट्राफिक प्रहरी चेकपोस्ट खुर्कोट सिन्धुलीले तीन हजार रुपैयाँ जरिवाना गरेको हो । त्यस्तै दोलखाको सदरमुकाम चरीकोटदेखि जिल्लाभित्र चल्ने अन्य बसले पनि भाडा बढाए पनि यात्रु भने घटाएका छैनन् ।

लकडाउन खुलेपछि काठमाडौ– दोलखा दैनिक करिब ३५ वटा बस ओहोरदोहोर गर्ने गरेका छन् । सदरमुकाम चरीकोटमा रहेका अरनिको टिकट काउन्टर र रोल्वालिङ काउन्टरले भने सरकारको मापदण्डअनुसार नै सीमित टिकट काट्ने गरेको बताएका छन् । बसमा रहेका ३२ देखि ३६ सिटमध्ये काउन्टरले १२ देखि १५ सिटको टिकट वितरण गरे पनि बाटोमा चढ्ने लोकल यात्रुले गर्दा बस भरिने गरेको चरीकोटका सार्वजनिक सवारीका टिकट काउन्टरले जनाएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्