Techie IT
५ असार २०७८, शनिबार

सभागृह निर्माण अन्तिम चरणमा


घोराही ।
नेपाल सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत दाङको घोराहीमा ठूलो लगानीमा बहुद्देश्यीय सभागृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । घोराही उपमहानगरपालिका–१४ नयाँबजारमा निर्माण सम्पन्न गर्न थालिएको सो सभागृह रु. २६ करोड ७७ लाख १८ हजार ९०३ को लागतमा निर्माण हुन लागेको छ ।

सभागृह निर्माणको संयोजन उद्योग वाणिज्य सङ्घ दाङले गरिरहेको छ । निर्माणाधीन सो सभागृह निर्माणको आधा बढी काम सकिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसालले जानकारी दिए । सभागृह निर्माणको जिम्मेवारी बङ्गलामुखी गौरी पार्वती जेभी ललितपुरले पाएको छ । बहुउद्देश्यीय सभागृह तीन तलाको बनाइएको छ भने एक हजार क्षमताको हल बनाइएको छ ।

उद्योग वाणिज्य सङ्घले वि.सं. २०६९ को महोत्सवबाट रु. ५१ लाख र २०७२ सालको महोत्सवबाट रु. २४ लाख ९९ हजार रकम सङ्कलन गरेको थियो । सो रकम पनि सङ्घले नेपाल सरकारलाई सहयोग गर्दै सभागृहमा लगानी गरेको सङ्घका अध्यक्ष भुसालले राससलाई जानकारी दिए । सभागृहको शिलान्यास वि.सं. २०६९ मा भएपनि निर्माण वि.सं. २०७५ को कात्तिक दोस्रो साताबाट शुरु भएको थियो । सभागृह ३० महिनामा सम्पन्न गर्ने सम्भौता भएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्