जोनी डेप र एम्बर हर्डको विवादको यसरी भयो ‘टिकटक सुनुवाई’

काठमाडौँ । “यो भाइरल होस् भनेर बनाइएको भिडिओ थिएन। मैले पाइजामा मात्र लगाएकी थिएँ।”एकजना सोशल मिडिया म्यानेजर यास्मिन बेड्वर्डले जोनी डेप र एम्बर हर्डको मानहानिसम्बन्धी घटनामा कुन बेलाबाट आफ्नो रुचि बढ्यो भन्ने कुरा जमैकास्थित घरबाट बताइन्। त्यही बेला त्यो घटनाले ठूलो रूप लियो।”यस विषयमा मेरो धारणाबारे मेरो वास्तविक जीवनमा कसैलाई मतलब थिएन। हाम्रो उमेरका धेरैले गर्ने जसरी मैले पनि टिकटकको सहारा लिएँ,” ३० वर्षीया बेड्वर्डले भनिन्।
डेप र हर्डको मुद्दामा बयान दिएका दुई मनोविज्ञको तुलना गरिएको उनको भिडिओ ४३ लाखभन्दा बढी पटक हेरिएको छ।
त्यो अमेरिकी टेलिभिजन सीबीएसको साँझपखको समाचार कार्यक्रम हेर्ने मानिसको भन्दा अलिकति कम सङ्ख्या हो।
त्यसले साँच्चिकै “उधुम मच्चायो।”

तस्बिर स्रोत,GETTY IMAGES
हरेक साँझ अमेरिकामा टेलिभिजन समाचार हेर्ने अमेरिकीको सङ्ख्या एक करोड ८० लाख रहेको छ।
तर #justiceforjohnnydepp लेखेर राखिएको भिडिओ हेर्ने मानिसको सङ्ख्या १८ अर्ब नाघिसकेको छ।
जुरी र नागरिकबाट सुनुवाइ
हलीवुडका दुई कलाकारबीच भएको मुद्दाको सुनुवाइले आमसञ्चार वा मूलधारका सञ्चारमाध्यममा समेत आउने केही निश्चित घटनाले प्रभाव पार्ने क्षमता उजागर गरेको छ। यो धेरैका लागि निकै तनावपूर्ण बन्यो।यो मुद्दामा खासगरी दुईवटा घटना भए। एउटामा जुरीले निर्णय गर्यो भने अर्को सर्वसाधारणले गरे।सुरुका दिनदेखि नै अनलाइनमा उल्लेख्य सङ्ख्यामा मानिसहरू जोनी डेपतर्फ ढल्किएको अनि एम्बर हर्डतर्फ अलि शङ्कालु भएको देखियो। सन्देहको तहमा मानिसहरूका मत र सामाजिक सञ्जालमा त्यसबारे खोजी त्यसअघि यूकेमा भएको मानहानि सुनुवाइसँग अमिल्दो थियो।

तस्बिर स्रोत,GETTY IMAGES
जहाँ पत्नी हर्डले घरेलु दुर्व्यवहार सामना गरेको कुरा “धेरै हदसम्म सत्य रहेको” भनिएको थियो।उनको बयान र चरित्रमाथि अमेरिकामा भएको सुनुवाइमा जसरी अपमानित गरियो त्यसले घरेलु हिंसाका अभियानकर्तालाई सजग बनायो।
टिकटकबाट सुनुवाइ?
अहिलेको कानुनी सुनुवाइको प्रश्न यस आदेशको प्रभाव के हुने छ भन्ने हो। जुरीले जेसुकै भने तापनि के डेपले आफ्नो करीअर र प्रतिष्ठा बचाउन सके त?तर सँगसँगै अर्को प्रश्न पनि छ। समानान्तर “टिकटक सुनुवाइ” मा कसले यतिखेर अनलाइन ट्राफिक सिर्जना गरिरहेको छ र यसको कस्तो प्रभाव परेको छ?”क्याब्रा” अनलाइनमा मिथ्या सूचनाको जाँच गर्ने एउटा कम्पनी हो जसले कैयौँ साता डेप र हर्डको मुद्दा पछ्यायो। उसले मीम, भिडिओ र प्रतिक्रिया लेख्ने खाताको परीक्षण गर्छ। उसले के ती खाताहरू साँच्चिकै सर्वसाधारण प्रयोगकर्ताका हुन् कि हैन्न भनेर जाँच्छ। उक्त कम्पनीका प्रवक्ता रफी मेन्डल्सनका अनुसार अहिलेसम्मका नतिजा अचम्म पार्ने खालका छन्।

तस्बिर स्रोत,GETTY IMAGES
“सुनुवाइको सुरुदेखि नै मानिसहरूले साँच्चिकै के भनिरहेका छन्, ती कति साँच्चिकै भनिएका हुन् र कति नक्कली खाताबाट फैलाइएका हुन भनेर हामीले जान्न खोजेका थियौँ।”मेन्डल्सनले भने, “जब सुनुवाइसम्बन्धी झन्डै ११ प्रतिशत चर्चा नक्कली खातहरूले चलाइरहेको देख्दा हामी छक्क परेका थियो। त्यो निकै उच्च सङ्ख्या हो।”
नक्कली खाता
“यसको केही सन्दर्भ बुझ्नका लागि औसत कुनै बेलाको एउटा संवादमा हामीले झन्डै ३ देखि ५ प्रतिशत संवादमा मिथ्या खाताहरू संलग्न भएको देख्यौँ,” उनले थपे।यान्त्रिक र मिथ्या खाताबाट हुने यस्तो संवादको सबैभन्दा उत्कृष्ट तुलना ठूला निर्वाचन अभियानसँग हुने उनी बताउँछन्।डेपको पक्षमा उत्पन्न अनलाइन ट्राफिकमा रुचि राख्ने क्याब्रा एक्लो छैन।हर्डले सुनुवाइको सुरुमै यो विषय उठाएकी थिइन्।सुनुवाइका क्रममा हर्डका समर्थक क्रिस्टिना टाफ्ट र ड्यानिएल ब्रुमिट भर्जिनिया अदालत भवनबाहिर निरन्तर गएर अनलाइनमा के भइरहेको छ भनेर सचेत गराइरहेका थिए।उनीहरूले “एम्बर हर्ड एन्ड बट्स” नामक पुस्तकको सहलेखन गरेका छन्।”हामीले फेब्रुअरी र ज्यानुअरीमा नयाँ खाताहरू र पोस्टहरू देख्यौँ,” टाफ्टले भनिन्।ती दुई महिनामा डेलीमेल पत्रिकाले यूट्यूबमा ती पूर्वदम्पतीको दुईवटा अडिओ रेकर्डिङ सार्वजनिक गरेको थियो। “त्यसपछि त्यो ट्विटरमा गयो र त्यहाँ नयाँ खाताहरूले…दुई दिनजतिपछि पोस्ट गर्न थाले,” उनले भनिन्।
समस्या छद्म खातापछाडि को छ भन्ने खोजतलास गर्नु रह्यो।छद्म खाताको प्रवृत्ति राजनीतिदेखि सार्वजनिक जीवनका अन्य पाटोमा फैलिरहेको क्याब्राका मेन्डल्सनले भने।

दुष्प्रचार
“जब हामी दुष्प्रचार र छद्म खाताबारे कुरा गर्छौँ, मानिसहरूले धेरैजसो ठूला भूराजनीतिक अभियान, चुनावहरू, राजनीतिबारे सोच्छन्,” उनले भने।
“तर वास्तवमा हामीले देखिरहेको के हो भने विश्वव्यापी र सार्वजनिक प्रतिष्ठा भएका जोसुकै अनलाइनमा ब्र्यान्ड हुन्, चाहे ती कुनै चर्चित व्यक्ति हुन् वा उपभोक्ता ब्र्यान्ड… नक्कली प्रोफाइलको सङ्ख्यामा वृद्धि देखियो, तर ती छद्म खाता कसले बनाएका थिए भन्ने चाहिँ थाहा पाउन निकै कठिन भयो।”
तर ११ प्रतिशत नक्कली भन्नुको अर्थ ८९ प्रतिशत सक्कली हुन् भन्ने हो। यस घटनामा खास के भइरहेको छ? पहिलो स्वाभाविक उत्तर भनेको इजलासबाट आएको भिडिओ फीड हो।
अनि त्यो केवल अदालतको कक्ष मात्र होइन। हामीले मुख्य सहभागीहरूको प्रतिक्रिया झल्किने तस्बिर पनि देखेका छौँ।

तस्बिर स्रोत,EPA
त्यही कोठामा भएका अरू मानिसले पनि देख्न नसक्ने भावभङ्गी पनि हामीले देख्यौँ।
मुख्य घटनासँग सम्बन्ध नभएका केही अभूतपूर्व क्षणहरू पनि हामीले देख्यौँ।
अलेजान्ड्रो रोमेरोको बयान
अलेजान्ड्रो रोमेरोले कार कुदाउँदै जूमबाट बयान दिए। भेपिङ गर्दै र गाडी कुदाउँदै बयान दिनु अमेरिकी न्यायप्रणालीका लागि नौलो घटना थियो।बयानको अन्त्यमा न्यायाधीश पेनी आज्कार्टेको अनुहारमा देखिएको प्रतिक्रिया नै त्यसको पर्याप्त प्रमाण थियो। त्यो दर्शनीय थियो।त्यो बिलखबन्द पार्ने खालको काम पनि हो। बन्द ढोकाभित्र भएको घटनाबारे दुई व्यक्ति पूरै विपरीत दृष्टिकोणसाथ तर्कवितर्क गरिरहेका थिए। अर्थात् लाखौँ मानिसले त्यो प्रमाण हेरेर आफ्नै धारणा बनाउन सक्थे। हामी सबै जना गुप्तचर बन्न सक्छौँ।
तर त्यहाँ अर्को अझ महत्त्वपूर्ण कुरा भइरहेको थियो।घरेलु हिंसा संसारभरि मानिसको जीवनलाई छुने विषय हो। यो मुद्दा साङ्केतिक बन्यो।इस्लामाबादमा रहेका हैदर अलीका लागि यो व्यक्तिगत मुद्दा बनिदियो पुग्यो। सत्ताइस वर्षीय ती डिजाइनरको उक्त सुनुवाइबारेको टिप्पणीले यूट्यूबमा दशौँ लाखलाई आकर्षित गर्यो।

तस्बिर स्रोत,GETTY IMAGES
उनले आफूले पनि हिंसा खेपेको र डेपले भोगे जस्तै अवस्था आफूले पनि भोगेको दाबी गरेका छन्।
“मैले ट्विटर चलाइरहँदा त्यसबारेको लाइभ फीड देखेँ, त्यो केही मिनेट हेरेँ र जोनी डेपले अदालतमा दिएको बयान सुन्दा मैले धेरै कुरा आफूसँग तुलना गर्न सकेँ,” उनले बीबीसीसँग भने। “किनभने जोनी डेपको घटना र मेरोसँग निकै धेरै मिल्ने कुराहरू थिए। मैले सुनुवाइको भिडियो आफ्नो यूट्यूब च्यानलमा राख्नुको कारण दुर्व्यवहार खेपेका मानिसहरूको एउटा समुदाय बनाउने उद्देश्य हो,” उनले भने।”मेरो उद्देश्य मौन बसेका मानिसहरूलाई बाहिर ल्याउनु थियो।”आफ्नो टिकटकमा दशौँ लाख दर्शक बटुलिरहेकी बेड्वर्ड समेत व्यक्तिगत रूपमा त्यससँग जोडिइन्।”म केवल उनी (डेप)सँग जोडिएँ… मानिसहरूले निश्चित मानिसहरूलाई निश्चित ढङ्गले हेर्छन् र उनीहरूले स्वत: उनीहरूलाई दोषी वा राम्रो नभएको सोच्छन्,” उनले भनिन्।”अमेरिकामा अश्वेत महिलाका रूपमा मैले…केही मानिसहरूलाई तपाईँ घटना थाहा नपाईकनै वा प्रमाणित नभईकन दोषी ठान्नुहुन्छ। त्यसले मलाई यसभित्र तान्यो।”
मीटू
खासगरी यस घटनालाई पछ्याउने महिलाहरूले अर्को कुरा समेत अभिव्यक्त गरिरहेका छन्।
एम्बर हर्ड त्यस मामिलाका लागि सद्भावना दूतजस्ती थिइन्। मीटू अभियान चलिरहेका बेला उनी अमेरिकन सिभिल लिबर्टीज यूनियनका लागि प्रवक्ता बनिन्।
उक्त परोपकारी संस्थाले घरेलु दुर्व्यवहारका पीडितहरूको प्रतिनिधित्व गर्ने लगायतका काम गर्छ।
बेड्वर्डका लागि त्यो निकै पीडादायक विषय बन्यो।
“वर्षौँ महिलाहरूको लडाइँको एउटा अभियानको प्रतिनिधि बनेकी एक व्यक्ति यस्तो अवस्थामा छिन्। अनि मलाई लाग्छ त्यसको अग्रमोर्चामा रहेर पनि सत्य नबोल्नु भनेको संस्थाको लागि मात्र नभई सबै महिलाका लागि हानिकारक हुन्छ,” उनले भनिन्।

तस्बिर स्रोत,REUTERS
त्यसैले चर्चित हस्तिबारे चलेका गाइँगुइँ वा प्रशंसकको भक्तिका रूपमा यसलाई अन्त्य गर्नु यसलाई अनेकौँ तरिकाले हेरिरहेका मानिसहरूलाई गहिरो ढङ्गले नबुझ्नु हो।
तर यसमा आएको प्रतिक्रियाको मात्राले र यसको भाकाले कतिपय मानिसलाई चिन्तित बनाएको छ।
घरेलु हिंसा
न्याश्नल नेटवर्क टु इन्ड डमेस्टिक भोइलन्सका प्रमुख डेबोर भगिन्स एम्बर हर्डसँग भएको व्यवहार व्यापक रूपमा हेरिने र त्यसले राम्रो नगर्ने बताउँछिन्।उनी भन्छिन्, “पीडितहरूले यो हेरिरहेका छन् र उनीहरूले म अगाडि आएँ भने ममाथि कस्तो व्यवहार गरिएला भन्ने सोचिरहेका छन्।”सार्वजनिक प्रतिष्ठा पुर्नप्राप्ति गर्न भएको यस सार्वजनिक सुनुवाइको नतिजाहरू हुने छ।तर त्यसको अर्को निष्कर्ष समेत छ।

तस्बिर स्रोत,EPA
यो त्यस्तो समाचार हो जसमा सबैमाझ स्रोतहरूमा समान पहुँच छ।
घरमा बसेर देखिने र अदालतमा बसेर पत्रकारले देख्ने कुरा ठ्याक्कै एउटै छ। त्यस्तो पहुँचले दशौँ लाखलाई छलफलमा सहभागी हुन उत्प्रेरित गर्यो।
परम्परागत पत्रकारिता
यो समाचारले परम्परागत पत्रकारिताका स्वतन्त्र सीमा, भाषा र शैलीगत संवादहरूलाई भङ्ग गरिदिएको छ।यान्त्रिक काम भएका र छद्म खाताहरू बनेका हुन सक्छन्। तर वास्तविक मानिसहरूको बाहुल्य छ। उनीहरू न्याय, सत्य र सम्बन्धका द्वन्द्वारबारे भएका चर्चा र संवादमा संलग्न हुन चाहन्छन्।यो शिष्ट नहुन पनि सक्छ तर यो कैयौँ मानिसको जीवनलाई छुने समाचार हो जसले प्राय: समाचारलाई परको, सुस्त र आफूलाई नछुने असम्बन्धित विषय ठान्छन्।यो लेख बेडवर्ड वा अलीलाई पछ्याउने निकै कमले पढ्न सक्छन्। अनि त्यही तथ्याङ्क दोहोर्याउँछन्: टिकटक अर्बौँ भ्यू।
(बीबीसी)
क्याटेगोरी : समाचार, मनोरञ्जन
तपाईको कमेन्ट लेख्नुहोस्