Techie IT
शनिबार, माघ ३,२०७७

कोरोना भाइरस नेपालः तीन सङ्क्रमित नेताको डायरी- आफूलाई कोभिड भएपछि रणनीति परिवर्तन गर्नुपर्नेमा जोड


काठमाडौं,२४ साउन

प्रदेश नम्बर २ मा सर्वसाधारणसहित स्वास्थ्यकर्मीदेखि नेताहरूमा सङ्क्रमण पुष्टि भएका छन्।

नेताहरू आफैँ सङ्क्रमित भएपछि अहिले धेरै सङ्क्रमित भएको ‘हटस्पट’का रूपमा देखा परेको क्षेत्रमा कोरोनाभाइरस नियन्त्रणको तरिकामा के परिवर्तन गर्नुपर्ने उनीहरू देख्छन्?

आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश २ का प्रवक्ता ज्ञानेन्द्रकुमार यादव, पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादव तथा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीसँगको कुराकानी प्रस्तुत छ।

ज्ञानेन्द्र कुमार यादव

आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश २ का प्रवक्ता

तपाईँमा कोरोना भाइरसको सङ्क्रमण कसरी भयो?

म जिम्मेवारी बोकेको सामाजिक मान्छे, हिँडिराख्नुपर्ने हुन्छ। सवारी चालक, पीए लगायतसँग हरेक दिन भेट हुने नै भयो।

ज्ञानेन्द्र कुमार यादव

काठमाण्डू जाँदा होटेलमा पनि बसेको थिएँ। सावधानी एकदमै अपनाएको हो तर कहाँबाट कसरी सङ्क्रमण मलाई सर्‍यो यकिन गर्न सकेको छैन।

औषधि उपचार के भइरहेको छ?

कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि म घरमै आइसोलेशनमा बसेको छु।

कोरोनाभाइरसको कुनै लक्षण देखिएको छैन। कुनै असजिलो महसुस पनि अहिलेसम्म भएको छैन। त्यो कारणले सहज नै छ अहिलेसम्म।

तर सङ्क्रमित भएपछि आफनो दिनचर्याको फरक तालिका बनाएको छु। व्यायाम गर्छु, व्यक्तिगत सरसफाइमा धेरै ध्यान दिएको छु। आफ्नो काम आफैँ गर्छु। दिन पनि राम्ररी कटिरहेको छ।

फोन मार्फत् मन्त्रालयको गनुपर्ने काम सबै गरिरहेको छु।

तातोपानी, बेसार अदुवा, तुलसी, मरिच, विभिन्न औषधीय पात मिसाएर काढा पकाएर दिनहुँ खाने गरेको छु। तर औषधि चाहिँ सेवन गर्नुपरेको छैन।

डराएर नभएर भाइरसको चेनलाई तोड्न स्वस्थ र सुरक्षित हुन जरुरी छ।

प्रदेश २ त अहिले हटस्पट जस्तो देखियो, तपाईँ आफैँ सङ्क्रमित हुनुभयो। कोरोनाभाइरस नियन्त्रणका उपायमा केही थप गर्नुपर्ने देख्नुहुन्छ?

सबैभन्दा पहिले प्रदेश नम्बर २ का सबै नागरिक जिम्मेवार भएर कोरोनाभाइरसको सङ्क्रमणसँग लड्ने दृढ इच्छाशक्ति राखेर आ-आफ्नै ठाउँमा सचेत बस्नुपर्ने अवस्था छ।

भूगोलको हिसाबले पनि प्रदेश २ का जिल्लाहरू अधिकांश सिमा नाकासँग जोडिएका छन्। जनघनत्व बढी छ। वैदेशिक रोजगारमा सबैभन्दा बढी प्रदेश २ बाट मानिसहरू गएको तथ्याङ्क छ।

त्यस हिसाबले प्रदेश २ बढ्ता जोखिममा छ। अहिले नै सबैभन्दा बढी प्रभावित छ। त्यसैले हामी सबै जना सुरक्षित रहन आ-आफनो ठाउँबाट प्रयासरत हुनुपर्ने अवस्था छ।

अबको अवस्थामा प्रदेश नम्बर २ मा परीक्षणको दायरा बढाएर एक घर एक परीक्षणलाई तीव्रता दिनुपर्ने देखेको छु।

भेटिएका सङ्क्रमितलाई क्वारन्टीन, आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गर्नुपर्ने हुन्छ।

घरमै आइसोलेशनमा बसेका सङ्क्रमितहरू भने अरूलाई नोक्सानी नपुग्ने गरी अनुशासित भएर स्वास्थ्यकर्मीले दिएको सल्लाह सुझाव अनुसार बस्ने वातावरण निर्माण हुन आवश्यक छ। यसरी गर्न सक्यो भने सङ्क्रमण घट्न सक्छ।

यसका साथै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको नीति परिवर्तन गरेर फरक किसिमले जान आवश्यक देखियो।

अब आइसोलेशन, स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी लगायतका जनशक्तिमा ध्यान परीक्षणको दायरा विस्तार, अनि औषधिको उपलब्धतालाई बढाउन सकियो भने सङ्क्रमण दर बढ्ने क्रमलाई रोक्न सकिन्छ।

प्रदीप यादव

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य

तपाईँलाई कोरोनाभाइरसको सङ्क्रमण कसरी भयो?

जनताको समस्या बुझ्न सहरदेखि गाउँसम्मका टोलटोलमा पुग्नुपर्ने, बाढी पहिरोमा पनि खटेको थिएँ। अब कहाँबाट कसरी सङ्क्रमणको शिकार भएँ थाहा छैन।

के औषधि उपचार भइरहेको छ?

प्रदीप यादव

जुन दिनदेखि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो तबदेखि म घरमै अलग्गिएर आइसोलेशनमा स्वास्थ्य सुरक्षा अपनाउँदै बसेको छु।

कोरोनाभाइरसको कुनै लक्षण हालसम्म देखिएको छैन। त्यसैले घरेलु उपचार विधि जस्तै बेसार हालेको तातोपानी , काढा पिउने काम गर्दैछु। औषधि भने कुनै सेवन गर्नुपरेको छैन अहिलेसम्म।

प्रदेश २ मा अहिले धेरै सङ्क्रमण बढेको छ। कोरोनाभाइरस नियन्त्रणका उपायमा केही थप गर्नुपर्ने देख्नुहुन्छ?

अहिले सरकार लाचार छ, निरीह छ। अहिले प्रदेश २ को अधिकांश जिल्ला र खासगरी पर्साको वीरगञ्ज हटस्पट भएको छ।

घर घरमा कोरोनाभाइरसका सङ्क्रमित छन्। बाध्य भएर घरघरमा बसिरहेका छन्। अस्पताल हुँदा हुँदै पनि सरकारले व्यवस्थापन गर्न सकेको छैन। त्यो सरकारको ठूलो कमजोरी हो।

खासमा सङ्घीय सरकारलाई प्रदेश २ को अवस्थाबारे सबै अवगत हुँदा हुदैपनि अगाडि नबढ्नु दुर्भाग्यको कुरा हो। नेपाल सरकारले चाँडो भन्दा चाँडो नागरिकलाई बचाउन अगाडि बढ्न आवश्यक छ।

कोरोनाभाइरसका सङ्क्रमितलाई घरमा भन्दा चिकित्सकको निगरानीमा अस्पतालसम्म पुर्‍याउन जरुरी देखिएको छ।

प्रधानमन्त्री, परराष्ट्रमन्त्री, राष्ट्रपति, स्वास्थ्यमन्त्री लगायतलाई यहाँको अवस्थाबारे अवगत गराउँदा पनि सरकार कानमा तेल हालेर बसेको छ।

सांसद भएर पनि अहिले भगवान भरोसे बाँचिरहेका छौँ हामी यहाँ। स्वास्थ्यकर्मीको समेत कमी भएको छ। केन्द्रबाट थप मद्दत गर्न जरुरी छ।

विजय सरावगी

मेयर, वीरगञ्ज महानगरपालिका

तपाईँमा कोरोना भाइरसको सङ्क्रमण कसरी भयो?

वीरगञ्जमा कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि एक घर एक परीक्षणको अभियानको क्रममा सङ्क्रमण फैलिएको अनुमान गरिएको टोल टोलमा गएको थिएँ।

विजय सरावगी

कार्यालयमा पनि स्वास्थ्य सुरक्षा अपनाउँदै दिनहुँ जसो विभिन्न निकायका व्यक्ति, र सर्वसाधारण मानिसहरूसँग भेटेकै थिएँ। कहाँबाट सर्‍यो भन्न सक्दिनँ।

कस्तो औषधी उपचार भइरहेको छ?

म काठमाण्डूस्थित घरमा आइसोलेशनमा छु। मेरो सबै परिवार सदस्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

आमा, बुवा, मेरी श्रीमती, बच्चाहरू, कर्मचारीहरूलाई कोरोनाभाइरस लागेको छ। जो जहाँ छौँ त्यहीँ व्यवस्था गरी आइसोलेशनमा बसेका छौँ। केही अँग्रेजी औषधी र केही आर्युवेदिक औषधी पनि प्रयोग गर्दै छौँ।

छिटो भन्दा छिटो यसबाट निको भएर वीरगञ्जवासीको लागि फर्किन चाहेको छु।

प्रदेश २ त अहिले हटस्पट जस्तो देखियो, तपाईँ आफै सङ्क्रमित हुनुभयो। कोरोनाभाइरस नियन्त्रणका उपायमा केही थप गर्नुपर्ने देख्नुहुन्छ?

मैले शुरूदेखि नै धेरै निकायलाई ताकेता गरेको थिएँ, वीरगञ्ज, पर्साको यो अवस्था आउँछ भनेर। तर महानगरपालिकामाथि नै राजनीति गरियो।

राजनीति बाहेक केही गरेनन् राजनीतिक दलले। त्यसैको नतिजा महानरपालिकाले जुन ढङ्गले काम गर्न सक्थ्यो त्यो गर्न सकिएन।

समयमै नियन्त्रण गर्न सकिन्थ्यो, अझ पनि गर्न सकिन्छ। लक्षण भएका र लक्षण नदेखिएका सङ्क्रमितलाई छुट्याएर घरघरमा औषधि र सचेतना पर्चा पुर्‍याउन सकियो भने केही हदसम्म नियन्त्रण गर्न सक्छौँ।

सिमा नाकामा कडाइ गर्ने भन्दा पनि पैसा कमाउने लोभमा छिट्टै खोलियो। सरकार गम्भीर भएन। जनतासँग मतलब भएन। सबै कमिशनतन्त्रको खेलमा लागे सबै।

वीरगञ्जमा न स्वास्थ्यकर्मी, न मशिन , न पीसीआर किट, न साधन श्रोत, केही छैन। अभाव छ। प्रदेश सरकारले भेन्टिलेटर लगायत विभिन्न सामग्री दिने आश्वासन दियो तर हालसम्म केही पाउन सकिएको छैन।

अहिले सबैजनाले कमाउनतिर नभै आ-आफनो कर्तव्य र जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न जरुरी छ र मेरो आग्रह पनि यही छ। जनताको ज्यान जोगाउन जरुरी छ, ज्यान रहे कमाउन पनि सकिन्छ, राजनीति गर्न पनि सकिन्छ।(वीवीसी नेपाली सेवा बाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्