Techie IT
८ असार २०७८, मंगलबार

धनुषाका अधिकांश पानी उद्योग निर्देशिकाविपरीत सञ्चालित


जनकपुरधाम ।
धनुषा जिल्लाका अधिकांश प्रशोधित पानीका फ्याक्ट्री निर्देशिकाविपरीत सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अगुवाइमा आइतबार गरिएको अनुगमनमा जनकपुरधाममा सञ्चालनमा रहेका आधा दर्जनभन्दा बढी प्रशोधित पानी उद्योग निर्देशिकाविपरीत सञ्चालनमा रहेको हो ।

अनुगमनका क्रममा जनकपुरधाममा सञ्चालनमा रहेको लक्ष्मी ड्रिङकिङ वाटर उद्योग, गुरु ड्रिङकिङ वाटर उद्योग, डेली फ्रेस वाटर उद्योग, एभरेष्ट मिलरल वाटर उद्योगमा प्रशोधित पानीको लेवल विवरण अपूर्ण रहेको, सरसफाइमा कर्मी, भण्डारण कक्षको उचित व्यवस्थापन नभएको पाइएको छ ।

यसैगरी साकम्बरी निर्मल जल उद्योगमा लेवल विवरण उल्लेख नभएको तथा आंशिकरूपमा निदेशिका पालन भएको पाइएको खाद्यय अनुसन्धान अधिकृत रत्न कान्त झाले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विजय खनालले अनुगमनका क्रममा देखिएको समस्यालाई समाधान गर्न कारबाहीको प्रक्रियामा जाने तथा नियमितरूपमा बजार अनुगमन गर्ने बताए । उनले पानी निर्देशिकाअनुसार बालाजी ड्रिङकिङ वाटर उद्योग मात्रै सञ्चालनमा रहेको बताए ।

उक्त अनुगमन टोलीमा कार्यालयका खाद्य निरीक्षक प्रविण तिवारी, खाद्य अनुसन्धान अधिकृत रत्नकान्त झा, जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठ, उपभोक्ता हकहित संरक्षण मञ्च जनकपुर नगर समितिका सदस्यलगायतको सहभागिता रहेको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्