Techie IT
८ असार २०७८, मंगलबार

काठमाडौं कोरोनाको उच्च जोखिममा


काठमाडौं ।
काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा परेको छ । पछिल्लो करिब एक महिनामा काठमाडौं जिल्लामा मात्रै दैनिक पाँच सयमाथि कोरोना संक्रमित नयाँ बिरामी फेला पर्ने क्रम जारी छ । आइतबार पनि काठमाडौं उपत्यकामा आठ सय नौ जना संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौं जिल्लामा मात्रै छ सय ३३ जना थपिएका छन् । ललितपुरमा एक सय चार र भक्तपुरमा ७२ जना थपिएका छन् । काठमाडौंमा भारतबाट सिधै आउनेको क्रम बढेसँगै कोरोना संक्रमित पनि बढ्दै गएका हुन् ।

बढी जनघनत्व भएको काठमाडौंमा यसै पनि महामारीको त्रास हुन्छ । तर, कोरोना व्यक्तिको सम्पर्कबाट सर्ने भएको कारण बढी जनघनत्व भएको ठाउँमा यसको जोखिम बढेको हो । देशभर आइतबार एक हजार पाँच सय ७३ जना संक्रमित फेला परेकामा काठमाडौ उपत्यकामा आधाभन्दा बढी संक्रमित फेला पर्नुले काठमाडौंमा अझै कोरोना महामारीकै रुपमै फैलिने सम्भावना बढेर गएको छ ।

चाडबाडको सुरुवातसँगै काठमाडौंमा मानिसहरुको भीडभाड बढेको छ । सार्वजनिक यातायातका साधनहरुले पनि स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेका छैनन् । यसले पनि कोरोना बढाउने सम्भावना बढी छ ।

१० हजार एक सय २३ जनाको नमूना परीक्षण गर्दा पाँच सय २४ जना महिला र एक हजार ४९ जना पुरुषमा कोरोना पुष्टि भएको हो । योसँग नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार तीन सय ९४ पुगेको छ । तीमध्ये चार सय ७७ जनाको मृत्यु भएको छ । तर, ५३ हजार आठ सय ९८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र आठ सय ८५ जना संक्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ । तीमध्ये दुई सय २५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा छन् । १० हजार छ सय ९८ जना होम आइसोलेसनमा छन् ।

यसैबीच, विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको विदेशमा ज्यान गएको यो साता पुष्टि भएको राससले जनाएको छ । राससका अनुसार गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको कोभिड– उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जाानकारी दिए ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार आठ सय ४८ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । तीमध्ये ३५ हजार ७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, युएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

यस्तै नेपालमा मात्र ७१ हजार आठ सय २१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये ५३ हजार १३ कोरोनामुक्त भएका छन् । यो कुल सङ्क्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा चार सय ६७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये सात सय ३२ को निधन भएको छ । यस्तै विश्वभर एक लाख १० हजार ६० नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।

हावाबाट कोरोना सर्दैन : गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाले भन्नुभयो, “दुई मिटरसम्मको दूरीमा एक अर्काका कोरोना भाइरस गर्दैन, कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ ।”

स्वास्थ्य समितिले कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन गर्न आग्रह गरेको छ । कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।

७८ हजारको उद्धार : कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकामा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली सङ्घ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार तीन सय ४३ नेपालीको उद्धार गरिएको छ ।

चीनबाट कोरोना भाइरसको सङ्क्रमण भए लगत्तै गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको सङ्घले जनाएको छ ।

सङ्घअन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक सङ्घसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत २४ सातादेखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्याङ्क सङ्कलन गर्दै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्