Techie IT
४ माघ २०७८, मंगलबार

विश्लेषकको विश्लेषण खोइ ?


सायद राजनीतिज्ञहरु राजनीति गर्नमा र कर्मचारीतन्त्रको उच्चपदाधिकारीहरु कार्यालय काममा व्यस्त भएर विश्वको १ सय ९३ वटा मुलुकहरु गत २५/३० वर्षमा के कसरी चलिरहेको थियो र आर्थिक, सामाजिक र राजनीतिक मामिलामा के कति कसरी कस्तो उतारचढाव भइरहेको थियो र ती मुलुकहरुको तुलनामा नेपाल कहाँ उभेको छ भनी विश्लेषण गर्न समय नै नपाएको हुनसक्छ ।

तर, अहिलेको इन्टरनेटको युगमा विश्वको हरेक मुलुकको तथ्यांक र सूचना सजिलै प्राप्त गर्न सकिने हुँदा हाम्रा विश्लेषक र बुद्धिजीवीहरुले अन्य मुलुकहरुसँग तुलना गरी हरेक इस्यु (समस्या)मा राजनीतिज्ञ र कर्मचारीतन्त्रलाई झसँग पार्न सक्नुपर्ने हो । यस्तो तुलनात्मक विश्लेषणहरु सार्वजनिक गरी जनतालाई पनि शिक्षित गराउन सकेमा समग्र नेपाली समाजको नै संस्कार वा कल्चर तथा मानसिकतामा विस्तारै सकारात्मक परिवर्तन ल्याउनमा मद्दत पुग्न जान्छ ।

राजनीतिको कुरा गर्दा सन् २०१९ को डेमोक्रेसी इन्डेक्स भन्ने सूचकांकअनुसार नेपालभन्दा नराम्रो मुलुकहरुमा पाकिस्तान, म्यान्मार, क्याम्बोडिया, रुस, भियतनाम, चीन, लाओस, यूएई आदि पर्दछन् । पहिलो प्रश्न त ४६ साल र २०६२/०६३ सालको ठूला–ठूला दुईवटा राजनीतिक परिवर्तनपछि पनि यो डेमोक्रेसी इन्डेक्समा नेपाल ९२औं स्थानमा मात्र कसरी के कारणले पर्न गएको हो सोको विश्लेषण जरुरी छ ।

दोस्रो कुरा, यो इन्डेक्समा नेपालभन्दा नराम्रो कोटीमा परेका मुलुकहरुले नेपाललाई पछि पारेर आर्थिक रुपमा बढी सम्पन्न हुन सफल कसरी भएको रहेछ भन्ने प्रश्न उठ्छ नै । मुलुक समृद्ध बन्न राजनीतिक परिवर्तन नै रामवाण हो वा होइन भन्नेबारे विश्लेषण खोइ ?

सन् २०१९ कै समृद्धिसम्बन्धी तथ्यांकअनुसार जनधनको सुरक्षा (सेफ्टी एण्ड सिक्योरिटी)को मामिलामा भारत, चीन, श्रीलंका, फिलिपिन्स, भियतनाम, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, क्याम्बोडिया, बंगलादेश र पाकिस्तानभन्दा नेपाल राम्रो देखाएको छ ।

वर्ल्ड पपुलेसन रेभ्यू इन्डेक्स २०१९ अनुसार पनि अपराधका घटनाहरुको सरदर संख्यामा सार्क राष्ट्रहरुलगायत अधिकांश एसियाली मुलुकहरुभन्दा सबैभन्दा न्यून अपराधको घटना (क्राइमरेट) नेपालमा रहेछ ।

त्यसैगरी विश्वको तीन सयभन्दा बढी सहरहरुको सर्वेक्षण गर्दा सबैभन्दा सुरक्षित सहरहरुको सूचीमा काठमाडौंले सिड्नी, पुने, लाहोर, कोलोम्बो, बर्लिन, मस्को, सान्घाई, बैंकक्, मुम्बई, बेइजिङ, न्युयोर्क, मेलबर्न, लण्डन, वासिङटन, दिल्ली, ढाका, क्वालालाम्पुर आदि सहरलाई जितेर ११०औँ स्थानमा परेको छ । तर नेपाल प्रहरीलगायत सुरक्षा निकायहरुलाई सधैँ कडा आलोचना किन गरिरहेको होला ? सत्यतथ्य कुराहरु जनसमुदायको माझमा ल्याउन विश्लेषकहरु नै चुकेको हो कि ?

व्यक्तिगत स्वतन्त्रतामा पनि सबै सार्क राष्ट्रलगायत भियतनाम, क्याम्बोडिया, लाओस, सिंगापुर, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स र थाइल्याण्डलाई नेपालले जितेको छ । तर, पाकिस्तानबाहेक यी सबै मुलुकमा मानवीय विकासको गुणस्तर (क्वालिटी अफ ह्युमान डेभेलप्मेन्ट) नेपालभन्दा राम्रो रहेछ । यसरी नै अन्य सामाजिक सूचकांकहरुको तुलनात्मक विश्लेषण गरेर नेपाल कहाँ उभिएको छ भनी जनतालाई शिक्षित गराएको खोइ ?

वर्ल्ड इकोनोमिक फोरमले प्रकाशित गरेको पर्यटन क्षेत्रमा प्रतिस्पर्धी क्षमता दर्शाउने ट्राभल एण्ड टुरिजम कम्पिटिटिभ्नेस इन्डेक्स २०१९ अनुसार नेपाल १०२औँ स्थानमा पर्न गएको छ । उच्च प्राथमिकतामा परेको पर्यटन क्षेत्रमा नेपालको क्षमता न्यून देखाएको कारक तत्वहरुमध्ये के–केमा तत्काल सुधार गर्न सकिन्छ । कुन–कुन अल्पकालीन र दीर्घकालीन योजनाहरु ल्याएमा यो क्षमता वृद्धि गर्न सकिन्छ भन्नेबारे विश्लेषण खोइ ?

नेपालभन्दा बढी भ्रष्टाचार हुने मुलुकहरु जम्मा ६५ वटा रहेछन्, जसमध्ये बंगलादेश, माल्दिभ्स, पाकिस्तान, लाओस, क्याम्बोडिया, फिलिपिन्स, म्यानमार, इरान, केनिया, मेक्सिको, रुस आदि जस्ता मुलुकहरुले अर्थतन्त्रमा नेपालभन्दा राम्रो प्रगति कसरी गर्नसकेको रहेछ ?

अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनअनुसार नेपालभन्दा अलिकति मात्र कम भ्रष्टाचार भएका भारत, चीन, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया, फिलिपिन्स, भियतनामले अर्थतन्त्रमा नेपालको तुलनामा निकै बढी प्रगति हासिल गरेका छन् ।

भ्रष्टाचारले विकास निर्माण कार्यहरुमा कति हदसम्म के कस्तो असर पर्ने हो भन्नेबारे विश्लेषण खोइ ? नेपालको आन्तरिक मामिला भन्दै अन्य एक सय ९३ वटा मुलुकको गतिविधि, सूचना तथा तथ्यांकलाई बेवास्ता गरी ‘कुवाको भ्यागुतो’ सिन्ड्रोममा रमाएर राष्ट्रले तरक्की गर्न सक्तैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्