Techie IT
१४ असार २०७९, मंगलबार

मापदण्डविपरीत सञ्चालनमा रहेको बर पिपल पानी उद्योग सिल


बाँके ।
बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर ११ मा रहेको मुक्तिनाथ ड्रिङ्किङ वाटर उद्योगद्वारा सञ्चालित बर पिपल पानी उद्योग सिल गरिएको छ । जिल्ला प्रशासन कार्यलय, खाद्य तथा गुण नियन्त्रण कार्यलयलगायतको संयुक्त अनुगमन टोलीले न्यूनतम पूर्वाधारबिना उद्योग सञ्चालनमा ल्याएको र यसअघिको पानी परीक्षणका क्रममा खानयोग्य नरहेकाले उद्योग सिल गरिएको कोहलपुर नगरपालिकाका अधिकृत वीरबहादुर विकले जानकारी दिए ।

यसअघि सो उद्योगलाई पूर्वाधार उपयुक्त नरहेको भन्दै सुधारका लागि निर्देशन दिइएको भए पनि सुधार नगरी उद्योग सञ्चालन गरेको पाइएकाले उद्योग सिल गरिएको विकले बताए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यलय, गुणस्तर तथा नाप तौल बिभागको टोली, कोहलपुर नगरपालिका र प्रहरीको सहभागिता रहेको थियो ।

पानी उद्योग सञ्चालनका लागि आफ्नै ल्याब सञ्चालनमा ल्याउनुपर्ने, पानीको जार र बोतलमा उत्पादन मिति र व्याच नम्बर लगाउनु पर्ने, पानीका जार उचित तवरले सरसफाइ गर्नु पर्ने प्रावधान रहे पनि उक्त उद्योगले त्यस्तो नगरेको पाइएपछि उद्योग सिल गरिएको हो ।

त्यसैगरी कोहलपुरकै वडा नम्बर १० मा रहेको झरना जल उद्योगलाई सुरक्षा मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याइएको भन्दै सचेत बनाइएको छ । सो उद्योगलाई एक हप्ताभित्र कोहलपुर नगरपालिकामा दर्ता हुन, पानीका जार शुद्ध तवरबाट सफाइ गर्न, बजारमा पठाउँदा अनिवार्य सिल र लेवल लगाउन निर्देशन दिइएको विकले जानकारी दिए ।

अनुगमनका क्रममा कोहलपुरमा सञ्चालित पानी उद्योगहरूले मापदण्ड पूरा नगरेको पाइएको विकको भनाइ रहेको थियो । केही समय पहिले कोहलपुरको आरुष पानी उद्योग र मध्यपश्चिम पानी उद्योग पनि कारबाहीमा परेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्