खेलाडी र प्रशिक्षक विवादमा ‘खेलाँची’ भइरहेको छ?

काठमाडौँ । रोहित चन्द, अञ्जन विष्ट, अनन्त तामाङ, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल राई जस्ता खेलाडीहरू वर्तमान नेपाली राष्ट्रिय फुटबल टोलीका अभिन्न अङ्गका रूपमा हेरिन्छ।
तर नेपाली फुटबलमा हालै भएको एउटा घटनाले अहिले त्यसमाथि प्रश्न चिन्ह खडा भएको छ।
‘होस्टेलमा बस्ने वा होटलमा?’ भन्ने एउटा आधारभूत सुविधा मागको विषयमा विवाद बढ्दै जाँदा नेपाली फुटबल इतिहासमा कहिल्यै नभएको घटना भएको छ।
जसमा वर्षौँको मेहनत र लगानीपछि तयार भएका एउटा खेलाडी पुस्ताको करिअर दाउमा लागेको जानकारहरू बताइरहेका छन्।
एक जना प्रशिक्षकका कारण खेलाडी र समग्रमा नेपाली फुटबल क्षेत्र नै प्रभावित हुने देखिएको भन्दै आलोचना भइरहेको छ।
दुई हप्ताको घटनाक्रमले नेपाली फुटबलका अधिकारीहरू खेलाडीप्रति कत्ति पनि गम्भीर छैनन् कि भन्ने सन्देश गएको छ।
अझ भनौँ प्राथमिकताको पहिलो सूचीमा पर्नुपर्ने खेलाडीहरूलाई उनीहरू ठट्टाको विषय बनाइरहेका छन्।
अनुशासन तर कसको ?
एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरूले सात दोबाटोस्थित एन्फा होस्टेलमा सुविधा राम्रो नभएकोले होटलमा बस्दा प्रशिक्षणमा राम्रो हुने कुरा उठाएको खेलाडीहरूले बीबीसीलाई बताए।
उनीहरूका अनुसार खेलाडीहरूको नेतृत्व गर्दै रोहित चन्दले यो कुरा अगाडि सारेका थिए। प्रशिक्षक सामु माग राख्न सक्ने आँट गरेको सजाय स्वरूप उनी तत्काल बन्द प्रशिक्षणबाट फ्याँकिएको उनीहरूको भनाइ छ।
अरू खेलाडीहरूलाई यो कुरा सह्य नभएपछि आफूहरूले प्रशिक्षकलाई प्रश्न गरेको र त्यसैको फलस्वरूप प्रशिक्षकले उनीहरूलाई पनि बन्द प्रशिक्षण छोड्न बारम्बार दबाब दिएको बताइएको छ।
खेलाडीहरूका अनुसार अन्य विकल्प नभेटेपछि उनीहरूले पनि बन्द प्रशिक्षण त्यागे।
राष्ट्रिय टोलीका सिनियर खेलाडी सुजल श्रेष्ठलाई ‘तपाईँले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण किन छोड्नु भयो ?भनेर सोध्दा उनले प्रश्न सच्याउन आग्रह गर्दै भने, “छोडेको नभन्नुस् न प्लिज, हामीलाई निस्किन बाध्य पारिएको हो।”
खेलाडीहरूमाथि भगौटाको आरोप लाग्यो। सामाजिक सञ्जालमा नाना थरी गाली व्यक्त हुन थाल्यो।
क्याम्प छोडेर अनुशासन तोडेको आरोप खेलाडी माथि छ।
अर्कोतिर खेलाडी छान्ने अधिकार पूर्णत: प्रशिक्षकसँग हुने भएकोले त्यो स्वतन्त्रता प्रयोग गर्ने अधिकार अल्मुटाइरीसँग रहेको तर्क गर्नेहरू पनि छन्।
विश्वमा फुटबल प्रशिक्षक खेलाडी टकरावका थुप्रै घटना छन्।
तर प्रशिक्षकले गर्ने निर्णय व्यक्तिगत नभई त्यो टोलीको राम्रो नतिजाको सवालमा मात्र स्वीकार्य हुने गर्छ।
राष्ट्रिय टोलीका पूर्व कप्तान राजुकाजी शाक्य भन्छन्,” प्रशिक्षक र खेलाडीलाई ‘हायर एण्ड फायर’ नै गरिन्छ। त्यो भनेको नतिजाको सवालमा मात्र लागू हुनुपर्छ। न कि प्रशिक्षकको मुडमा। अनि यो नियम दुवै पक्षमा लागू हुन्छ नि।”
‘बन्दी जस्तै व्यवहार’
खेलाडीहरूले क्याम्प छोडेपछि आफूहरूमाथि भएको व्यवहार विभिन्न निकायमा पोख्दै आएका छ्न्। आफूहरू बन्द प्रशिक्षणमा असाध्यै गुम्सिएर बस्नुपरेको उनिहरू बताउँछन्।
राष्ट्रिय खेलाडी भनेको इज्जत पनि हो, प्रतिष्ठा पनि हो। त्यो इज्जत उनीहरूले प्रशिक्षकबाट पाउनुपर्छ र एन्फाबाट पनि।
तर अल्मुटाइरीको क्याम्पमा उनीहरूले त्यो इज्जत सम्मान पाएनन्। उनीहरूलाई भेडाबाख्रा जसरी व्यवहार गरियो।
खेलाडीहरूलाई हरेक जसो कुरामा प्रतिबन्ध लगाइयो। एक हिसाबले खेलाडीहरू बन्दी जस्तै भए।
बिहान उठेदेखि नसुतेसम्म उनीहरूले के गर्न पाउने के नपाउने स साना विषयमा अल्मुटाइरीको नियन्त्रण हुन थालेको उनीहरू बताउँछन्। उनको स्वेच्छाचारिता झेल्न खेलाडीहरू बाध्य थिए।
मिडियासँग बोल्न खेलाडीहरूलाई प्रतिबन्ध लगाइएको थियो।
अर्थात् मिडियाले खेलाडीहरूको सफलता, असफलता वा अन्य विषयमा केही जान्न पाइन्नथ्यो। मिडियाले जे सुन्नु छ जे बुझ्नु छ त्यो प्रशिक्षकबाट मात्र सुन्नु पर्थ्यो।

अनन्त तामाङ भन्छन्- “हामीले बोल्नै नपाउने। संसारको कुनै देशमा त्यस्तो नियम बनेको छैन होला।”
टोलीको सफलताको श्रेय खेलाडीहरूलाई जानुपर्छ। तर मालदिभ्समा साफ उपविजेता बनेर फर्केका खेलाडीहरूले त्यो अनुभव कसैसँग साट्नै नपाएको र प्रशंसा जति प्रशिक्षक अल्मुटाइरीले नै लिएको उनीहरूको भनाइ छ।
प्रशिक्षक अल्मुटाइरीले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई लेखेको एक पत्रमा खेलाडीलाई आफुले नहटाएको जनाएका छन्।
उनले खेलाडीलाई माफि दिएको पनि पत्रमा उल्लेख गरेको छ।
तर छानविन समिति गठन भइसकेकोले उनले मिडियासंग बोल्न नचाहेको बताइएको छ।
उनीसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन।
एन्फा के गरिरहेको छ?
राष्ट्रिय टोलीका १० मुख्य खेलाडीहरूले क्याम्पबाट बाहिरिनु सामान्य घटना थिएन। यो एक जनाको असन्तुष्टि मात्र थिएन।
खेलाडीहरूले आफ्नो करिअर नै जोखिममा राखेर चालेको गम्भीर कदम थियो।
एन्फा पदाधिकारीहरूले यो विषयमा तत्काल गम्भीरता देखाई समस्या समाधान गर्नुपर्ने एन्फा पदाधिकारीको दायित्व हुन जान्छ।
तर एन्फा नेतृत्वको भूमिका विगतमा झैँ अत्यन्त निष्क्रिय र उदेकलाग्दो देखिएको खेलाडीहरू बताउँछन्।
हिजोको दिनमा विवादको विषय एन्फा पदाधिकारी र पत्रकारको विषयमा थियो। तर अहिलेको विवाद खेलाडी जस्तो गम्भीर विषयमा थियो।
खेलाडीहरू खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको ढोका चहारी रहँदा एन्फा पदाधिकारीहरू यसलाई सामान्य विषय जसरी हेरिरहेको जस्तो देखियो।

तस्बिर स्रोत,RSS
पदाधिकारीहरूले खेलाडीहरूलाई ढोकामा कुराएर राखे, ९ दिन बितेपछि बल्ल छानबिन कमिटी बनाइयो, त्यो पनि १५ मिनेट टिक्न सकेन। अर्को बनेको कमिटीबाट पनि सदस्यको राजीनामा आयो।
मैदानमा देशका लागि वर्षौँ खेलेका खेलाडीहरू के यसरी न्यायको लागि प्रशासनको ढोका ढोका चहारी रहने र अरू मूक दर्शक भएर बस्नु सामान्य विषय मान्न सकिन्न।
एन्फाको यो उदासीनतालाई खेलाडीप्रतिको अनादर भन्दै आलोचना भइरहेको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ भन्छन्, “वर्षौँको मेहनत र लगानीपछि बल्ल एक जना खेलाडी तयार हुन्छ। त्यसको संरक्षण र इज्जत दिन एन्फा गम्भीर नभएकै हो।”
थुप्रै पूर्व खेलाडीहरूले राष्ट्रिय खेलाडीहरूको पक्षमा आवाज उठाएका छन्। तर एन्फाले सुनेको देखिएको छैन।
राजुकाजी शाक्य चित्त दुखाउँदै भन्छन्, ” राष्ट्रका प्रतिष्ठित खेलाडीहरूलाई भगुवा, भरौटे भन्दा हामीलाई चित्त दुख्छ नि। अरूले त बुझेनन् भनौँला, तर उपेन्द्र र हरि ( पूर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह र हरि खड्का) त त्यहीँ छन्। किन नबोलेका हुन्? अचम्म लाग्छ। “
एन्फा महासचिव इन्द्रमान तुलाधर छानविन समिति गठन गर्न ढिला भएको स्विकार्छन्। तर एन्फा खेलाडीको मामिलालाई हलुका रूपमा लिएको मान्दैनन्।
उनी भन्छन् -“एन्फा प्रक्रियागत ढंगबाट अगाडि वढ्छ। हामीले एक चरण आफैले प्रयास पनि गरेका हौं। तर अब छानविन समिति गठन भइसकेकोले त्यसको सुझावपछि मात्र निर्णय लिनेछौं।”
मौनता किन?
सबैभन्दा अनौठो कुरा एन्फा पदाधिकारीहरू प्रशिक्षक अल्मुटाइरीसंग चुइँक्क बोल्न नसक्नु हो भन्ने कतिपयको ठम्याइ छ।
खेलाडीहरूले न्यायको याचना गर्दै स्पष्ट भनेका छन् – हाम्रो दोष भए हामी जस्तोसुकै सजाय पनि भोग्न तयार छौँ। यदि प्रशिक्षकको दोष भए उनीमाथि पनि कारबाही हुनुपर्यो।
१० खेलाडीहरूले प्रशिक्षकलाई राखेर छलफल गर्न माग राखे। तर प्रशिक्षक आउन नचाहेको र नएन्फाले बोलाउन नसकेको बताइन्छ।
फुटबलको शक्तिशाली संस्थाका पदाधिकारीहरू एक जना प्रशिक्षकसँग बोल्न सक्दैनन् र उसले जे भन्यो त्यसमा ‘हस्’ भन्दै काम गर्छन् भने प्रशिक्षकको मनोमानी कतिसम्म बढ्न सक्छ होला ? सहज अनुमान लगाउन सकिन्छ।
बरु एन्फा अहिले पनि प्रशिक्षक अल्मुटाइरीकै इशारामा नाचिरहेको देखिन्छ।
प्रशिक्षकले १७ खेलाडी थप भन्दा एन्फाले खुरुक्क मानेको र १० खेलाडीलाई राख्दिन पनि खुरुक्क मानेको रूपमा हेरिएको छ।
र बुझिए अनुसार यत्रो विवाद थाती राखेर प्रशिक्षकले एसियन कपका लागि नयाँ खेलाडीहरूको नाम तयार गरिसकेका छन्।
एसियन कप २०२३ को तेस्रो चरणको खेल कुवेतमा जेठ २५ बाट हुँदैछ। त्यहाँ जानु अगाडि नेपालले कतारमा अफगानिस्तानसँग जेठ ११ र १५ मा गरी दुई मैत्रीपूर्ण खेल खेल्दै छ।
टोलीको एसियन कप यात्राको भिसाको प्रक्रिया अगाडि बढिसकेको छ र तर त्यसमा यी १० खेलाडीहरू नपरेको समाचार स्रोतले जनाएको छ।
यस्तो बेला एन्फाले छानबिनको नतिजा नआउञ्जेल प्रशिक्षकलाई ‘पर्ख’ भन्न वा भिसा प्रक्रियामा यी १० खेलाडीलाई पनि समावेश गर भन्न सकेको देखिएको छैन।
एन्फामा विगतमा झैँ छानबिन समितिको काम ढिलासुस्ती गर्दै जाने आफ्नो मतलबको काम निकाल्ने प्रक्रिया दोहोरिने त हैन भन्ने प्रश्न र आशङ्का उठिरहेको छ।
तर एन्फाले बुझ्नुपर्छ – यसपालि विषय खेलाडीको छ, उनीहरूको करिअर र न्यायको विषयमा छ।
भोलि यसबाट नेपाली फुटबलमा पर्न सक्ने गम्भीर असर बारे के एन्फा नदेखेजस्तै गरी बस्न सक्ला वा त्यसबाट देखिने नकारात्मक प्रभाव थेग्न सक्ला ?(बीबीसी)
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्