Techie IT
५ असार २०७८, शनिबार

दोलखाका २१ वटा सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन हुने


दोलखा ।
हिमाली जिल्ला दोलखाका २१ वटा सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन हुने भएको छ । वाग्मती प्रदेश सरकारले दोलखाका २१ वटा सरकारी विद्यालयमा एक/एक जना स्वास्थ्य कर्मचारी राखेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

उक्त कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा नै प्रदेशभित्रका विद्यालयहरू छनोट गरेको थियो । गत आवमा दोलखाका तीनवटा विद्यालय छनोटमा परेका थिए ।

प्रदेश सरकारले उक्त कार्यक्रमको लागि चालू आवमा दुई नगरपालिकासहित सात गाउँपालिकामा १८ वटा सरकारी विद्यालय छनोट गरेको छ । वाग्मती प्रदेशले उक्त कार्यक्रमको लागि जिल्लाको प्रत्येक स्थानीय तहको दुई/दुईवटा माध्यमिक विद्यालय छनोट गरेको हो ।

वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयले गत वर्ष भीमेश्वर तथा जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकामा सो कार्यक्रम सुरु गरेको थियो । चालू आवमा उक्त कार्यक्रमको लागि जिरी नगरपालिका वडा नम्बर २ एलुङस्थित बौद्ध भुवनेश्वरी मावि र वडा नम्बर ९ स्थित कालिका मावि छनोटमा परेका छन् ।

यस्तै भीमेश्वर नगरपालिकाको वडा नम्बर १ स्थित क्षमावती मावि र वडा नम्बर ९ स्थित सुर्के मावि, वैतेश्वर गाउँपालिकाको वडा नम्बर ८ स्थित क्षेत्रवती मावि र वडा नम्बर ३ स्थित कालिढुंगा मावि, तामाकोसी गाउँपालिकाको वडा नम्बर १ स्थित नारायणी मावि र वडा नम्बर ३ स्थित सितापाइला मावि, छनोटमा परेका छन् ।

यसैगरी, शैलुङ गाउँपालिकाको शारदा मावि र विरेन्द्र मावि, कालिञ्चोक गाउँपालिकाको लापिलाङ मावि र बालोदय मावि, मेलुङ गाउँपालिकाको डाडाँखर्क मावि र त्रिभुवन मावि, गौरीशंकर गाउँपालिकाको निलकण्ठेश्वर मावि र मानेडाँडा मावि र विगु गाउँपालिकाको गौरीशंकर मावि र तित्रे मावि उक्त कार्यक्रमको लागि छनोटमा परेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्