Techie IT
९ असार २०७८, बुधबार

पाल्पा, कपिलवस्तु र धनकुटामा पनि पहिरो जाँदा मृत्यु


काठमाडौं ।

पाल्पा रम्भाको गाउँपालिका-२ सुरुङडाँडा बस्ने वीर बहादुर गाहाको घर बिहीबार बिहान पहिरोले पुरिँदा उनकी श्रीमती २७ वर्षीया मोतिसरा गाहाको घटनास्थलमै मृत्यु भएको छ ।

मोतिसरा ८ महिनाकी गर्भवति रहेकी बुझिएको छ । पहिरोमा पुरिएका वीर बहादुरको १ जना छोरा, १ जना छोरी र १ जना भान्जीलाई सकुशल उद्धार गरिएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका-७ कपिलधाम नजिकै जिनुवा बनगाई सडकखण्डमा बा।१ ञ १०८९ नम्बरको गाडी बुधबार दिउँसो कोईली खोलाले बगाउँदा गाडी चालक गुल्मी रेसुङगा नगरपालिका(५ बस्ने ३५ वर्षीय माधव पाण्डेको मृत्यु भएको छ ।

जिनुवाबाट विद्युत मर्मत गरी फर्कदै गरेको नेपाल विद्युत प्राधिकरण तौलिहवा अन्तर्गत फ्युज शाखा कार्यालय जितपुर कपिलवस्तुको उक्त गाडी खोलाले बगाउँदा गाडीमा सवार उक्त कार्यालयका कर्मचारी चालक सहित ४ जना र अन्य २ जना गरी ६ जनामध्ये ३ जना बेपत्ता भएका थिए ।

२ जना कर्मचारी र अन्य १ जना पौडी खेलेर बाहिर निस्केको बुझिएको छ । अन्य ३ जना मानिस र गाडी बेपत्ता रहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको सुरक्षाकर्मीको टोलीले करिब २० मिटर तल खाल्डोमा गाडी र चालक पाण्डेको शव फेला पारेको हो ।

हालसम्म बेपत्ता रहेका बाणगंगा नगरपालिका-१ बस्ने ५२ वर्षीय कृष्ण प्रसाद पौडेल र अर्घाखाँची सितगंगा नगरपालिका-१३ बस्ने ६२ वर्षीय केश बहादुर भाटको खोजी भइरहेको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका-९ सिरिसे बस्ने ३१ वर्षीय धनबहादुर आङ्लाको घर वर्षाको कारण भत्किदा उनकी ७ महिनाकी छोरी गंगा आङलाको पुरिएर बुधबार दिउँसो मृत्यु भएको छ । धनबहादुर समेत सामान्य घाइते भएका छन् । तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्