Techie IT
१० असार २०७८, बिहीबार

द्रुतमार्गका रूपमा तीनवटा करिडोर निर्माण सुरु


पाँचथर ।
द्रुतमार्गका रूपमा विकास गर्ने उद्देश्यसहित पाँचथरमा तीनवटा करिडोर सडक निर्माण कार्य सुरु भएको छ । जिल्लाको उत्तरी क्षेत्रलाई समेट्न हेवा करिडोर, मध्य क्षेत्रलाई समेट्न निवु करिडोर र दक्षिणी क्षेत्रलाई समेट्न नावाँ करिडोर सडक निर्माण सुरु भएको हो ।

तीनवटै करिडोर पहाडै–पहाड निर्माण गरिएका अन्य सडकहरूलाई समेट्दै तमोर करिडोर सडकमा जोडिनेछन् । तमोर करिडोर धनकुटाको मुलघाटबाट पाँचथर–ताप्लेजुङ हुँदै नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय सडक हो । हालसम्म पहाडै–पहाड सडक विस्तार गर्ने गरिएकामा तमोर नदीको किनार हुँदै तमोर करिडोर निर्माण अघि बढेपछि जिल्लाभित्र पर्ने खोलाका किनार हुँदै द्रुतमार्गका रूपमा करिडोर सडक निर्माण सुरु गरिएको हो । यी तीनवटै करिडोरहरू प्रदेश नं १ सरकारले विशेष प्राथमिकतामा राखेको मुख्यमन्त्री ग्रामीण सडक आयोजनाअन्तर्गत निर्माण थालिएका हुन् ।

पूर्वाधार विकास कार्यालय पाँचथरका अनुसार गत आर्थिक वर्ष २०६७/०७७ मा तीन वटै करिडोरमा समान ८७ लाख रूपैयाँ बजेट विनियोजन भएको थियो । उक्त बजेटबाट करिडोरहरूको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण तथा ट्र्याक निर्माण कार्य सुरु भएको पूर्वाधार विकास कार्यालय पाँचथरका निमित्त प्रमुख ललितकुमार चौधरीले जानकारी दिए । चालू आर्थिक वर्षका लागि तीनवटै करिडोरका लागि समान एक करोड १० लाख रूपैयाँ बजेट छुट्टिएको र कार्यान्वयनको अख्तियारी प्राप्त हुन लागेको निमित्त प्रमुख चौधरीले बताए ।

गत आवमा हेवा करिडोरको २ दशमलव ७६ किमी, निवु करिडोरको २ दशमलव ६ किमी र नावा करिडोरको ३ दशमलव ९ किमी ट्र्याक निर्माण सम्पन्न भएको छ । यस्तै हेवा करिडोरको २१ किमी र नावा तथा निवु करिडोरको समान २३ किमिको डीपीआर तयार भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

करिडोर सडकहरूको चौडाइ आठ मिटर हुनेछ । नावा करिडोर २३ किलोमिटरको हुने तय भए पनि बाँकी दुई करिडोरको डीपीआर चालु आवमा मात्रै पूरा हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चौधरीको भनाइ छ । द्रुतमार्गको रूपमा विकास हुने तीनवटै सडकले जिल्लावासीलाई ठूलो लाभ मिल्ने भए पनि चाँडो निर्माण कार्य पूरा गर्न यथेष्ट बजेटको सुनिश्चिता हुनुपर्ने चौधरीको भनाइ छ ।

‘तीनवटै करिडोर मुख्यमन्त्री ग्रामीण सडक आयोजनामा समावेश भएकाले निर्माण अघि बढ्ने निश्चित छ’, चौधरीले भने, ‘तर भौगोलिक विकटता र ठूलाठूला चट्टान पार गर्नुपर्ने भएकाले यथेष्ट बजेटको सुनिश्चिचता भइदिए निरन्तर निर्माण कार्य अघि बढाउन सहज हुन्थ्यो ।’

फिदिम नगरपालिका–४ माझीटार सुरु बिन्दु रहेको हेवा करिडोर नेपाल–भारत सीमावर्ती फालोट क्षेत्रसम्म विस्तार गर्ने सरकारी लक्ष्य छ । यस करिडोरले फिदिम नगरपालिकासहित हिलिहाङ र फालेलुङ गाउँपालिकामा पर्ने विभिन्न गाउँहरूलाई समेट्छ । निवु करिडोर फिदिम नगरपालिका र कुम्मायक गाउँपालिकाको सीमामा पर्ने सिवादोभानमा सुरु बिन्दु भई पाँचथर–इलाम सीमावर्ती राँके बजारमा जोडिनेछ ।

यस करिडोरले फिदिम र फाल्गुनन्द गाउँपालिकालाई समेट्दै मेची राजमार्ग र तमोर करिडोरलाई द्रुतमार्गबाट जोड्ने कामसमेत गर्ने यहाँका स्थानीयवासी एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङको भनाइ छ । नावा करिडोरले तुम्बेवा र मिक्लाजुङ गाउँपालिकालाई समेट्छ भने तमोर करिडोर र राँके–रबी–भेडेटार सडकलाई जोड्ने द्रुतमार्ग समेत बन्छ ।

निवु करिडोर निर्माणका लागि पहल गर्दै आएका संविधानसभा सदस्य नेम्वाङले करिडोर सडकले निर्माणका क्रममा कमभन्दा कम क्षति गर्ने, द्रुतमार्ग र अन्य सडकहरूको पहुँचमार्गका रूपमा विकास हुने भएकाले यसको निर्माणमा विशेष जोड दिइएको बताए । ‘तमोर करिडोर निर्माण थालिएपछि नदीको किनारैकिनार सडक निर्माण गर्न सके स्थानीयवासीले धेरै लाभ प्राप्त गर्ने देखियो’ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्