Techie IT
८ असार २०७८, मंगलबार

बाढी पीडितका लागि राहत सामग्री


परासी ।
नेपाल–भारत महिलामैत्री समाजले नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का बाढी प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएको छ । भारत सरकारको सहयोगमा समाजले जिल्लाको सरावल र प्रतापपुर गाउँपालिकाका २६५ परिवारलाई आवश्यक टेण्ट र त्रिपाल हस्तान्तरण गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत १६० थान त्रिपाल र १०५ थान टेण्टसम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।

उक्त राहत सामग्री सरावल–६ का ९० घरपरिवारलाई ४५/४५ थान तथा ७ नं. वडाका ६० घरपरिवारका लागि ३०/३० थान का दरले टेण्ट र त्रिपाल वितरण गरिने छ । यस्तै प्रतापपुर–३ का ६० घरपरिवारलाई ३०/३० थान टेण्ट र त्रिपाल वितरण गरिने समाजका प्रदेश नं. ५ समन्वयकर्ता अङ्गद यादवले जानकारी दिए । बाँकी रहेको सामग्री संस्थाले आवश्यकता हेरी वितरण गर्नेछ । राहत सामग्री समाजकी राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जु चौधरीलाई हस्तान्तरण गरे ।

भारत सरकारले उपलब्ध गराएको ५०० थान टेण्ट र ८०० थान त्रिपाल समाजले नेपाल सरकारको स्वीकृतिमा बाढी तथा पहिरोबाट प्रभावित सिन्धुपाल्चोक, महोत्तरी, सर्लाही, कैलाली र नवलपरासीका नागरिकलाई हस्तान्तरण गरेको सांसद चौधरीले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले डुबानका कारण विस्थापित हुन पुगेका नागरिकलाई आश्रम स्थलको अभावमा अस्थायी आश्रय स्थलको रुपमा संरक्षण गर्न प्राप्त राहत सामग्री महत्वपूर्ण हुने राससलाई बताए ।

स्थानीय झरही र धनेवा खोला तथा गण्डक नहरका कारण जिल्लाको सरावल, प्रतापपुर, पाल्हीनन्दन गाउँँपालिका बाढीको जोखिममा रहेको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी बताउँछन् । नदीको निकास नहुँदा विगत ७० वर्षदेखि डुबानको समस्या झेल्नुपरेको उनले बताए । प्रतापपुर गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुु चौधरीले बाढी प्रभावितका लागि अत्यन्त आवश्यक राहत सामग्री उपलब्ध गराईएको भन्दै थप सहयोगको समेत अपेक्षा गरिएको बताइन् । समाजले विगत ८ वर्षदेखि राहत वितरण तथा महिला शसक्तीकरणको क्षेत्रमा काम गर्दै आएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्