Techie IT
५ असार २०७८, शनिबार

चरीघ्याङ गुम्बाको निर्माण अन्तिम चरणमा


दोलखा ।
भूकम्पले ध्वस्त बनाएको चरीघ्याङ गुम्बाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । दोलखाको सदरमुकाम चरीकोटदेखि करिब पाँच सय मिटर दूरीमा रहेको भीमेश्वर नगरपालिकाको–३ चरीघ्याङ बजार क्षेत्रमा अवस्थित पुरानो ऐतिहासिक गुम्बा २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले पूर्णरूपमा ध्वस्त बनाएको थियो । भूकम्पले भत्किएको गुम्बा निर्माण गर्नका लागि संघीय सरकारले दुई करोड ८० लाख बजेट विनियोजन गरेको थियो ।

भूकम्पले भत्किएको गुम्बा निर्माणको काम २०७५ सालदेखि सुरु गरेको चरीघ्याङ गुम्बा निर्माण समितिका संयोजक साङ्दोर्जे लामाले जानकारी दिए । गुम्बा निर्माणका लागि केन्द्र सरकारले दुई वर्षको निर्माण अवधि तोकेको थियो । गुम्बा निर्माण गर्न केन्द्र सरकारअन्तर्गतको पुरातात्विक विभागले निर्माण संस्था सीएया तुल्सी र एरिसा जेभीलाई दुई करोडमा २०७५ साल असोजमा ठेक्का सम्झौता गरेको थियो । जेभीले दुई वर्षको अवधि अर्थात् २०७७ असोजमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख भएको कम्पनीले जनाएको छ । गुम्बा सालको काठमा बुटा भरेर पौराणिक पुरानैशैलीमा निर्माण हुने भएको छ ।

गुम्बाको झ्याल–ढोकामा पुरानै खालको बुट्टा देखाउने र स्थानीयस्तरमै पाहिने बालुवा, ढुङ्गा, चुना र सुर्कीको प्रयोग गरेर वाल निर्माण गरिने गुम्बा निर्माण समितिले जनाएको छ । गुम्बा निर्माण दुई रोपनी जग्गा रहेको गुम्बाको आफ्नै जग्गामा भइरहेको छ । जिल्लाका अन्य धार्मिकस्थलजस्तै गरी यस गुम्बाले पनि किरात राज्य हुँदादेखिको इतिहास बोकेको र धेरै पहिलेदेखि नै यस क्षेत्रमा गुम्बा रहेको स्थानीय बृद्ध कृष्णबहादुर लामाले बताए । उनका अनुसार यहाँका स्थानीय पाँच जना दाजुभाइले आफ्नो जग्गा गुम्बाको नाममा धेरै पहिला दान गरेर गुम्बा निर्माण गरेका थिए ।

गुम्बा ९० सालमा गएको भूकम्पले पनि ध्वस्त बनाएको थियोे । त्यो बेला स्थानीय लामाले दोलखा घुम्न आएका एक विदेशी नागरिकसँग सहयोग मागेर गुम्बा निर्माण गरेको उनले बताए । त्यसपछि २०७२ वैशाखको भूकम्पले पनि ध्वस्त बनाएपछि संघीय सरकारअन्तर्गत पुरातत्व विभागले गुम्बा निर्माण गर्न आर्थिक व्यवस्था गरेको गुम्बा निर्माण समितिले जनाएको छ ।

पर्यटकको उद्गमस्थान रहेको यस क्षेत्रमा मुख्य गरी तामाङ र शेर्पा जातिको मुख्य बसोबास रहेको छ । चरिघ्याङ गुम्बा आसपासमा बसोबास गर्ने स्थानीयको मुख्य पेसा नै होटल व्यवासाय रहेको छ । जिल्लाका ठुला होटल यस क्षेत्रमा रहेका छन् । अहिले गुम्बा निर्माणको जिम्मेवारी पाएको संस्था सीएया तुल्सी र एरिसा जेभीले गुम्बा निर्माणको काम सकाएर रङरोगन र फिनिसिङ काम गरिरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्