Techie IT
८ असार २०७८, मंगलबार

मध्यसोलु हाइड्रोपावरको काम दशैँअघि नै सुरु हुने


सोलुखुम्बु ।
सोलुखुम्बुको सोलु खोलामा निर्माण हुने मध्यसोलु हाइड्रोपावर नौ दशमलव पाँच मेगावाटको काम दशैँअघि नै सुरु गर्ने बताइएको छ । आयोजनाले सरोकारवालासँगको छलफलमा आयोजनाको काम दशैँअघि नै सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ । आयोजनाले पावर हाउस निर्माण हुने सोलुदुधकुण्ड नगरपालिकाका वडा नम्बर ६ का स्थानीयसँग छलफल गर्दै आयोजना जति सक्दो छिटो सञ्चालन गर्ने तयारी भएको लगानी कर्ता रमेशराज गौतमले जानकारी दिए ।

आफूहरूले ठेक्केदारसँग दशैँअघि नै काम सुरु गर्न आग्रह गरेको उनले बताए । दशैंभन्दा अघि काम सुरु भएपछि पुनः काम रोकिने र त्यसपछि फागुनदेखि काम गर्दा कामले गति लिने विश्वासका साथ काम सुरु गर्न आग्रह गरिएको उनले सुनाए । अहिले वातावारण प्रभाव मुल्याङ्कन स्वीकृत भएकाले दशैँअगाडि नै निर्माण कार्य सुरु गर्नका लागि आफूहरूले ठेक्केदारलाई ताकेता गरिहरेको उनले बताए । यो आयोजनाबाट सोलुदुधकुण्ड नगरपालिकाका वडा नम्बर ३, ४, ५ र ६ प्रभावित हुने भएकाले सामाजिक उत्तरदायित्वको रकम सोही क्षेत्रमा खर्च गरिने पनि उनले जानकारी दिए ।

सामाजिक उत्तरदायित्वको रकम आफूहरूले स्थानीयलाई प्रतिशतका आधारमा छुट्ट्याइदिने भएकाले यो विषयमा बारम्बार आयोजनालाई दबाब नदिन पनि उनले आग्रह गरे । छलफलमा सहभागीले स्थानीयलाई पहिलो प्रथामिकतामा राखेर आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका छन् । आयोजना निर्माण हुन राम्रो भए पनि स्थानीयले भन्दा बाहिरकाले लाभ लिने अवस्था आउन नहुने स्थानीयको भनाइ छ ।

वातावरण प्रभावको विषयमा स्थानीय नागरिकलाई खबरै नगरिकन सार्वजानिक सुनुवाइ गरिएको भन्दै वडा अध्यक्ष रामकुमार श्रेष्ठले आपत्ति जनाए । कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले काम सुरु हुनुभन्दा अगाडि आयोजनाको बारेमा पुनः सार्वजानिक सुनुवाइ गर्न माग समेत गरे ।

वडा नम्बर ६ का स्थानीय तथा गैरसरकारी महासंघका जिल्ला अध्यक्ष दिपक राजभण्डारीले केही व्यक्तिलाई मात्र बोलाइएको भन्दै वडाका सबै स्थानीयलाई सहभागी गराउनु पर्ने बताए । स्थानीयसँग समन्वय गरेर मात्र काम अगाडि बढाउन पनि उनको सुझाव थियो । आयोजनाको काम गत फागुनमा सुरु हुनुपर्ने भए पनि कोरोनाका कारण एक वर्ष लम्बिने भएको छ । प्रतिमेगावाट १५ करोड लागत अनुमान गरिएको उक्त आयोजना सन् २०२३ को अगष्ट ३० तारिखमा सक्ने लक्ष्य राखिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्