Techie IT
११ असोज २०७९, मंगलबार

प्रमको सम्बोधनको सबैभन्दा महत्वपूर्ण अंश !


छैटौं संविधान दिवसको अवसरमा प्रधानमन्त्रीले दिएको सम्बोधनमा विकासको सन्दर्भमा दुई वर्षपहिले उनले भनेको एक विषयमा चर्चा गरे । सरकारी काममा अलमल भइरहेको प्रमुख कारण नै ‘भइहाल्छ नि ! भन्दै सुस्तरी चल्ने वा गरिहाल्लान् नि ! भन्दै चल्दै नचल्नेहरु !’ र ‘विकासको लागि तीव्र गतिमा दौडिन खोज्नेहरुबीचको बेमेल’ हो । आजसम्म पनि यसको अन्त्य गर्न बाँकी नै भएको भनी दुई तिहाइको सरकार प्रमुखले स्वीकार्नु र विकास निर्माण, खास गरी ‘पूर्वाधार विकासको कामलाई नराम्रो गरी अल्झाएको र यसमा यथोचित परिवर्तन गरिन्छ’ भनी प्रधानमन्त्रीको स्तरबाट आएको प्रतिबद्धता यस सम्बोधनको अत्यन्तै महत्वपूर्ण अंश मान्नुपर्छ ।

सरकारीस्तरबाट हुने विकास निर्माणसँग सम्बन्धित ‘सार्वजनिक खरिद ऐनजस्ता विद्यमान कानुनी प्रबन्धहरु’लगायत उद्योग वाणिज्यसँग सरोकार राख्ने ऐन, नियम, कार्यविधिहरु पनि व्यापक रुपमा परिवर्तन गर्नमा ढिलाइ भएको खण्डमा यो सरकारको बाँकी अवधिमा उच्च आर्थिक वृद्धिदर हासिल गरी ठूलो संख्यामा रोजगारी सृजना गर्न सक्तैन । यसको अलावा मन्त्रिपरिषद्को बैठकलाई कुनै मन्त्रालयले ल्याएको प्रस्ताव स्वीकृत गर्ने र राजनीतिक बहस गर्ने अखडामा मात्र सीमित राख्नुभएन ।

मुलुकको अर्थतन्त्रलाई गुञ्जायमान र सधैँ उत्साहित तुल्याइराख्न चाहिने हरेक पाइला, हरेक योजना, हरेक विदेशी सहयोग तथा विदेशी र स्वदेशी लगानीकर्ताहरुले उठाएका सानाठूला गुनासो आदि सम्बन्धमा निरन्तर रूपमा मन्त्रिपरिषद्का बैठकहरूमा प्रधानमन्त्रीबाट पुनरवलोकन, छलफल, निर्देशन र अन्तिम निर्णय दिने गर्नुपर्छ ।

विकास निर्माण कार्यहरूमा तीव्रता ल्याउन र उद्योग वाणिज्य क्षेत्रले फड्को मार्न सम्बन्धित मन्त्रालयका उच्च पदाधिकारीहरू एवं निजी क्षेत्रसँग समेत छलफल गर्न प्रधानमन्त्रीले समय निकाल्नैपर्ने हुन्छ । एक/दुई महिनामा एकपल्ट निर्देशन दिनु पर्याप्त हुँदैन । आर्थिक वृद्धिदर बढाउने र रोजगारी सिर्जना गर्ने तत्वहरू के–के हुन् र ती तत्वलाई के कस्तो उपायबाट सरकार र संसद्ले सहयोग गर्न सक्छ भन्नेबारे समग्र मन्त्रिपरिषद् र संसद् प्रस्ट हुनैपर्छ । आर्थिक वृद्धिदर बढाउने पाइलाहरू सँगसँगै धनी–गरिबबीचको दूरी घटाउनेतर्फ पनि विभिन्न योजना तथा कार्यक्रम ल्याउनैपर्छ ।

विश्वप्रख्यात अर्थशास्त्री अमत्र्य सेनको भनाइअनुसार राजनीतिको भीषणता वा तीव्रताले भन्दा मित्रतापूर्ण आर्थिक वातावरणलाई पृष्ठपोषण गर्नुबाट विकासलाई बढी मद्दत गर्छ । राजनीतिक विचारधाराका सम्बन्धमा निरन्तर भइरहेको बहस प्राज्ञिक र सैद्धान्तिक दृष्टिकोणले उचित हुनसक्ला तर सर्वसाधारणको ध्यान आर्थिक प्रगतिमा नै हुन्छ । तसर्थ मित्रतापूर्ण आर्थिक वातावरण निर्माणमा प्रधानमन्त्री आफैँले चासो राख्नु उचित हुन्छ ।

सिंगापुरका चर्चित नेता लि क्वान युको भनाइअनुसार सरकार चलाउने भनेको एक संगीत सञ्चालकले अर्केस्ट्राको नेतृत्व गर्नेजस्तै हो, कुशल र दक्ष सहयोगीको एक समूह नभईकन सरकार प्रमुख एक्लैले खासै सफलता हासिल गर्न सक्दैन । उनको भनाइअनुसार अर्केस्ट्राको संगीत सञ्चालक आफैं सबै बाजा बजाउन कुशल हुन जरुरी छैन तर मुख्य–मुख्य बाजासम्बन्धी चाहिने मात्राको ज्ञान त हुनैपर्छ अन्यथा कुन बाजाबाट के–कस्तो ताल, आवाज र संगीतको प्रकार खोज्ने भन्नेबारे संगीत सञ्चालक आफैं अलमलमा पर्छ । तसर्थ प्रधानमन्त्री एक जना मात्र सक्षम र काबिल भएर पुग्दैन, मन्त्रिपरिषद्को सबै सदस्य, मुख्यसचिव, सबै सचिवहरू र सबै संस्थान प्रमुखहरु पनि सक्षम, कुशल र दक्ष हुनैपर्छ ।

लोकतन्त्रमा राजनीति सधैँ चलायमान भइरहन्छ, वादविवाद चलिरहन्छ, घोचपेच भइरहन्छ । तर, मुलुक चलाउने जिम्मा लिएका प्रधानमन्त्रीले विद्यमान प्रशासनिक, कानुनी र प्राविधिक समस्याहरु समाधान गर्नेतर्फ गम्भीर रुपमा ध्यान दिन समय निकाल्नैपर्छ । हरेक मन्त्रालय, विभाग, संस्थान, महाशाखा, शाखा, उपशाखा, एकाइको हरेक कामकुरालाई सिंगो मुलुकको आर्थिक वृद्धिदरसँग जोडेर हेर्नैपर्ने वातावरण सिर्जना गर्नुपर्छ । जुनसुकै मूल्य चुकाएर भए पनि उच्च आर्थिक वृद्धिदर हासिल गरेर ठूलो संख्यामा रोजगारी सिर्जना गर्नैपर्छ । बाँकी अढाइ वर्षलाई विपक्ष दलका नेता, राजनीतिज्ञ, अर्थविद्, राजनीतिक विश्लेषक र बुद्धिजीवीहरुले मात्र होइन तीन करोड जनताले नियालेर हेरिरहेको हुन्छन् नै । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्