Techie IT
९ असार २०७८, बुधबार

विभिन्न चार समझारीपत्रमा हस्ताक्षर


पोखरा ।
राष्ट्रिय विज्ञान दिवसका अवसरमा पोखरा महानगरपालिका कार्यालयले विभिन्न फरक चार वटा संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । पोखरास्थित विभिन्न प्राविधिक शिक्षालयहरुसँग महानगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेको हो । महानगरस्थित प्राविधिक क्याम्पसहरुको सीप, ज्ञान र जनशक्तिलाई स्थानीय निकायको विकासमा जोडेर लैजाने उद्देश्यका साथ महानगरले पश्चिमाञ्चल क्याम्पस, वन क्याम्पस, नर्सिङ क्याम्पस तथा जेन्टा क्लब पोखरासँग साझेदारीपत्रमा हस्ताक्षर गरेको हो ।

पोखरा महानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न ‘राष्ट्रिय विज्ञान दिवस तथा समझदारीपत्र हस्ताक्षर कार्यक्रम’मा पोखरा महानगरपालिकाको तर्फबाट महानगरका प्रमुख मान बहादुर जिसीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् भने इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुख राम प्रसाद पौडेल, वन क्याम्पस पोखराका प्रमुख विनोद हयेजु, नर्सिङ क्याम्पस प्रमुख निता ताम्राकार र जेन्टा क्लव पोखराका उपाध्यक्ष निरुता थापाले क्याम्पससँग सम्बन्धित प्राविधिक ज्ञान, सीप र जनशक्तिको सहकार्य गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

महानगरस्थित प्राविधिक शिक्षालयहरुको सीप, ज्ञान र जनशक्तिलाई महानगरको विकासमा प्रयोग गर्ने अभिप्रायले समझदारीपत्रमा हस्ताक्षर भएको महानगरका प्रमुख मान बहादुर जीसीले बताए । महानगरमा सञ्चालित प्राविधिक शिक्षालयहरुले नगरवासीको विकाससँग सम्बन्धित क्रियाकलापमा आफूलाई जोड्दै लैजानुपर्ने उनको भनाइ थियो । हाललाई चारवटा शिक्षालयसँग सम्झौतापत्रमा हस्ताक्षर भएको र आगामी दिनमा बाँकी अन्य क्याम्पसहरुसँग पनि सम्झौता गरेर अगाडि बढ्ने महानगरले लक्ष्य लिएको उनले बताए ।

कार्यक्रमका महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जुन लक्ष्यप्राप्तिका लागि महानगरले शिक्षालयहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेकोले त्यो पूरा गर्न महानगर प्रतिबद्ध रहेको बताइन् । पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले शैक्षिक संस्था र राज्यका कार्यकारी निकायहरुका बीच सहकार्य अनिवार्य रहेको बताए । कार्यक्रममा वन क्याम्पसका प्रमुख विनोद हयेजु, निरुता थापा, मोनिका थापालगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रमका अवसरमा राष्ट्रिय विज्ञान दिवशको औचित्य र जनजीविकामा यसको महत्वबारे अन्तक्र्रिया समेत गरिएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्