Techie IT
२० मंसीर २०७९, मंगलबार

नरैनापुरका सडकमा सिक्टाको माटो

गाउँपालिकामा ‘बिल मिलाएर रकम अनियमितता’


बाँके, साउन २३
बाँकेको नरैनापुर गाउँपालिकाको विभिन्न वडामा भएको विकास निर्माण कार्यमा अनियमितता भएको खुलासा भएको छ । गाउँपालिकामा भएको विभिन्न वडाको माटो पटान काममा सिक्टा सिँचाइ आयोजनामा उत्खनन् भएको माटो प्रयोग गरी भर्पाई तयार गरी रकम अनियमितता गरेको पाइएको छ ।

गाउँपालिकाभित्र निर्माण भएका सडकमा सिक्टा सिँचाइ आयोजनाले उत्खनन गरेको निःशुल्क माटो प्रयोग गरिएको छ, बिलमा भने सशुल्क देखाइएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललगायतको संलग्नतामा वडा नं. ६ मा ३ वटा, वडा नं. ५ मा १, वडा नं. ४ मा २ वटा बाटो निर्माण कार्यमा उक्त आयोजनाको माटो प्रयोग गरी बिल भर्पाई पेश गरिएको खुलेको हो । एक करोड ५० लाख रूपैयाँ लागतमा भएका ती विकास निर्माणको कार्यमा माटो फिलिङको कार्यमा नहरमा उत्खनन भएको माटो निःशुल्क प्रयोग गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।

‘माटो खनेर हाल्ने कार्यमा नहरको माटो प्रयोग गरेर आधाजति रकम बचेको हो,’ गाउँपालिकाका एक कर्मचारीले भने, ‘बिल बनाउने क्रममा डोजरबाट कार्य भएको भनी पेश गरिएको छ ।’ ‘गाउँपालिकाका करार सेवामा नियुक्त इन्जिनियर प्रवीन श्रेष्ठलाई बिल मिलाउने जिम्मा थियो,’ स्रोतले भन्यो, ‘मुख्य इन्जिनियर हुँदा पनि पुनः श्रेष्ठलाई नै जिम्मेवारी दिइएको छ ।’ यस सन्दर्भमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालसँगको सम्पर्क प्रयास सफल हुन सकेन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्