Techie IT
शुक्रबार, असोज ९,२०७७

सनराइज बैंकभित्रै महिला कर्मचारी मृत अवस्थामा फेला : घटना शंकास्पद


विराटनगर, साउन २३
सनराइज बैंक विराटनगर शाखामा कार्यरत एक महिला कर्मचारी बैंकभित्रै मृत अवस्थामा फेला परेकी छिन् । बैंंकको कर्जा शाखाको वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत सनाज खतिवडा बुधबार कार्यालय समयमा नै मृत अवस्थामा बैंकको स्टोर रुममा फेला परेकी थिइन् । मृतकले घटनास्थलमा मुसा मार्ने दवाईसमेत प्रयोग गरिएको भेटिएको छ ।

मुसा मार्ने दवाई सेवनको कारण खतिवडाको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । साथै उनले ब्लेडले आफ्नो देब्रे हातसमेत काटेको अवस्थामा उनलाई भेटिएको प्रहरीको भनाइ छ । ब्लेड र विषादीको बट्टा पनि प्रहरीले बरामद गरेको छ । मृतकको व्यागबाट सुसाइड नोटसमेत फेलापरेको छ । सुसाइड नोटमा के लेखिएको छ भन्नेबारे प्रहरीले खुलाएको छैन । मृतकको शवलाई पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बैंक कर्मचारी सनाज खतिवडाले आत्महत्या गरेको बेला बैंकको सुरक्षा गार्डसँगै आधादर्जन कर्मचारी बैंकमै कार्यरत रहेको बताइएको छ । बैंकभित्र पनि जताततै सीसीटीभी क्यामेरा रहेकाले बैंकभित्रै आत्महत्या गर्ने कुरा स्वाभाविक नभएको स्रोतले बताएको छ । अनुसन्धानमा खटिएका प्रहरीले पनि पूर्ण अनुसन्धानपछि मात्र मृत्यु कसरी भएको हो भन्नेबारे बताउन सकिने वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी वेदप्रसाद गौतमले बताए । घटना भएलगतै समाचार संकलनका लागि घटनास्थलमा पुग्दा बैंक प्रशासनले पत्रकारहरूलाई घटनास्थलमा प्रवेश गर्न दिएन ।

उक्त बैंकका प्रबन्धकलाई घटनाबारे सोधपुछ गर्न खोजे पनि बैंकका म्यानेजरदेखि जिम्मेवार कर्मचारीहरू सर्म्पकमा आउनै चाहेनन् । यस्तो बैंक प्रशासनको कदमले पनि घटनालाई थप शंकास्पद बनाएको छ । विराटनगर महानगरपालिका वडा नं. ८ सहयोगी टोलकी ३० वर्षीया खतिवडाले आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रहरीस्रोतका अनुसार मृतकको सुसाइट नोटमा आफ्नै कारणले मरेको र यस घटनामा कसैलाई पनि दोष नदिन भनिएको छ । मृतक युवतीले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रूपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तीय संस्थामा आफ्नो सेयर रहेको सुसाइट नोटमा उल्लेख गरेको प्रहरीस्रोतको भनाइ छ । मृतक परिवार नजिकका एक सदस्यका अनुसार युवतीमा केही दिनदेखि मानसिक तनाव देखिएको थियो तर त्यो तनाव यसरी मृत्युमा नै पुग्ला भन्ने अन्दाज कसैको पनि थिएन । उक्त घटनाको बाँकी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्