Techie IT
मंगलबार, असोज ६,२०७७

प्रदेश २ का मन्त्री र कर्मचारीमा कोरोना देखिएपछि मधेस भवनमा प्रवेश निषेध

बिहीबार प्रदेश २ मा भेटिए ६३ संक्रमित


जनकपुरधाम, साउन २३
प्रादेशिक अस्पताल जनकपुरका पाँचजना कर्मचारीसहत प्रदेश २ मा बुधबार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ११ महिलासहित ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ समाजिक विकास मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी पर्सामा ३९ जनामा कोरोना संक्रमण भेटिएको छ । जसमा वीरगञ्ज महानगरपालिकाभित्रका मात्र २३ जना छन् । यस्तै पर्साकै चण्डीप्रसाद गणका ५ र श्रीपुर आर्मी व्यारेकका पाँचजना गरी १० जना नेपाली सेनाका कर्मचारी रहेको मन्त्रालयले जनाएको छ । अन्य भारतीय दूतावास, नारायणी अस्पतालको क्वार्टर, कारागारमा समेत कोरोना संक्रमित भेटिएको छ ।

धनुषामा ९ जना, सर्लाहीमा ८ जना, महोत्तरी र बारामा २/२ जना, सिरहा, सप्तरी र रौतहटमा १÷१ जनामा कोरोना संक्रमण भेटिएको सामाजिक विकास मन्त्रालय वरिष्ठ चिकित्सक डा. कमलेशप्रसाद यादले जानकारी दिए । मन्त्रालयका अनुसार नयाँ संक्रमित फेला पर्नेमध्ये ५ जना प्रादेशिक अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी समेत रहेका छन् ।

त्यस्तै, प्रदेश २ का मन्त्री, सांसद र मुख्यमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री कार्यालयदेखि मन्त्रालयहरूमा प्रवेश निषेध गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव, प्रदेशसभा सदस्य डा. रिना यादव, मुख्यमन्त्री कार्यालय र समाजिक विकास मन्त्रालयका कर्मचारीमा संक्रमण भेटिएपछि मधेस भवन सुनसान देखिन थालेको छ । कोरोना संक्रमण फैलिन सक्ने भन्दै मुख्यमन्त्रीसहित केही मन्त्री निवासबाटै कार्य सञ्चालनमा जुटेको र केही मन्त्री आफ्नो गृह जिल्ला पुगेको बताइएको छ ।

मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार संक्रमित कर्मचारीहरू आइसोलेसनमा भर्ना भएका छन् भने केही कर्मचारी निवासबाटै काम गरिरहेका छन् । मन्त्रालयका अधिकांश शाखामा ताला झुण्डिएको छ । मधेस भवनको मुख्यद्वारमा सुरक्षार्थ खटेका सुरक्षाकर्मीले सर्वसाधारणलाई भवनमा प्रवेश दिएका छैनन् । मन्त्रीहरूको निर्देशनबमोजिम अनुमतिबिना कसैलाई भित्र प्रवेश गर्न दिइएको छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले हालका लागि सो कार्यालय सिल गरिएको सूचना टाँसिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रीसहित ८ कर्मचारी, सामाजिक विकास मन्त्रालयका ३ कर्मचारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारीमा कोरोना पुष्टि भएको थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्