Techie IT
११ असोज २०७९, मंगलबार

भूकम्पपछि पहिरोको डर, नेपालमा पहिरो दोहरिरहनुका चार कारण


काठमाडौं ।

बुधवार बिहानै सिन्धुपाल्चोकलाई केन्द्र बनाएर दुई पटक भूकम्प गएपछि त्यसले त्यहाँ थप पहिरो जानसक्ने चिन्ता निम्त्याएको छ।

बिहान ५:१९ मा ६ रेक्टर स्केलको र ६:१० मा ३.८ रेक्टर स्केलको भूकम्पले क्षति भएको विवरण नआएको तर त्यसले पहिरोको खतरा बढाउने चिन्ता भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताएका छन्।

यो वर्ष मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकमा पहिरोका घटना घटिरहेका छन्। गत शनिवार मात्रै सिन्धुपाल्चोकमा भीषण पहिरो जाँदा कयौँ मानिसहरूले ज्यान गुमाए र बेपत्ता भए।

सिन्धुपाल्चोकमात्रै होइन मनसुन सुरु भएदेखि आइतवारसम्म पहिरोका घटनामा परेर देशभर २५० जनाभन्दा बढीको मृत्यु भएको सरकारी विवरण छ जुन गत वर्षको तुलनामा दोबरभन्दा पनि बढी हो।

नेपालमा पहिरोका घटना दोहोरिरहनुका खास कारणहरू के-के हुन् त?

१) भिराला जमिनमा अव्यवस्थित बस्ती
भिराला जमिनमा अव्यवस्थित रूपमा पर्याप्त अध्ययनबिनै डोजरका भरमा गरिने सडक निर्माणजस्ता विकास निर्माणका कामले पहिरो आउने अवस्था सिर्जना गरेको विज्ञहरूको भनाइ छ।

खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सोमनाथ सापकोटाका भनाइमा जलविद्युत परियोजना निर्माणजस्ता कामले भिराला भूभागलाई स्थिर बनाउने तत्वहरूको समेत बीचमा खलबली हुन गएको छ।

उनी भन्छन्: “जोखिमपूर्ण भिराला ठाउँमा पहिले गएका पहिरोका अवशेष हेरेर समेत हामीहरू गम्भीर हुनुपर्ने देखिन्छ।”

धाँजा फाट्न थालेको देखेमा ससाना भए पुर्ने प्रयास गर्ने र ठूला भएमा स्थानान्तरणको योजना बनाउनुपर्ने विज्ञहरू सुझाउँछन्।

२) के भुकम्पपछि आएको परिवर्तन कारक हो?
विसं २०७२ मा आएको भुकम्पपछि त्यसले जमिनमा ल्याएको कम्पनको असर पहिले नै कमजोर रहेका भूभागमा झन् बढ्ता परेको भन्ने अर्कोथरी विश्लेषण विज्ञहरूको छ।

तर त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् रञ्जनकुमार दाहालका भनाइमा भुकम्पका त्यस्ता असर सामान्यत: ४ देखि ५ वर्षभित्र देखिने हुँदा यसलाई मुख्य कारण मान्न नहुने ठान्छन्।

ठाउँ विशेषका परिस्थिति र भूबनोटको बेग्लै मूल्याङ्कन हुनुपर्ने उनको धारणा छ।

सिन्धुपाल्चोक जिल्लाका पछिल्ला ठूला पहिरोलाई जोड्दै भूगर्भविद् दाहालले भने: “बाह्रबिसेदेखि तातोपानीसम्मको भेग नेपालमा धेरै पानी परिरहने ठाउँ हो। त्यहाँको भूबनोट समेत चट्टानभन्दा माटोमा बनेको छ।”

लगातार पानी परिरहने ठाउँमा थोरै बढ्ता झरी पर्‍यो पर्दा त्यसले पहिरोलाई बल दिने भूगर्भविदहरू बताउँछन्।

सिन्धुपाल्चोकमा शनिवार चौबिस घण्टामा १६० मिलिमिटरभन्दा बढ्ता पानी परेको देखिएको बताउँदै भूगर्भविद् दाहालले १४४ मिलिमिटरभन्दा उच्च पानी पर्नु पहिरो जानसक्ने आधारभूत अवस्था रहेको बताउँछन्।

३) जोखिम मूल्याङ्कनको अभाव
भूकम्पपछि गरिएका कतिपय अध्ययनमा बस्न सुरक्षित हुने, केही सुधार गरेर बस्न सकिने र स्थानान्तरण नै गर्नुपर्ने गरी गृह मन्त्रालयमार्फत पुनर्निर्माण प्राधिकरणलाई विज्ञहरूले प्रतिवेदन बुझाएका थिए।

तिनै अध्ययनमा सहभागि खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक सापकोटा भन्छन्: “मानिसहरूमा नपरीकन नचेत्ने अवस्था देखिएको छ। गरिराखेको खेतबारी छाड्न नसक्ने र

त्यसको अभाव महसुस हुन नदिने स्थानान्तरण गर्ने सरकारी योजना दुवैको अभाव छ।”

हरेक स्थानीय सरकारले आफ्नो गाउँठाउँका सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गर्ने, पुराना पहिरोका आसपास बस्ती छन् भने तिनलाई स्थानान्तरण गर्नेजस्ता जोखिम मुल्याङ्कन नक्साङ्कनको काम गर्नु आवश्यक ठानिए पनि त्यो नभइरहेको विज्ञहरू ठान्छन्।

त्यसबाहेक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बनिसकेको अवस्थामा सबै तहका लागि उपयोगी निर्देशिका बनाउनु समेत आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

भूगर्भविद दाहाल भन्छन्: “त्यसै त भिरालो जमिनमा बनाइएका बारीमा पानी जम्ने गरी धान नै रोप्ने गरेको पनि देखिन्छ। पानी जम्न दिने काम जमिनको स्थायित्वका लागि उपयुक्त हुँदै होइन।”

४) कमसल वातावरणीय प्रभाव मुल्याङ्कन
भूतपूर्व भूगर्भ अधिकारी सोमनाथ सापकोटा वातावरण प्रभाव मुल्याङ्कन कुनै पनि आयोजनाहरू स्वीकृतिका लागि मात्रै बनाइँदा त्यसले जोखिमलाई बेवास्ता गर्ने गरेको बताउँछन्।

“स्थानीय सरकारहरूले भूगर्भविद्, जलविद् र वातावरणविद्हरू ल्याएर आफ्ना भूभागको मुल्याङ्कन गर्न नसक्ने भन्ने अवस्था छैन। त्यसलाई गम्भीर रूपले लिन सकेको खण्डमा सके विपद् रोक्ने नसके जीवन बचाउन सघाउँछ।”

त्यस्ता मुल्याङ्कनको आधारमा आममानिसहरूले समेत धेरै वर्षा हुन थालेपछि ‘म कहाँ छु, मेरो वरपरको अवस्था के छ’भने स्वयं परिस्थितिको आकलन गर्न सक्ने विज्ञहरूको भनाइ छ।(वीवीसी नेपाली सेवा बाट)

 

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्