Techie IT
४ जेठ २०७९, बुधबार

पुनर्निर्माणपछिको काँक्रेविहार कर्णाली घुम्न आउनेको पहिलो रोजाइ बन्दै


काठमाडौँ । ३८ वर्ष अघि भग्नावशेषको रूपमा देखेको काँक्रेविहारमा अहिले भव्य मन्दिर ठडिएको देखेपछि पातारासी जुम्लाका सतलसिंह थामी आश्चर्यमा परे।

नुन र चामल किन्न सुर्खेत आएको बेला २०४० सालतिर काँक्रेविहारको भग्नावशेष देखेका उनी भन्छन्, “अहिले मन्दिर ठडिएको ठाउँमा त्यतिबेला ढुङ्गाहरू मात्र थुप्रिएका थिए। कल्पना नगरेको ठाउँमा यस्तो मन्दिर देख्दा चकित छु।”

पुनर्निर्माणपछि काँक्रेविहार वास्तवमै हेर्न लायक रमणीय ठाउँ बनेको थामी बताउँछन्।

वर्षौँसम्म भग्नावशेषको रूपमा रहेको काँक्रेविहार मन्दिर पुनर्निर्माण थालिएको झण्डै १७ वर्षपछि पुरानै शिखर शैलीमा उभिएको छ।

भग्नावशेषबाट उत्खनन् गरिएका ढुङ्गामा बुद्ध, सरस्वती, विष्णु, पद्म, शंख र रथका पाङ्ग्राका आकृति कुँदिएको भेटिएपछि काँक्रेविहारलाई हिन्दु र बौद्ध धर्मालम्बीहरूले आस्थाको केन्द्र मान्दै आएका छन्।

पुरातत्वविद्‌हरू हिन्दू र बौद्ध धर्म मान्ने मान्छेहरू आउने जाने गरेको देखिएकोले काँक्रेविहारमा दुवै धर्मको धार्मिक सामञ्जस्य झल्किने बताउँछन्।

कर्णाली घुम्न आउनेको रोजाइ
विभिन्न आकृतिमा कुँदिएका ढुङ्गाहरूले बनेको हुनाले पनि काँक्रेविहार कर्णाली घुम्न आउनेहरूको पहिलो रोजाइमा पर्ने गरेको छ।

भक्तपुरबाट कालीगढ ल्याएर पुरानै शैलीमा निर्माण गरिएको मन्दिर हेर्न अरूभन्दा शनिवार र अन्य बिदाका दिनहरूमा धेरै भिड हुने गर्छ।

काँक्रेविहार

भत्किएको ठाउँमा उत्खनन गर्दा दुई हजारभन्दा बढी ठूल्ठूला ढुङ्गा भेटिएका थिए।

तीमध्ये केही फुटेर नष्ट भएपछि त्यसको ठाउँमा अर्को ढुङ्गालाई उही शैलीमा कुँदेर मन्दिर बनाउन प्रयोग गरिएको छ।

उत्खननपछि खुला ठाउँमा राखिएका ढुङ्गामा लागेको लेउलाई हटाएर टल्काइएको छ।

पश्चिम नेपालकै प्रमुख पर्यटकीय गन्तव्य मानिने काँक्रेविहारको चर्चा सुनेर हेर्न आएकी जाजरकोटकी कुन्ताकुमारी शाही सुनेकोभन्दा पनि भव्य र सुन्दर मन्दिर देखेको बताउँछिन्।

उनी भन्छिन्, “मन्दिरको शैली राम्रो लाग्यो। उतिवेला त्यत्रा त्यत्रा ढुङ्गामा मूर्तिहरू कसरी कुँदिएका होलान्। कसरी उचालेर राखेका होलान्। यो सबै देख्दा अचम्म नै लाग्यो।”

अचम्मका ढुङ्गैढुङ्गा जोडेर बनेको हुनाले पनि मन्दिरले धेरैको मन लोभ्याउने गरेको पाइन्छ।

पुनर्निर्माण अघि दैनिक एक डेढ सय मानिस आएपनि अहिले भने दैनिक ५-७ सय पर्यटकले काँक्रेविहार मन्दिर हेर्ने गरेको काँक्रेविहार टिकट काउन्टरमा कार्यरत विष्णु कार्की बताउँछन्।

उनका अनुसार मन्दिरबाहेक अरू हेर्ने ठाउँ नभएकाले घुम्न आउनेहरूले काँक्रेविहारमा धेरै समय बिताउँदैनन्।

१७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार वन क्षेत्र नेपालकै पहिलो संरक्षित वन पनि हो।

मन्दिरको वरिपरि बालबालिकाको लागि खेल्ने पार्क बनाइएको भए काँक्रेविहारले अझ धेरै पर्यटक तान्नसक्ने सुर्खेतका शशीराम बुढा बताउँछन्।

काँक्रेविहारको रेखदेख गरिरहेको वीरेन्द्रनगर नगरपालिकाले जरायोसहित विभिन्न वन्यजन्तुको बासस्थान रहेको काँक्रेविहारमा मिनी चिडियाखाना बनाउने योजना रहेको जनाएको छ।

मिनी चिडियाखाना बनेपछि अझ धेरै आन्तरिक र वाह्य पर्यटकलाई काँक्रेविहारले आकर्षित गर्ने ठानिएको छ।

ढुङ्गाहरू जोडेर जीर्णोद्धार

साढे एक्काइस मिटर उचाइ रहेको काँक्रेविहार मन्दिर विभिन्न किसिमका फुलबुट्टा र देवी-देवताका मूर्तिहरू कुँदिएका ढुङ्गाहरू जोडेर जीर्णोद्धार गरिएको छ।

विक्रम संवत् १२६४ देखि विसं १३७५ को बीचमा तत्कालीन सिंजाका राजा अशोक चल्लले १३२५ तिर यो मन्दिर बनाएको अनुमान छ।

विक्रम संवत् २०१२ सालतिर योगी नरहरिनाथले पहिलोपटक काँक्रेविहारलाई चर्चामा ल्याएका थिए।

काँक्रेविहार

तस्बिर स्रोत,PRAKASH PANT

तस्बिरको क्याप्शन,काँक्रेविहार मन्दिर बनाउन प्रयोग गरिएका ढुङ्गामा कुँदिएका मूर्तिहरू

त्यसपछि पुरातत्वविद् र अनुसन्धानकर्ताहरूले अन्वेषण गर्दा काँक्रेविहार मन्दिर अहिलेको स्वरूपमा पुनर्निर्माण गर्ने आधार बनेको देखिन्छ।

बाह्रौँ-तेह्रौँ शताब्दीको बीचमा बनेको अनुमान गरिएको काँक्रेविहार मन्दिर कसरी भत्कियो भन्ने बारेमा भने अहिलेसम्म वास्तविक तथ्य फेला परेको छैन।

यस विषयमा भिन्नभिन्न बुझाइ र अनुमान रहेको पाइन्छ।

कोही भूकम्पले मन्दिर भत्काएको दाबी गर्छन् भने कतिपयको तर्क भने मुसलमान राजाको आक्रमणमा भत्किएको भन्ने छ।

लिखत पत्र नभइकन अनुमान गर्न नमिल्ने

एकजना इतिहासकार डा. सूर्यमणि अधिकारीले आफ्नो किताब खस साम्राज्यको इतिहासमा काँक्रेविहार मन्दिर विक्रम संमत् १८९० अर्थात सन् १८३३ को भुईंचालोले ढलेको उल्लेख गरेका छन्।

तर कर्णालीका सम्पदाबारे गहन अध्ययन गरिरहेका जुम्लाका माधव चौलागाई भने मन्दिर भत्किएकोबारे पुराना लिखत पत्र नभइकन यसरी नै हो भनेर अनुमान गर्न नमिल्ने दाबी गर्छन्।

उनी भन्छन्, भूकम्पले भन्दापनि युद्ध वा आक्रमणबाट काँक्रेविहार मन्दिर भत्काइएको हुन सक्छ।

“यदि त्योबेला भूकम्पले यति महत्त्वको मन्दिरमा क्षति गरेको भए कतै न कतै कुनै अभिलेख भेटिन्थो होला। तर त्यो अहिलेसम्म पनि भेटिएको छैन।”

पुरातत्व विभागले २०५७ मा काँक्रेविहार मन्दिरको भग्नावशेषको उत्खनन् गरेको थियो।

पुरातत्वविद् भेषनारायण दाहाल पनि भत्किएको अनुमान पुष्टि गर्ने गतिलो आधार नभेटिएको दाबी गर्छन्।

उत्खननपछि मन्दिर पुनर्निर्माण गर्न ८ करोड १३ लाख ७७ हजार रुपैयाँ खर्च भएको पुरातत्व विभागले जनाएको छ।

विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर भन्छन, “अब त्यस्तो मुख्य काम केही बाँकी छैन। मन्दिर परिसर व्यवस्थापनको काम अर्को वर्ष हुन्छ।”

ऐतिहासिक महत्त्व बोकेको काँक्रेविहार लामो समयसम्म संरक्षण नभएर पुरातत्व खण्डहरको रूपमा रहेको थियो।

पछिल्लो समय काँक्रेविहारलाई कतिपयले दोस्रो लुम्बिनी पनि भन्न थालेका छन्।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबजारदेखि करिब पाँच किलोमिटर दक्षिणमा रहेको काँक्रेविहार मन्दिरसम्म पुग्ने पिच सडक बनाइएको छ।

मन्दिर परिसरमा घोडा चढ्ने पनि व्यवस्था भएकोले हेर्न आउनेहरूले घोडा चढेर आनन्द लिने पनि गर्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ,श्रीलङ्काको जाफ्नामा चङ्गासँगै मान्छे पनि आकाशमा उडे

(बीबीसी)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्