Techie IT
सोमबार, असोज १२,२०७७

एक वर्षमा झण्डै एक खर्ब रुपैयाँबराबरको सेयर सूचीकृत


काठमाडौं, भदौ ३१
नेपाल स्टक एक्सचेन्जमा एक आर्थिक वर्षमा झण्डै एक खर्ब रुपैयाँबराबरको थप सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार २०७६/०७७ मा ३१ अर्ब ९४ करोडबराबरको डिबेन्चर, २८ अर्ब १५ करोडबराबरको बोनस सेयर, १३ अर्ब ६४ करोडबराबरको साधारण सेयर, पाँच अर्ब ७५ करोडबराबरको म्युचुअल फण्ड, चार अर्ब ६९ करोडबराबरको हकप्रद सेयर र १५ अर्ब १४ करोड बराबरको अन्य गरी कुल ९९ अर्ब ३० करोडबराबरको थप धितोपत्र सूचीकृत भएका हुुन् ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा नेपाल धितोपत्र बोर्डले २३ अर्ब ४५ करोडबराबरको डिबेन्चर, चार अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, तीन अर्ब ९९ करोडबराबरको साधारण सेयर र एक अर्ब ८० करोडबराबरको म्युचुअल फण्ड गरी ३३ अर्ब ६६ करोडबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

प्रतिवेदनअनुसार २०७६ असार मसान्तमा १२ सय ५९ विन्दु रहेको नेप्से सूचकांक २०७७ असारमा १३ सय ६२ दशमलव चार विन्दुमा पुगेको छ । २०७७ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो ।

बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २०७६ असार मसान्तमा ४५ दशमलव तीन प्रतिशत रहेकोमा २०७७ असार मसान्तमा ४७ दशमलव छ प्रतिशत पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या भने पछिल्लो अवधिमा दुुई सय १२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४७ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र पाँच अन्य समूहका छन् ।

प्रतिवेदनअनुसार २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८ दशमलव दुुई प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा पाँच दशमलव चार प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा तीन दशमलव सात प्रतिशत, होटेलको हिस्सा एक दशमलव एक प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव तीन प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११ दशमलव तीन प्रतिशत रहेको छ । यस अवधिमा स्टकमा सूचीकृत चार अर्ब ८३ करोड सेयरको चुक्ता मूल्य भने चार खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ पुुगेको प्रतिवेदनमा उल्लेख छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्