Techie IT
सोमबार, असोज १२,२०७७

विद्युत् प्राधिकरणका कर्मचारीद्धारा कुलमानको विदाई


काठमाडौ  ३० भदौ ।
नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको मंगलबार एक कार्यक्रमका बीच विदाइ गरेका छन् । प्राधिकारणमा कार्यकारी निर्देशकको ४ वर्षे कार्यकाल घिसिङले आईतबार सकाएका थिए । कुलमान २०७३ भदौ २९ मा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

कर्मचारीहरुले घिसिङलाई बुद्धको मुर्ती उपहार समेत दिएका छन् । विदाई कार्यक्रममा बोल्दै घिसिङले सबैको जोडवल र सहयोगका कारण लोडसेडिङको अन्त्य हुनुको साथै प्राधिकरण समेत नाफामा जान सफल भएको बताए । कर्मचारीले प्राधिकरणमा रातको १०÷१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको बताए । प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो नेपाल अभियान’ बाट जनताले नियमित विद्युत आपूर्ति पाउनुको साथै प्राधिकरणको प्रशासनिक तथा वित्तीय सुधार पनि भएको उनको भनाई थियो । ऋणात्मक रहेका प्राधिकरणका वित्तीय सूचकांकहरु धनात्मक बनेको उनले बताए ।

उनले आफुले जिम्मेबारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुद नाफा कमाउन सफल भएको र त्यसपछिका वर्षहरुमा नाफाको ग्राफ उकालो लाग्दै गएको बताए । ‘दोश्रो वर्ष २ अर्व ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमायो, चौथो वषमा नाफा बढेर ११ अर्व ५ करोड रुपैयाँ पुगेको छ’, उनले भने । कुनै वेला कर्मचारीलाई तलब खुवाउन पनि सरकारको मुख ताक्नु पर्ने अवस्थामा पुगेको प्राधिकरण संचालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेर गौरबपूर्ण इतिहास बनाउन सफल भएको छ । चालु आवको वजेटमा प्राधिकरणको नाफा ११ अर्वभन्दा बढी रहने प्रक्षेपन गरिएको छ ।

यसैगरि लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि संचालन गरिएको अभियानबाट प्रसारण तथा वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटेको उनले बताए । ‘४ वर्षअघि प्रणालीमा रहेको २५।७८ प्रतिशत विद्युत चुहावटलाई घटाएर अहिले १५।२७ प्रतिशतमा झारिएको छ’, उनले भने, ‘देशभरका करिव ८६ प्रतिशत जनताले ग्रीडको विद्युतमा पहुँच पाएका छन् । अफ ग्रीडसहित करिब ९० प्रतिशत जनताले विद्युत उर्जामा पहँुच प्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १३०।७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको छ ।’ यसैगरि भूमिगत तार विछ्याई काठमाडौ उपत्यकालाई तार र पोलरहित वनाउन, स्मार्ट मिटर जडान गर्ने, ग्रीडलाई स्वचालित गर्ने आदि कार्यको थालनी भएको उनले बताए । डिजिटल एनईए बनाउने कार्यको लागि आवश्यक प्रकृया सुरु भैसकेको उनको भनाई छ ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए । चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए । कुलमानको चार वर्षे कार्यकाल सकिएपनि सरकारले नयाँ कार्यकारी निर्देशक चयन गरेको छैन ।

घिसिङलाई नै पुनः कार्यकारी निर्देशक बनाउन जनदबाब बढिरहेपनि प्रधानमन्त्री केपी शर्मा ओली घिसिङ प्रति सकरात्मक छैनन् । नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठले भने सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कुलमानको योगदान अझै आवश्यक भएकाले उनको पुननियुक्ति हुने विश्वास व्यक्त गरेका छन् । सर्वसाधारणले पनि कुलमान पुन दोहोरिनु पर्ने पक्षमा जोड दिएका छन् । सामाजिक सञ्जालमा समेत कुलमानको प्रसंशा गरिदै आएको छ । कुलमान पुन नियुक्ति गर्नु पर्छ भन्दै कलाकारहरुले पनि दवाव दिँदै आएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्