Techie IT
१५ माघ २०७८, शनिबार

लिपुलेकबारे भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति र नेपाल सरकारको मौनता आपत्तिजनक : विवेकशिल साझा


काठमाडौं । विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै दिएको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति गम्भीर आपत्ति जनाएको छ ।

विवेकसिल साझा पार्टीक प्रवक्ता शरदराज पाठकले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मोदीको अभिव्यक्तिप्रति नेपाल सरकारको मौनता आपत्तिजनक भएको बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन् ‘‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ।’’

कूटनीति नि:सन्देह आवेग र उत्तेजनाको विषय नभइ अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि लगातार ठाडो हस्तक्षेप गर्ने भारतको मिचाहा प्रवृत्ति पुनरावृत्त भएको भन्दै नेपाल सरकारले समयमै आवश्यक प्रतिवाद गर्न नसके त्यसको दूरगामी असर मुलुकले भोग्नुपर्ने विवेकशिल साझाले जनाएको छ ।

नेपाली भू-भागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य नहुने भन्दै नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टीले सरकारलाई आग्रह गरेको छ ।

 

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्