Techie IT
१२ असार २०७९, आईतबार

बाढीपहिरा प्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविष्य कोष’


काठमाण्डौ, भदौ ३०

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ बोबाङका बाढीपहिरा प्रभावित बालबालिकाका लागि ‘शिक्षा तथा भविष्य कोष‘’ स्थापना गरिने भएको छ । बागलुङ र गलकोट नगरपालिका तथा काठेखोला गाउँपालिकाका स्वयंसेवी पाँच महिलाको आर्थिक सहयोगमा सो कोष स्थापना गर्न लागिएको हो ।

ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप राहत कोषअन्र्तगत रहने गरी सो कोष स्थापनाका लागि ती महिलाले रु २ लाख ५६ हजार ९ सय ३१ सहयोग गरेका छन् ।उक्त कोषको ब्याजबाट बाढीपहिरोमा परी अभिभावक गुमाएका बालबालिकाको शिक्षा र भविष्यमा सीप तथा रोजगारीका लागि खर्च गरिने राससले जनाएको छ।

जिल्लाको गल्कोट नगरपालिका–८ की पार्वती हितान, काठेखोला गाउँपालिका–२ की इन्द्रकुमारी काउचा, सोही गाउँपालिका–३ की सावित्री खड्का, बागलुङ नगरपालिका–१ की जमुना थापा र सोही नगरपालिका–१३ की यशोदा शर्माले सो कोष स्थापनाका लागि उक्त रकम सहयोग गरेका हुन् ।

उनीहरुकै आग्रहमा नगरपालिकाले ‘बालबालिकाका लागि शिक्षा तथा भविष्य कोष’ स्थापना गर्न लागेको हो । यो कोषले पीडित बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्ने नगर उपप्रमुख करमती पुनले बताइन् ।

ढोरपाटनका बाढीपहिरा पीडित महिला तथा बालबालिकाका लागि ती महिलाले जिन्सी सामग्री सङ्कलन गरी वितरणसमेत गरेका छन् । वितरण गरिएका सामग्रीमा महिलाका लागि लुङ्गी एक सय थान, पेटीकोट एक सय थान, टि–सर्ट एक सय थान, भित्रीवस्त्र ९÷९ दर्जन, च्यादर ८० थान, प्याड २ बन्डल, किशोरीका लागि सुरुवाल ४० थान, चप्पल १०४ थान, टि–सर्ट ४० थान, भित्रीवस्त्र ३ दर्जन ४ थान, सेन्डो ३ दर्जन, स्यानिटरी प्याड ४० थान, बेलुन चप्पल ३१ थान र बालबालिकाका लागि कपडा ३१ थान, टोपी २७ थान, बिस्कुट ५ दर्जन, चकलेट २ पोका र नौ महिने शिशुका लागि ब्लाङ्केट एक थान, खेलौना ३५ थानलगायत छन् । ती सामग्रीको मूल्य रु २ लाख ४४ हजार ८ सय रहेको बताइएको छ ।

मृत्यु भएकाको परिवारलाई काजकिरिया खर्च;

बागलुङको जैमिनी नगरपालिकाले पहिरामा परी मृत्यु भएकाको परिवारलाई रु २५÷२५ हजार काजकिरिया खर्च उपलव्ध गराएको छ ।गत आइतबार र सोमबार वर्षासँगै आएको पहिरामा परी मृत्यु भएका तीन जनाको परिवारलाई रु २५ हजारका दरले काजकिरिया खर्च उपलव्ध गराएको नगरपालिकाले जनाएको छ ।

पहिरोमा परी मृत्यु भएका जैमिनी नगरपालिका–१ कुश्मीशेरा टुनीबोटकी लक्ष्मीपौडेल र हरिकृष्ण पौडेल तथा वडा नं ५ की जालपादेवी पौडेलको परिवारलाई तत्कालै किरिया खर्चबापत सो रकम उपलव्ध गराएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।

“तत्कालको समस्या समाधान गर्नु हाम्रो दायित्व हो, मृत्यु संस्कार पूरा गर्नका लागि स्थानीय सरकारले सो रकम सहयोग गरेको छ”, उनले भने, “बाँकी राहत र पुर्नस्थापनाका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्छौं ।”

मृतकको परिवारलाई घटनास्थलमै पुगेर नगदै प्रदान गरिएको नगरप्रमुख पौडेलले बताए । दुई दिनको निरन्तर पहिराले जैमिनीमा आठ घर पुरिएका छन् भने ३४ घर उच्च जोखिममा छन् । घर पुरिएपछि टुनीबोटका २५ जनालाई आफन्तको घरमा राखिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्