Techie IT
५ असार २०७८, शनिबार

श्रीनगर सांस्कृतिक डबली बन्दै


काठमाण्डौ, भदौ ३०

पाल्पाको तानसेन नगरपालिका-५ कैलाशनगरमा श्रीनगर सांस्कृतिक डबली बन्दै गरेको छ । पाल्पाको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ डबली निर्माण भइरहेको तानसेन वन कार्यालयका रेन्जर यमलाल पोखरेलले बताए । “डबली निर्माण भएपछि पाल्पाका सांस्कृतिक विशेषताहरु झल्को दिने जात्रा, मेलामहोत्सव, नाचगानसमेत यहाँको डबलीबाट प्रदर्शन हुनेछ”, उनले भने ।

डबली ५०० मानिस अट्ने क्षमताको हुनेछ । पाल्पा कला, संस्कृतिको धनी जिल्ला हो । पाल्पामा आधाभन्दा बढी मगर जाति बस्ती छ । तानसेनमा नेवार समुदायको बाक्लो बस्ती पनि छ ।

पाल्पामा अधिकांश जनजातिको बाहुल्यता रहेको र उनीहरुले कला, संस्कृति प्रदर्शन गरिरहेका हुन्छन् । अब पाल्पाका सबै संस्कृति यही डबलीबाट प्रदर्शन हुने स्थानीयवासीको दाबी छ । यस डबलीको सभाहलमा औपचारिक कार्यक्रम सञ्चालनले यस क्षेत्रमा थप चहलपहल ल्याउनेछ । तानसेनको पर्यटकीय क्षेत्र रानीमहल र श्रीनगर यही हुँदै जान सकिन्छ ।

बन्दाबन्दीको अवस्थामा आयोजनाको काम धमाधम भइरहँदा सम्झौता अवधिमा नै काम सम्पन्न हुने रेन्जर पोखरेलले बताए । प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँका साइट इन्जिनीयर रोशन विष्टले ६५ प्रतिशत आयोजनाको काम पूरा भएको बताए । डबलीका लागि टिकट काउन्टरका लागि भवन, सभाहल, शौचालयलगायत काम भइरहेको इन्जिनीयर बिष्टले बताए ।

विसं २०७६ असार ८ गते सम्झौता भई असार १५ गतेदेखि आयोजनाको काम शुरुआत भएको थियो । डबली निर्माणका लागि प्रदेश नं ५ को रु सात करोड १६ लाख ९६ हजार ७८९ को लागत अनुमान बजेट रहेको छ ।

निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले रु ६ करोड ८२ लाख ५६ हजार ९१ बजेटमा काम शुरुआत भएको थियो । विसं २०७८ असार ७ गते सम्पन्न गर्ने सम्झौता निर्माण कम्पनी गरेको छ ।

तानसेन नगरपालिकाको कैलाशनगरमा निर्माणाधीन डबलीले यस क्षेत्रमा नै चहलपहल ल्याउने भएपछि स्थानीय बासिन्दा उत्साहित देखिएका छन् ।

स्थानीय बासिन्दा राजेन्द्र लिगलका अनुसार डबली सञ्चालनमा आएपछि पाल्पाको कला, संस्कृतिको संरक्षण तथा पर्यटक प्रवद्र्धनमा सहयोग पुग्नेछ । रोजगारीका अवसरहरु सिर्जना हुने र कला, संस्कृतिको प्रदर्शनीका कारण यस क्षेत्रमा नै पर्यटकको आगमनमा वृद्धि हुने लिगलको दाबी छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्