छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

काठमाडौं, भदौ ३०
महोत्तरी, सुर्खेत, सुनसरी, कैलाली र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका-९ महरापुलस्थित सडकमा ना.८ ख ५३९५ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीया मोकिमा खातुनको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिराटनगर न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ दैलेख र सुर्खेतको सिमानास्थित रातानाङ्लामा ना.४ ख ७७५५ नम्बरको ट्रक अनियन्त्रित भई सडकदेखि करिब २ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा ट्रक चालक चितवन खैरेनी नगरपालिका-१२ बस्ने ३५ वर्षीय ईश्वर बर्तौलाको घटनास्थलमै मृत्यु भएको छ ।
सुनसरीको दुहबी नगरपालिका-३ फुटानीचोकस्थित कोशी राजमार्गमा ज.१ च १९३२ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्री मोरङ सुन्दरहरैंचा नगरपालिका-१२ बस्ने ४५ वर्षीय टिकाराम श्रेष्ठको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका-६ कटौतीस्थित पूर्वपश्चिम राजमार्गमा ०१००८ प ६७३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया कमला देवी रोकायाको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको दुधौली नगरपालिका-७ सुगारेस्थित मदन भण्डारी राजमार्गमा लु.५८ प २६३८ अस्थाई नम्बरको मोटरसाइकल र एक साईकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सुनसरी ईटहरी घर भएका २६ वर्षीय यादव ढुङ्गानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिराहाको फुलकुमारी अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका साईकलयात्री सिन्धुली दुधौली नगरपालिका-७ सुगारे बस्ने २३ वर्षीय रासलाल अधिकारीको कटारी अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालकलाई सामन्य उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको कमेन्ट लेख्नुहोस्