Techie IT
१७ असार २०७९, शुक्रबार

ढोरपाटनका बाढी प्रभावितलाई सोलार


बागलुङ, भदौ ३०
ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १२६ थान घरेलु सौर्य ऊर्जा प्रणाली (सोलार) प्रदान गरिएको छ । सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सौर्य विद्युत् उत्पादक सङ्घका सदस्य केशवराज शर्माले संयुक्तरूपमा सोलार हस्तान्तरण गरेका हुन् ।

सासंद पाठकको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ३२, ढोरपाटन दैनिकले १५, कुलायन ब्याट्री इन्डष्ट्रिज र टपसन इनर्जी प्रा.लि.ले १०/१० थान सोलार उपलब्ध गराएको सङ्घका सदस्य शर्माले जानकारी दिए । क्वालिटी रिन्युएवल इनर्जी, एक्सन एक्टिभ इनर्जी, सनवे इनर्जी, ब्राइट भिजन इनर्जी, सिआरसी नेपाल, सफा ऊर्जा, सनसेफ सोलार एण्ड इन्भेष्टमेन्ट, स्काइ इनर्जी, ड्रिम इनर्जी, एजी पावर सप्लायर्स, दीपलाइट इनर्जी र स्मार्ट सोलार कम्पनीले पाँच/पाँच थान सोलार सहयोग गरेका हुन् ।

यस्तै ज्योति इनर्जी र सौर्य इनर्जी प्रालिबाट दुई/दुई थान सोलार सहयोग आएको हो । बाढी प्रभावितका लागि सोलार जुटाउन ढोरपाटन दैनिकले संयोजन गरेको थियो । नगरप्रमुख देवकुमार नेपाली, वडा नं. ९ का अध्यक्ष हरिबहादुर घर्ती र वडा नं. ८ का अध्यक्ष नन्दे सुनारले सोलार बुझेका थिए ।

सो अवसरमा सांसद पाठकले बाढीग्रस्त क्षेत्रमा तत्कालको आवश्यकता बिजुली भएकाले सोलार सहयोग गरिएको बताए । “तपाइँहरुको दुःखमा हामी पनि छौँ भनेर ऐक्यबद्धता जनाउन यहाँ आएका हौँ”, सांसद पाठकले भने । उनले बाढीबाट क्षति पुगेका घर, सडक, लघुजलविद्युत् अयोजनालगायत भौतिक संरचनाको पुनःनिर्माणमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

ढोरपाटन दैनिकका सम्पादक गौतमले झण्डै रु. १७ लाख बराबरका सोलार सेट सहयोग गरिएको बताए । “२० वाटको प्यानल, २० एम्पिएरको ब्याट्रीसहित सेटमा चाहिने सबै सामग्री छ”, उनले रासससँग भने । बीस वाट क्षमताको सोलारबाट तीनदेखि पाँचवटासम्म बत्ती बाल्न मिल्ने जनाइएको छ ।

नगरप्रमुख नेपालीले अहिले बाढी प्रभावित परिवार बसेको ठाउँमा अस्थायीरूपमा सोलार जडान गरिने र पुनःनिर्माणपछि नयाँ घरमा सारिने बताए । उनले अन्धकारमा बसेका जनसाधारणलाई सोलारबाट ठूलो राहत मिल्ने बताए । यही भदौ १७ गते भूजीखोलामा आएको बाढीले ढोरपाटनका ११ वटा लघुजलविद्यत् आयोजनामा क्षति पुर्याएको छ । बिजुली अभावमा मोबाइल टावरसमेत बन्द हुँदा सञ्चार सेवा पनि बिच्छेद छ ।

वडाध्यक्ष घर्तीले ढोरपाटन क्षेत्रमा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार गर्नुपर्ने बताए । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु-याएको छ । बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १५ अझै बेपत्ता छन् । बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि देश–विदेशबाट सहयोग जुट्ने क्रम जारी छ । हालसम्म झण्डै ६५ लाख नगद राहत उठेको नगरपालिकाले जनाएको छ । लाखौँ मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका सहायता सामग्री सङ्कलन र वितरण भइरहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार