Techie IT
५ असार २०७८, शनिबार

आमाबाबुको मृत्यु भएका चार टुहुरालाई सहयोग


दोलखा, भदौ ३०
सानैमा अभिभावक गुमाएर बिचल्ली बनेका दोलखाका चार जना टुहुरा बालबालिकालाई सहयोगको रकम जुट्न थालेको छ । एक वर्षअगाडि बैंकको ऋण तिर्न नसकेर बाबुले आत्महत्या गरेपछि आमासँग बस्दै आएका चार बालबालिकाहरु उपचारको क्रममा गत भदौ १७ गते आमाको पनि मृत्यु भएपछि बिचल्नीमा परेका छन् । उनीहरु बिचल्लीमा परेको समाचार प्रकाशित भएपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्नथालेको छ ।

करिब १० लाख रुपैयाँ ऋण लागेपछि दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १ कालिञ्चोकका गणेश थामीले एक वर्षअगाडि आत्महत्या गरेका थिए । श्रीमानको मृत्युपछि उनकी श्रीमती अमृति थामीले आफ्ना चार जना छोराछोरी चरीकोट सदरमुकामको एक होटलमा काम गरेर पालनपोषण गर्दै आएकी थिइन् । श्रीमती अमृतिको पनि गएको १७ गते सामुदायिक अस्पताल चरीकोटमा मृत्यु भएपछि पत्रकार गोकर्णप्रसाद भण्डारीले बालबालिकाको सहयोगका लागि सामाजिक सञ्जालमार्फत अपिल गरेका थिए ।

अपिलपछि विभिन्न व्यक्तिहरुले बालबालिकाको सहयोगका लागि रकमहरु पठाइरहेको भण्डारीले बताए । उनीहरुलाई सहयोगका लागि आएको रकम बालबालिका नै नाममा संयुक्त ग्लोबल आईएमई बैंक चरीकोट शाखामा खाता खोलेर जम्मा गरिदिएको उनले बताए । यसैक्रममा थामी परिवारले भूकम्पपीडितको घर निर्माणका लागि लिएको मेगा बैंक चरीकोट शाखाको एक लाख तीन हजार पाँच सय रुपैयाँ नेपाली कांग्रेसका युवा नेता तथा व्यवसायी प्रभुराम श्रेष्ठले भुक्तानी गरिदिएका छन् ।

श्रेष्ठले बालबालिकाको भविष्य हेरेर मेगा बैंकले थामी परिवारको जग्गा लिलाम नगरोस् भनी आमाबाबु गुमाएका बालबालिकालाई हौसला प्रदान गर्न पनि ऋण चुक्ता गरिदिएको बताए । बालबालिकाको पठनपाठनको जिम्मा एसओएस बालग्राम बनेपाले लिएको छ । बालबालिकालाई विभिन्न क्षेत्रका व्यक्तिहरुले समेत सहयोग गरिरहेका छन् ।

अमेरिकामा रहेका नेपाली कांग्रेस दोलखाका नेता सानु शेर्पाको अगुवाइमा पनि एक लाख ५१ हजार एक सय ९० रुपैयाँ उनीहरुलाई पठाइएको छ । त्यसैगरी राप्रपाका केन्द्रीय सदस्य सोभित उप्रेतीले पनि २५ हजार रकम सहयोग गरेका छन्् । बालबालिकालाई दोलखा भीनपा १ सुस्पाक्षमावतीका अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत उज्ज्वल शिवाकोटीले १० हजार सहयोग गरेका छन् ।

दोलखाका अन्य विभिन्न व्यक्तिहरुले पनि बालबालिकाको खातामा सहयोग गर्ने क्रम जारी रहेको छ । दोलखामा घर भई परदेशमा रोजगारीको सिलसिलामा गएका नेपालीहरुले पनि ७५ हजार सहयोग गरेका छन् । त्यसैगरी अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने वीरगञ्ज उपमहानगर पालिका वडा नम्बर १८ बिसुवाका अमित रिजालले २५ हजार, दोलखाका समाजसेवी कर्मा शेर्पाले पाँच हजार र अन्य विभिन्न व्यक्तिहरुले दिएको ५७ हजार पाँच सय रुपैयाँ ग्लोबल आईएमई चरीकोट शाखामा जम्मा गरिएको भण्डारीले बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्