Techie IT
१५ माघ २०७८, शनिबार

‘नक्कली अपहरणको नाटकले आफैँ प्रहरीको फन्दामा’


बाँके, भदौ ३०
अपहरणको नाटक गर्दा बाँकेमा एकजना महिला प्रहरीको फन्दामा परेकी छिन् । बर्दिया ठाकुरबाबा नगरपालिका –४ मैनवाकी ती महिलाले रचेको एउटा नाटकले आफैँ प्रहरी फन्दा फसेकी हुन् । नेपालगञ्ज उपमहानगरपालिका –६ फुल्टेक्रामा भाडामा बस्ने ती ३३ वर्षीया आशिककुमारी चौधरी अपहरणको नाटक गरी झुटो अफवाह फैलाएको आरोपमा प्रहरी हिरासत पुगेकी छन् ।

प्रहरीका अनुसार, सानु दहितको नामबाट अर्कैको फोटो राखी फेक आईडीबाट ‘लभको चक्कर’ चलाएपछि त्यसबाट बच्न उनले अपहरणको नाटक गरेकी हुन् । दुई सन्तानकी आमा चौधरीले सानु दहितको नाममा प्रोफाइलमा सुन्दर युवतीको तस्बिर राखेर फेसबुक आईडी बनाइन् । केही दिनपछि उनको फेसबुकमा नवलपरासीका एक जना युवा जोडिएपछि च्याटमा रोमान्चक गफ सुरु भयो ।

यो क्रम निरन्तर चल्दै गएपछि फेसबुक हुँदै मोबाइल फोनमा पनि निरन्तर कुरा हुन थाल्यो । केटीप्रति केटाको लगाव बढ्दै गयो । केटाले भिडियो कल गरौँ भन्दा केटीले आनाकानी गर्दै टारिरहिन् । किनकि, उनी फेसबुकको प्रोफाइलमा रहेको फोटोजस्तो सुन्दर थिइनन् । फोनमा भेट्ने कुरा भयो । केटीले पोखरामा पनि आफ्नो घर रहेको बताइन् ।

नेपालगञ्जमा व्यापार व्यवसाय गरेको फुर्ती लगाइरहिन् । केटा अझ आकर्षित हुँदै गए । भेट्ने कर गर्न थाले । केटी पनि राजी भइन् र भनिन्, ‘म आफ्नै गाडीमा पोखराको घरमा जाने तयारीमा छु । त्यही बेलामा बाटोमा भेटौँला र पोखरासँगै जाम्ला ।’ फेसबुके प्रेमीसँग रोमान्स गर्ने सपना देखेका केटाले छिटो आउन कर गरिरहे । यो या त्यो बहानामा केटीले टारिरहिन् । यहीक्रम चलिरहेको थियो । केटाको धैर्यताको बाँध टुटिसकेको थियो । उनले नेपालगञ्ज भए पनि भेट्न आउने बताएपछि अशिकाले पोखराको लागि नेपालगञ्जबाट हिँडेको बताइन् । उनले चन्द्रौटामा पुगेपछि पैसा, गहना, मोबाइल चोरी भएको र आफू अपहरणमा परेको नवलपरासीका केटालाई बताइन् ।

प्रहरीलाई फोन गरिन्, ‘म शौचालयमा छु । चार जनाले मलाई अपहरण गरेका छन् । अर्को ठाउँमा लैजाने कुरा गर्दै छन् । मलाई उद्धार गर्नु प¥यो ।’ घटना यही भदौ २६ गतेको हो । युवती अपहरणमा परेको बाँके प्रहरी, प्रदेशका डीआइजी हुँदै कुरा हेडक्वाटरसम्म पुग्यो । जिल्ला र प्रदेश मात्रै होइन, पूरै हेडक्वाटर नै परिचालन भयो । फोनको लोकेसन ट्रेकिङ गर्दा नेपालगञ्ज नै देखाइरहेको थियो । यसले प्रहरीलाई अझ तनाब बढ्यो । प्रहरीले भोलिपल्ट २७ गते नेपालगञ्जको फुल्टेक्रामा उनलाई आफ्नै डेरामा भेट्टायो । बर्दियाबाट नेपालगञ्ज आएर फुल्टेक्रास्थित शान्ति चौधरीको घरमा डेरमा बसेकी ३३ वर्षकी आशिककुमारी चौधरीले रचेको नाटक हो यो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर–४ मैनवा बस्ने उनको शिक्षा साधारण लेखपढ हो । उनको यो नाटकले बाँके प्रहरी, प्रदेश डीआईजी हुँदै प्रहरी हेडक्वाटरसम्मकाले सास्ती भोग्नु प¥यो । बाँके प्रहरीले फेला पारेको आशिकालाई केरकार गर्दा उनले केटाले भेट्न कर गरेपछि आफूले नाटक रचेको बताइन् । आशिकाले अरुकै तस्बिर राखेर फेसबुक आईडी बनाएको र त्यही फेसबुकको प्रोफाइलमा रहेको युवतीप्रति आकर्षित भएका नवलपरासीका युवाबाट बच्न यस्तो नाटक गरेको तथ्य खुल्यो । उनले यस्तो नाटक रच्नुको पछाडि फेसबुकको प्रोफाइलमा रहेको युवती र उनी फरक थिइन् ।

श्रीमानसँगै बस्दै आएकी आशिकनको यो नाटकबारे उनका श्रीमान् बेखबर थिए । जब प्रहरीले आशिकालाई नियन्त्रणमा लिएर गयो बल्ल उनले थाहा पाए । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले आइतबार पत्रकार सम्मेलन गरेर यो घटना बाहिर ल्याएका हुन् । उनीमाथि प्रहरीले झुटो मुद्दा र गलत सूचना प्रवाह गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रमुख एसपी रानाले अनुसन्धानका क्रममा ती महिलाले फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागि नाटक गरेको भनी स्वीकार गरेको र ती युवाले भेटघाट गर्नुपर्ने बाध्यता पारेपछि आफू अपहरणमा परेको नाटक गरेको चौधरीले खुलाएको बताए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्