Techie IT
१५ माघ २०७८, शनिबार

‘पुँजीगत खर्च शतप्रतिशत हुन्छ’

सन्तोष जी.सी. लेखा अधिकृत छत्रकोट गाउँपालिका गुल्मी


आर्थिक र सामाजिक विकासलाई विशेष महत्व दिने सन्तोष जिसी छत्रकोट गाउँपालिका गुल्मीका लेखा अधिकृत हुन् । अधिकृत सन्तोष जिसीसँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

छत्रकोट गाउँपालिकामा संघीयता कार्यान्वयनको बितेको चार वर्षमा के–कस्तो परिवर्तन भएको छ ?

संघीयता कार्यान्वयनको मूल जग नै स्थानीय सरकार हो । यस गाउँपालिकाले आफ्नो स्रोत र साधनको उच्चतम प्रयोग गर्दै विगत चार वर्षमा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको विकासमा उल्लेख्य प्रगति हासिल गरेको छ ।

के यो चार वर्षको विकासमा जनताले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन् ?

स्थानीय सरकार आएपछि यस क्षत्रकोट गाउँपालिकामा विकासको लहर आएको छ । हरेक आर्थिक वर्ष विशेष रुपमा मनाउँदै आएका छौँ । सोहीअनुसार ‘पानी वर्ष’मा खानेपानीको विस्तार, ‘सडक वर्ष’मा सडक विस्तार र सुधार, ‘कृषि वर्ष’मा कृषकलक्षित कार्यक्रम र कृषक पेन्सन व्यवस्था र यस आर्थिक वर्षलाई ‘युवा वर्ष’को रूपमा मनाउँदै युवालक्षित कार्यक्रम गर्र्दै छौँ । तसर्थ स्थानीय सरकार आएपछि छत्रकोटका जनताहरूले विकासको सुखद अनुभूत गरेका छन् ।

गत आर्थिक वर्षमा चालू र पुँजीगत बजेटखर्चको अवस्था कस्तो रह्यो ?

गत आर्थिक वर्षमा चालूतर्फ ८१ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ ६१ दशमलव २५ प्रतिशत भएको छ । कुल बजेटको ७३ दशमलव ३५ प्रतिशत खर्च भएको थियो ।

शतप्रतिशत बजेट खर्च हुन नसक्नुका कारणहरू के–के हुन् ?

कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भई वैशाखको मध्यबाट जारी बन्दाबन्दीको कारण निर्माण सामग्री र श्रमिकको अभावले गर्दा योजनाहरू प्रभावित हुनजाँदा समयमै योजना सम्पन्न हुन सकेनन् ।

चालू आर्थिक वर्षमा कति बजेटमा के–कस्ता विकासका संवाहकहरूमा बजेट विनियोजन भएको छ ?

चालू आर्थिक वर्षमा ५६ करोड ६१ लाख ७७ हजार छ सय ९० रुपैयाँ बजेटमध्ये आर्थिक विकासको क्षेत्रमा चार करोड ९८ लाख ९५ हजार रुपैयाँ, सामाजिक विकासको क्षेत्रमा २८ करोड ३७ लाख ४५ हजार चार सय ६५ रुपैयाँ, पूर्वाधार विकासको क्षेत्रमा १४ करोड ४४ लाख ११ हजार सात सय ७५ रुपौयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा आठ करोड ८१ लाख २५ हजार चार सय ५० रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्राथमिकताका क्षेत्रहरू कुन–कुन हुन् र ती क्षेत्रहरूमा कार्यसम्पादनको प्रगति अवस्था कस्तो छ ?

प्राथमिकताका क्षेत्रहरू मुख्यतयः आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रहरू रहेका छन् ।

हालसम्म कति योजनाहरू कार्यान्वयनमा आए र बाँकी योजना कार्यान्वयनमा आउन नसक्नुको कारण के हो र कहिलेसम्म आउँछन् ?

यस गाउँपालिकामा हालसम्म ९० प्रतिशतभन्दा बढी योजनाहरू कार्यान्वयनमा आए ।

चालू आवको निर्धारित समयमै सम्पूर्ण पुँजीगततर्फको बजेट खर्च हुने सम्भावना कत्तिको हुन्छ ?

ठूला योजनाहरू टेन्डर प्रक्रियामा गइसके र केही योजनाहरू टेन्डर प्रक्रियामा जाने प्रक्रियामा छन् । केही योजनाहरू उपभोक्ता समितिसँग सम्झौता भई निर्माणकार्य भइरहेका छन् । धेरै योजनाहरू सम्झौता भइसकेका छन् । केही साना योजनाहरू सम्झौता हुन बाँकी छन् । बाँकी रहेका योजनाहरू सम्झौताको प्रक्रियामा छन् । साथै पहिलो चौमासिकमा पुुँजीगततर्फको खर्च १६ दशलमव ६८ प्रतिशत खर्च भइसकेको हुँदा पुँजीगततर्फको खर्च शतप्रतिशत हुने सम्भावना छ ।

गाउँपालिकामा आन्तरिक आम्दानीको अवस्था कस्तो छ ?

गाउँपालिकाले आफ्नो अधिकारक्षेत्रभित्र रहेर आन्तरिक आम्दानी वृद्धिका लागि दर तथा दायरामा वृद्धि गर्न समयसापेक्ष र न्यायोचित रूपमा कर तथा राजस्वका दायरा फराकिलो बनाउने योजनाहरू निर्माण गर्दै गाउँपालिकाको आन्तरिक आम्दानी विगत चार वर्षको तुलनामा क्रमशः वृद्धि हुँदै गएको छ ।

व्यावसायिक कृषिमा गाउँपालिकाले कस्तो रणनीति अवलम्बन गरेको छ ?

व्यावसायिक कृषिमा गाउँपालिकाले ‘कृषि ब्लक’ तथा ‘पकेट क्षेत्र’को विकास र विस्तार गरेको छ ।

समृद्ध छत्रकोट निर्माणको भावी रणनीति कस्तो छ ?

आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रहरूलगायतको तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चितता, उत्पादन, उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, कृषिमा व्यावसायिकीकरण यान्त्रिकीकरण र बजारीकरण, समाजिक समानता कायम, शासकीय सुधार र सुशासन कायम गर्दै आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रहरूको विकास नै समृद्ध छत्रकोट निर्माण गर्ने भावी रणनीति हुन् । कुनै पनि क्षेत्रको विकास त्यस्तो हुनुपर्छ जुन क्षेत्रको विकासले दीर्घकालीन समयसम्म फाइदा पुगोस् । योजना सम्पन्न भएको एक/दुई वर्षमै त्यही योजनामा बजेट खर्च गर्नुपर्छ भने त्यस्ता योजनाहरूमा लगानी खन्याउनु बालुवामा पानी खन्याउनुबराबर हो । (आर्थिक देनिकबाट)


क्याटेगोरी : अन्तर्वार्ता


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार