Techie IT
बुधबार, असोज १४,२०७७

‘यो वर्ष अधिकांश योजनाहरू निष्कर्षमा पुग्दछन्’

रामबहादुर कार्की अध्यक्ष, रैनादेवी छहरा गाउँपालिका, पाल्पा


रामबहादुर कार्की रैनादेवी छहरा गाउँपालिका पाल्पाका अध्यक्ष हुन् । शैक्षिक पेसाबाट राजनीतिमा प्रवेश गरेका कार्की २०३६ सालको निर्दल बहुदलको चुनावमा युवाको रूपमा भूमिका निर्वाह गर्दै राजनीतिक यात्रा सुरु गरेका थिए । २०४६/४७ सालको जनआन्दोलनमा समेत सकृय भूमिका निर्वाह गरेका कार्की २०४८ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका थिए ।

२०६० सालमा शैक्षिक पेसाबाट अवकास लिएपछि पूर्णरूपमा आफूलाई राजनीतिमा समाहित गर्दै निरन्तर राजनीतिक संघर्ष गरेका कार्की जिल्ला कार्य समिति सदस्य हुँदै १२औँ र १३औँ महाधिवेशनमा तत्कालीन पाल्पा क्षेत्र नं. ३ को क्षेत्रीय सभापति बन्न सफल भएका थिए । पाल्पा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिको हुन् । समृद्ध रैनादेवी छहरा गाउँपालिका निर्माणमा समन्वय र सहकार्यका साथ निरन्तर लागिपरेका अध्यक्ष रामबहादुर कार्कीसँग जनमञ्च साप्ताहिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीः

पाल्पाका अन्य स्थानीय तहभन्दा रैनादेवी छहराको बेरुजु बढी आएको छ, यसको कारण के होला ?

हो, महालेखा परीक्षकको ५७औँ वार्षिक प्रतिवेदनले गाउँपालिकाको साढे नौँ करोड रूपैयाँभन्दा बढी बेरुजु देखाएको छ । महालेखाले देखाएको सम्पूर्ण बेरुजु सैदान्तिक बेरुजु हो । त्यसमा २१ लाख रूपैयाँ जति अशुल गर्ने भनेर देखाएको छ । शिक्षकहरूलाई पीसीएफबाट तलब खुवाउँदा अशुल गर्नुपर्ने बेरुजु देखिएको छ । सडक निर्माणमा डोजरको प्रयोग भयो भन्दै डोजर प्रयोग भएका केही सडकहरूको पनि बेरुजु देखाएको छ । खरिद गर्न नमिल्ने सामान खरिद गरेको, हिसाबकिताब फरक परेको लगायतका कुराहरूमा बेरुजु देखाएको छ ।

कर्मचारी र जनप्रतिनिधिको नाममा बेरुजु देखिएको छैन ?

जनप्रतिनिधिको नाममा एक रूपैयाँ पनि बेरुजु देखिएको छैन । कर्मचारीहरूको नाममा पेश्कीबापत लिएको रकमलाई बेरुजु देखाएको छ । अन्य कुनै पनि शीर्षकहरूमा कर्मचारी र जनप्रतिनिधिबाट अशुल गर्नुपर्ने भन्दै बेरुजु देखाएको छैन ।

गत आर्थिक वर्षमा बजेट खर्चको अवस्था कस्तो रह्यो ?

कोरोना भाइरसको संक्रमण त्रास र सरकारले गरेको लकडाउनका बाबजुत पनि हामीले करिब ८५ प्रतिशत जति बजेट खर्च गर्न सक्यौँ । आर्थिक वर्षको सुरुमा न्यूनतम ९५ प्रतिशत बजेट खर्चको लक्ष्य राखे पनि लकडाउनले उक्त लक्ष्य प्राप्तिमा बाधा उत्पन्न ग-यो ।

चालू आर्थिक वर्षका लागि कति बजेट विनियोजन भएको छ ?

चालू र पुँजीगत गरी ६० करोड रूपैयाँबराबरको अनुमानित बजेट विनियोजन भएको छ ।

बजेटले कुन–कुन क्षेत्रलाई प्राथमिकता दिएको छ ?

विशेष गरेर कृषिलाई बढी प्राथमिकता दिएको छ । कृषिसँगै स्वास्थ्य, शिक्षा, पिउने पानी, पूर्वाधार विकासलगायतका क्षेत्रहरूका योजनाहरू कार्यान्वयनमा ल्याउदै छौँ ।

विगतका वर्षहरूमा भन्दा कुनै फरक खालका योजनाहरू ल्याउनुभएको छ ?

छैन, विगतकै योजनाहरूले निरन्तरता दिएका छौँ । नयाँ खालका योजनाभन्दा पनि तत्काल पुराना योजनाहरूलाई निष्कर्षमा पु-याएर नयाँ खालका योजनाहरू ल्याउने नीतिअनुरूप सञ्चालित भएका छौँ ।

कृषि क्षेत्रको विकासको लागि के–कस्ता योजनाहरू ल्याउनुभएको छ ?

कृषि उत्पादकत्व र गुणात्मक वृद्धि गरी युवा जनशक्तिलाई कृषितर्फ आकर्षित गर्ने । विदेशबाट कोरोना संकटमा फर्केका युवाहरूलाई व्यावसायिक कृषितर्फ उन्मुख गर्ने । बाँझो जग्गा उपयोग गरी कृषि व्यवसाय गर्ने चाहनेको लागि जग्गा अनुदान कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गर्ने । कृषि प्रसारसम्बन्धी स्थानीय नीति, योजना, कानुन, मापदण्ड निर्धारण गरी त्यसको कार्यान्वयन र नियमन गर्ने । कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहायता, सीप विकास र सशक्तीकरण गर्ने । कृषि बीउबिजन, नश्ल सुधार, मल र औषधिहरूको आपूर्ति र नियमन गर्ने, कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण तथा विविधीकरण गरी गरी कृषि उत्पादनमा वृद्धि गर्दै कृषकको जीवनस्तर उकास्न कृषि अनुदान, हाते ट्याक्टर, कृषि उपज संकलन तथा बिक्री केन्द्रजस्ता कृषि पूर्वाधारको व्यवस्थापन गर्ने ।

विषादीको अत्यधिक प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक खेतीलाई प्रोत्साहित गर्ने । एभोकाडो, कीबी, अकबरे खुर्सानी, लप्सी, दाँते ओखर, टिमुर, आँप, लिची, कफीजस्ता वैकल्पिक जातका खेतीलाई प्रोत्साहन गर्नु साथै भइरहेका सुन्तलाजात तथा अन्य स्थानीय जातका खेतीलाई सम्भाव्यताका आधारमा अन्य वडामा पनि विस्तार गर्ने । साना सिञ्चाइका लागि पोखरी, कुलो निर्माण मर्मत, थोपा सिँचाइ, प्लाष्टिक पोखरीजस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने, तरकारी, दूध, फलफूल तथा मासुमा आत्मनिर्भर हुँदै निर्यात गर्ने र आयातलाई निरुत्साहित गर्ने, उन्नत जातका पशुपालनमार्फत पशुधनको आयमा वृद्धि गर्ने नीति अगींकार गर्ने, पशु व्यवसायको जोखिम कम गर्न पशु बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्नेलगायतका रहेका छन् ।

त्यस्तै वर्तमानको कृषि पकेट क्षेत्रलाई थप विकास गर्दै सम्भावनाका आधारमा पकेट क्षेत्र घोषणा गर्ने, अमिलो जातको बिरुवाको नर्सरी गाउँपालिको उत्पादन गर्ने । कफी, दालचिनी, मौरी, माछा, गोलभेडाजस्ता कृषि उपज पकेट क्षेत्रमाफर्त कृषि उत्पादनमा वृिद्ध गर्ने । कृषिलाई आधुनिकीकरण गर्ने क्रममा संघीय सरकार तथा प्रदेश सरकार सँग समन्वय र साझेदारीमा विउ प्रशोधन केन्द्र स्थापनाको लागि पहल गर्दै कृषकको कृषि उपजबाट उचित मूल्यप्राप्तिको लागि शीतगृह निर्माण कार्यको लागि सम्भाव्यता अध्ययन गरी सोहीअनुसार कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

बितेका तीन वर्षमा विकास निर्माणसम्बन्धी के–कस्ता कामहरू भए ?

काम त धेरै भएका छन् तर दीर्घकालीन महत्व बोक्ने योजनाहरू पूर्णरूपमा सम्पन्न हुन सकेका छैनन् । कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रहरूका सानाठूला धेरै योजनाहरू सम्पन्न भैसकेका छन् । यो वर्ष विशेष गरेर दीर्घकालीन महत्व बोकेका चारवटा क्षेत्रका योजनाहरू सम्पन्न गर्दै छौँ । जसले कार्यसम्पादनको प्रभावकारिता झल्काउनेमा हामी विश्वस्त छौँ । फुसरहित गाउँपालिका पनि यो वर्ष पूरा हुँदैछ । प्रशासनिक भवन निर्माणको कामले पनि यही वर्ष पूर्णता पाउनेछ । उज्यालो रैनादेवी छहरा योजनाले पनि यही वर्ष पूर्णता पाउनुको साथै स्वच्छ पिउने पानीअन्तर्गत एक घर एक धारा अवधारणाले पनि चालू आवमै पूर्णता पाउने हुँदा यो वर्ष गाउँपालिकाबासीको लागि धेरै खुशीका खबरहरू सुन्न पाउने अवसरको वर्षको रूपमा पनि लिएका छौँ ।

आर्थिक विकाससँग जोडिएका धार्मिक तथा पर्यटकीयलगायतका अन्य सम्भावनाहरूको अवस्था कस्तो छ ?

यो गाउँपालिका तराईको भू–भागसँग जोडिएको गाउँपालिका हो । यस क्षेत्रबाट सदरमुकाम तानसेन हुँदै तराईमा जानुभन्दा गाउँपालिकाबाट सिधै तराईको रूपन्देही जिल्ला जाँदा धेरै समयको बचत हुन्छ । तराईबाट आधा घण्टामै पहाडको चिसो र शान्त वातावरणमा आउन सकिने हुँदा सडक विस्तारलाई प्रथामिकता दिँदै पर्यटकीय स्थलहरूको निर्माण गरेर योजनाबद्धरूपमा अगाडि बढ्नसके पर्यटकीय गन्तव्यको साथै व्यापारिक दृष्टिकोणले यो गाउँपालिकालाई धेरै फाइदा हुने देखिन्छ । धेरै धार्मिक तथा पर्यटकीय महत्व बोकेका मन्दिरहरू पनि पर्यटकीय विकासका आधारहरू बनेका छन् ।

भारतको गोरखपुरसम्मको भू–भाग देखिने रैनादेवी मन्दिर क्षेत्र भएकोले मन्दिरलाई पर्यटकीय रूपमा विकास गरेर आम्दानीका स्रोतहरू बढाउन सक्ने आधार छ । चारैतिर हरियाली र रमणीय वातावरणमा अवस्थित गाउँपालिकाबाट हिमश्रृङ्खलाको मनोरम दृश्यको पनि अवलोकन गर्न सकिन्छ । वर्षेनी करोडौँको सुन्तला उत्पादन हुने हुँदा व्यवसायिक कृषि खेतीमा किसानहरूलाई उत्साहित गरेर कृषिमा लगानी गर्नसके कृषिबाट पनि यहाँका जनताको जीवनस्तर माथि उकास्न सकिने सम्भावनाहरू पर्याप्त मात्रामा रहेका छन् । त्यसैगरी वनजंगल, चुनढुङ्गा, नदिजन्य पदार्थबाट पनि गाउँपालिकाका आम्दानीका स्रोतहरू बढाउन सकिने आधारहरू हुन ।

कुल खेतीयोग्य जमीनमध्ये कतिजति जमीन बाँझो छ र किन ?

खतीयोग्य जमीनको अवस्थाको बारेमा भन्नुपर्दा भयावह छ । जुन कुरा भन्न पनि आफैँमा श्रमलाग्दो अवस्था छ । दिन/प्रतिदिन खेतीयोग्य जमीनहरू बाँझिने क्रम बढ्दो छ । भएको युवाशक्ति सबै बिदेशिएको छ । बचेका वृद्धवृद्धाहरूले जमीन जोत्नुपर्छ खेतीयोग्य जमीन बाँझो राखे श्राप लाग्छ भन्ने परम्पराले गर्दा कतिपय बाँझो रहने जमीन पनि हराभरा भएको देखिन्छ । यो कुरा सबैका लागि गर्व गर्ने कुरा हो । मोटामोटी अनुमान गर्दा १० देखि १५ प्रतिशत भू–भाग बाँझिएको छ ।

अन्त्यमा, गाउँपालिकाको विकास निर्माणमा देखिएका समस्या तथा चुनौतीहरू के–कस्ता छन् ?

भौगोलिक बनावटको कारणले पहाडी क्षेत्रमा विकास निर्माणका कार्यहरू सम्पादनमा धेरै समस्याहरू हुन्छन् । तर समस्याहरू छन् भनेर केही नै नगरी बस्ने कुरा पनि हुँदैन । यहाँ पनि विगतदेखि नै धेरै समस्याहरू थिए । २०औँ वर्ष सम्म स्थानीय तहको चुनाव हुन नसक्दा जनप्रतिनिधिविहीन हुँदा समयमै विकासले गति लिन नसकेको अवस्था थियो । त्यसैगरी दण्डहीनता, छाडापनजस्ता कुराहरू मौलाएका थिए । त्यसमा पनि विशेष गरेर पहिलो वर्ष मलाई योजना कार्यान्वयनमा धेरै समस्याहरू देखिए पनि पहिलेको र अहिलेको योजना कार्यन्वयनमा जनताहरूले धेरै अन्तर भएको महसुस गर्नुभएको छ ।

जनप्रतिनिधि आउनुभन्दा पहिले ४०/५० प्रतिशत काममै बिल भरपाई भएका कागजी प्रक्रियाका यथार्थलाई चिरफार गर्दै दैनिक बैठक बस्नेदेखि वादविवाद गर्दै सही र सत्मार्गको बाटोमा सबैलाई हिँडाउने प्रयास गर्दै अगाडि बढेका छौँ । कुनै पनि योजनाको विनियोजित बजेटमा शत प्रतिशत काम गर्नुपर्ने प्रावधानअनुसार काममा कैफियत भेटिए रकम कट्टा गरेर दिएका छौँ । जसले गर्दा एकातिर जनतामा सकारात्मक सन्देशको प्रवाह भई प्रशासन भएको अनुभूति पनि मिलेको छ भने, सही ढंगले कार्यसम्पादन गर्नुपर्ने ट्रेन बस्दै गएको छ ।  (जनमञ्च साप्ताहिकबाट)


क्याटेगोरी : अन्तर्वार्ता


तपाईको कमेन्ट लेख्नुहोस्