Techie IT
२३ मंसीर २०७८, बिहीबार

‘राजनीतिलाई पेसा बनाउनु देश र जनताका लागि दुर्भाग्यपूर्ण कुरा हो’

द्रोणबहादुर खत्री, अध्यक्ष, चन्द्रकोट गाउँपालिका गुल्मी


२०३२ सालमा गुल्मी हराचौरमा जन्मिएका द्रोणबहादुर खत्री चन्द्रकोट गाउँपालिका गुल्मीका अध्यक्ष हुन् । २० वर्षसम्म शिक्षण पेसामा आबद्ध भएर पेसाबाट अवकाश लिएसँगै स्थानीय समाजसेवी, बुद्धिजीवी र सर्वसाधारणलगायतको चाहनामा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका खत्रीले २०४७ सालमा विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरु गरेका थिए । नेविसंघको राजनीतिबाट दीर्घकालीन सोचका साथ राजनीतिमा प्रवेश गरेका खत्रीले त्रिचन्द्र कलेजबाट आईएस्सी र अमृत साइन्स क्याम्पसबाट बीएस्सी उत्तीर्ण गरेका छन् ।

नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेका खत्रीले जनप्रतिनिधि भइसकेपछि जनताको हुने र जनताको प्रतिनिधिले राजनीतिक स्वार्थ नदेखाई जनताका कामहरूमा मात्र केन्द्रित हुनुपर्ने धारणा राख्दछन् । दुई छाक दालभातको व्यवस्था गर्न सक्नेले मात्र सामाजिक कार्यको लागि राजनीति गर्नुपर्ने धारणा राख्ने खत्री राजनीति पेसाको रूपमा विकास भएकोमा दुःख व्यक्त गर्दछन् । एउटा वर्गको नारा दिएर सत्तामा पुग्ने र सत्तामा पुगेपछि त्यही वर्गलाई लात हानेर सत्ताको दुरूपयोग गर्ने परम्परा मौलाउनु आम नेपाली नागरिकको लागि विडम्बनाको कुरा भएको बताउने उनै खत्रीसँग गाउँपालिकाको समसामयिक विषयमा रहेर आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

यहाँहरू निर्वाचित भएको पनि चार वर्ष पुग्नै लाग्यो अहिलेसम्मको उपलब्धि कत्तिको छ ?

हामी निर्वाचित हुँदाको समय भनेको शून्य विकासको समयजस्तै थियो । निर्वाचित हुने समयमा हाम्रासामु चुनौतीका चाङहरू थिए । संघीयताको नयाँ अभ्यासमा काम कसरी गरेर जनताको मन जित्ने कुराहरू मात्रै हाम्रो मनमस्तिष्कमा गुन्जिन्थ्यो । जनताका काम गर्ने र गाउँपालिकाको विकास गर्ने लक्ष्य बोकेर जनताको प्रतिनिधि भइसकेपछि जनताको दुःखमा मलम लगाउन पाउनु भनेको हाम्रा लागि सौभाग्य र कर्तव्य दुवै हो । यावत चुनौतीहरूका बाबजुत पनि लक्ष्यप्राप्तिको बाटोमा अग्रसरता बढाउँदै चौथो वर्षमा प्रवेश गरेका छौँ । दिगो विकासका योजनाहरू, जनमुखी सेवा, जनताको आर्थिकस्तर वृद्धि, आवश्यकतालाई मध्यनजर गर्दै प्राथमिकताका आधारमा योजनाहरू कार्यान्वयन, भष्ट्राचार शून्य सहनशीलताकेन्द्रित रहँदै समृद्ध गाउँपालिका निर्माणका लागि हरेक क्षेत्रहरूमा सकारात्मक परिवर्तनहरू गर्दै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, रोजगार तथा स्वरोजगार सिर्जना गर्ने विभिन्न क्षेत्रगत कार्यक्रमहरू सञ्चालन गर्दै देखिने वा नदेखिने दुवै प्रकृतिका उपलब्धिहरू भएका छन् ।

विकासका लागि लिएको लक्ष्य र लक्ष्यप्राप्तिमा प्रत्यक्ष देखिएका केही चुनौतीहरूको स्मरण गर्नुपर्दा ?

स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैगर्दा चन्द्रकोट गाउँपालिकालाई सबै हिसाबले सकारात्मकरूपमा अगाडि बढाउने मुख्य लक्ष्य थियो । लक्ष्यअनुरूप कार्यसञ्चालन गर्नु हाम्रो मुख्य जिम्मेवारी भएको महसुस गर्दै कार्यसम्पादनमा लाग्यौँ । पहिलो वर्ष नयाँ अभ्यास भएकोले हाम्रा लागि धेरै चुनौतीहरू देखिएका थिए । प्रशासनिक कार्य सञ्चालनका लागि वडा कार्यालयहरूदेखि पालिका कार्यालय व्यवस्थापन पहिलो चुनौतीको रूपमा थियो भने काम कसरी गर्ने भन्ने अर्को । जनआवश्यकता असीमित र स्रोतसाधन सीमित हुँदा विवादरहित तरवबाट योजनाहरू कार्यान्वयनमा ल्याउनको लागि पनि अर्को चुनौती थियो । चुनौतीहरूको व्यवस्थापन गर्दै अहिले सबै वडा कार्यालयहरू र गाउँपालिका कार्यालयको लागि भवनहरूको व्यवस्थापन गरी सहजरूपमा सेवा प्रवाह गरेका छौँ । सेवाग्राहीलाई सेवा प्रवाह प्रभावकारी र पारदर्शी हुनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएकोले हाल क्याम्पसको भवन भाडामा लिएर प्रशासनिक कामहरू गर्दै आएका छौँ ।

धेरै स्थानीय तहहरू आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गरेको अवस्थामा चन्द्रकोटले भवन निर्माण गर्न नसक्नुको कारण के होला ?

त्यसको प्रमुख कारण भनेको भवन निर्माणको लागि आवश्यक जग्गा नहुनु हो । अहिले गाउँपालिकाका स्थानीयहरूबाट नौ बिघा क्षेत्रफल भएको जमिन निःशुल्क उपलब्ध भएको छ । जसले उक्त जमिनमा प्रशासनिक भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

चालू आर्थिक वर्षको अधिक समय बितिसक्यो, हालसम्मको प्रगति अवस्था के छ ?

फागुण मसान्तसम्मको प्रगति अवस्था हेर्दा ३५ प्रतिशतभन्दा बढी योजनाहरू सम्पन्न भएका छन् । हामीले योजना कार्यान्वयन कार्यतालिका बनाएर त्यहीअनुसार वडागतरूपमा सम्झौता गर्ने, नियमित अनुगमन, तोकिएको मापदण्डअनुसार योजना सम्पन्न भएपछि भुक्तानी दिने व्यवस्थाअनुरूप अगाडि बढेका छौँ । हिउँदे गाउँसभा सम्पन्न भएको छ । टोलविकास संस्थाहरूको माध्यमबाट जनताको घरदैलोमा विकास निर्माणका गतिविधिहरू सञ्चालन गरेका छौँ । नदिजन्य पदार्थ उत्खननको लागि आईईई सम्पन्न भएको छ । वातावरण ऐन निर्माण र खानेपानी कार्यविधि दर्ता प्रक्रिया अगाडि बढाएका छौँ । गाउँपालिकामा भएगरेका कामहरूको बारेमा जनतालाई जानकारी गराउन मासिकरूपमा इ–बुलेटिन प्रकाशित गर्दै आएका छौँ । समग्रमा सबै योजनाहरू कार्यान्वयनको चरणमा प्रवेश भएका छन् । चालू आर्थिक वर्षका लागि छुट्याइएका सम्पूर्ण योजनाहरूमा दु्रत गतिमा काम भएकोले समयमै योजनाहरू सम्पन्न हुने कुरामा दुईमत छैन ।

ऐन/नियम निर्माणको अवस्था कस्तो छ ?

आवश्यक ऐन, नियम, नियमावली, कार्यविधि सबै तयार गरिसकेका छौँ । ऐन नियम भनेको आवश्यकताको महसुसमा निर्माण गरिने भएकोले हामीले सोहीअनुसार निर्माण गर्दै अगाडि बढेका छौँ । नेपालको संविधानले स्थानीय तहहरूलाई दिएका अधिकारअन्तर्गत कानुनी प्रावधानको घेराभित्र रहेर हालसम्म ४५ भन्दा बढी ऐन/नियम/ नियामावली/कार्यविधि निर्माण भएका छन् ।

उज्ज्वल भविष्य निर्माणको आधार मानिने शैक्षिक क्षेत्रको अवस्था कस्तो छ ?

शैक्षिक उपलब्धिको सवालमा हामी एकदमै सन्तुष्ट छौँ । शिक्षाको मेरुदण्ड बालविकास केन्द्र भएकोले गाउँपालिकाका सबै विद्यालयहरूमा बालविकासका केन्द्रहरूको स्थापना गरेर बालविकास शिक्षा सञ्चालनमा आएका छन् । कक्षा एक र बालविकास कक्षाको बिचमा गाउँपालिकाकै लगानीमा केजी कक्षा सञ्चालन भएको छ । शिक्षक दरबन्दी कम भएका विद्यालयहरूमा शिक्षक अनुदानमा पठाउने, गाउँपालिका, प्रदेश सरकार, संघीय सरकारको सहकार्यमा विद्यालयहरूका भवनहरू निर्माण तथा मर्मतसम्भार गर्ने, शैक्षिक विकास तथा गुणस्तरीय शिक्षाका लागि आवश्यक कदमहरू चाल्ने र रणनीति तय गर्ने गरेका छौँ ।

त्यसैगरी शैक्षिक स्तर मजबुतीका लागि दुईवटा संस्थागत विद्यालयहरूलाई सामुदायिक विद्यालयसँग मर्जर गरेका छौँ । तीनवटा प्राथमिक सामुदायिक विद्यालयहरूलाई पनि अर्को सामुदायिक विद्यालयमा मर्जर गरेका छौँ । पहिलो वर्षदेखि हालसम्मको शैक्षिक सिकाइको उपलब्धिलाई हेर्ने हो भने क्रमशः झन्पछि झन् राम्रो हुँदै गएको छ । त्यस्तै, कृषि प्राविधिक शिक्षालाई थप व्यवस्थितरूपमा सञ्चालनमा ल्याएका छौँ । उच्च शिक्षाका गाउँपालिकामा सञ्चालित दुईवटा क्याम्पसहरूलाई गुणस्तरीय शिक्षामा जोड दिन आवश्यक रणनीतिहरूको अवलम्बन गर्दै अगाडि बढेका छौँ ।

ग्रामीण क्षेत्रहरूमा बसाइँसराइको दर बढ्नुको एउटा कारण स्वास्थ्यलाई पनि लिइन्छ, चन्द्रकोटको स्वास्थ्य सेवा कत्तिको प्रभावकारी छ ?

मेरो विचारमा स्वास्थ्य सेवा मात्र नभएर अन्य धेरै कुराहरूको अभावले पहाडी क्षेत्रबाट तराई र सहरतिर बढी बसाइँसराइ हुने गर्दछ । चन्द्रकोटमा पनि त्यो अवस्था नभएको होइन छ । हामी गाउँको जनशक्तिलाई गाउँमै राख्ने चाहना त राख्छौँ तर सबैका आ–आफ्नै बाध्यताले गर्दा बसाइँसराइदर बढ्दै गएको हो । जहाँसम्म गाउँपालिकामा स्वास्थ्य सेवाको कुरा छ त्यो क्रमशः बढ्दो क्रममा छ ।

स्वास्थ्य क्षेत्रमा हामीले धेरै उपलब्धिहरू हासिल गरेका छौँ । स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मीहरूलाई चाहिने उपचारका सामग्रीहरू, औषधि, फर्निचरलगायत अन्य धेरै सामाग्रीहरूको अभावै अभावमा सञ्चालन भएको अवस्था थियो आज त्यो अवस्थाको अन्त्य भएको छ । स्वाथ्य चौकीबाट कस्तो सेवा प्रवाह हुनुपर्ने हो उक्त सेवाको लागि आवश्यक सम्पूर्ण कुराहरूको व्यवस्थापन गरेसँगै प्रभावकारी सेवामा स्वास्थ्य संस्थाहरू सक्षम देखिएका छन् । केही स्वास्थ्य चौकीका भवनहरूको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ भने केही स्वास्थ्य संस्थाका भवनहरू निर्माणाधीन अवस्थामा रहेका छन् ।

विकट तथा फरक खालका स्वास्थ्यको पहुँच कम भएका सातवटा क्षेत्रहरूमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रबाट सेवा उपलब्ध गराएका छौँ । शून्य होम डेलिभरी अभियानअन्तर्गत केही स्वास्थ्य संस्थाहरूमा बर्थिङ सेवा सुचारु गरेका छौँ भने केहीमा प्रक्रियागत अवस्थामा छ । दुईवटा स्वास्थ्य चौकीमा ल्याबको व्यवस्था पनि मिलाएका छौँ भने मझुवा स्थास्थ्य चौकीमा पनि चालू आवबाटै सञ्चालनमा ल्याउँदै छौँ । सेवा प्रवाहको अवस्थालाई हेर्दा उपचारको लागि गाउँपालिकाका नागरिकहरू मात्र नभएर छिमेकी जिल्ला बागलुङबाट पनि उपचारका लागि बिरामीहरू आउने हुँदा स्वास्थ्य संस्थामा बढ्दो चापलाई मध्यनजर गरेर गाउँपालिकाकै लगानीमा डाक्टरको व्यवस्था पनि छौँ ।

सडक सञ्जाल विस्तार र विकासमा के–कस्ता कामहरू भएका छन् ?

हामी सडकलाई आवश्यकताभन्दा बढी जोड दिएनौँ । निकै महत्वको सडक चोरकाटे–शान्तिपुर जोड्ने १४ किमि मूल सडकलाई स्तरवृद्धि गरी संघीय सरकारको समपुरक बजेट र जिल्ला पूर्वाधार विकास केन्द्रबाट टेण्डर प्रक्रियाबाट २८ महिनाभित्र कालोपत्रेलगायतका सम्पूर्ण कामहरू सक्ने गरी सम्झौता भएको छ । उक्त सडकमा काम अहिले तीव्र गतिमा अगाडि बढेको छ । गाउँपालिकाको केन्द्रसँग सबै वडाहरूबाट बाह्रै महिना निर्बाधरूपमा सवारीसाधन चल्न सक्नेगरी सडक सञ्जालहरू जोडिएको छ । वडाभित्रका विभिन्न बस्तीहरूमा सेवा प्रवाहको लागि जोडिने सडकहरूको स्तरवृद्धि गरेका छन् भने नयाँ ट्र्याक खोल्दा त्यसका नकारात्मक असरहरू धेरै देखिने हुँदा आवश्यकताबाहेकका ट्र्याक खोलेका छैनौँ ।

पहाडी क्षेत्रका धेरै स्थानीय तहहरूले एक घर एक धाराको रणनीति अवलम्बन गरेको पाइन्छ, चन्द्रकोटले त्यो रणनीति अपनाएको छ ?

पानी भनेको मानिसलाई नभई नहुने र बाँच्ने आधार हो । जब बाँच्ने आधार नै राम्रो हुँदैन त्यो अवस्था भनेको निकै पीडादायी अवस्था हुन्छ । हिजो एक/दुई घण्टाको यात्रा गरेर पानी ल्याउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै धेरै स्थानीय तहहरूले एक घर एक धारा नीति अवलम्बन गरेका हुन् । चन्द्रकोटको पनि एक घर एक धारा मुख्य नारा नै हो । गत आर्थिक वर्षमा प्रदेश सरकारको समपुरक बजेटबाट पाँचवटा खानेपानी योजनाहरू अगाडि बढायौँ । यो वर्ष पनि पाँचवटा खानेपानीका योजनाहरू अगाडि बढेका छन् ।

हालसम्म एक हजारभन्दा बढी घरधुरीमा खानेपानीका धाराहरू जडान गरिसकेका छौँ । यो वर्ष त्योभन्दा धेरै घरमा धारा जडान गर्ने लक्ष्यमा छौँ । विकट ठाउँमा लिफ्टिङ खानेपानीको माध्यमबाट धाराहरू जडान गर्ने कार्य भइरहेको छ । मलाई लाग्छ हामीले यो पाँच वर्षभित्र प्रत्येक घरमा शुद्ध खानेपानीका धाराहरू जडान गरिसक्छौँ ।

गाउँपालिकामा पर्यटकीय क्षेत्रहरूको अवस्था के छ र पर्यटकहरूको आगमन हुन्छ कि हुँदैन ?

केही धार्मिक तथा पर्यटकीय स्थलहरूले चन्द्रकोटको गरिमा बढाएका छन् । चन्द्रकोट मन्दिर, दिबु्रङ मन्दिर, चक्रेश्वर मन्दिरलगायतका मठमन्दिरहरूको धार्मिक पर्यटनको विकासमा टेवा पु¥याएका छन् भने अर्जेवा झरना र टिमुरे ताल आन्तिरिक तथा बाह्य पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । जहाँ वार्षिक हजारौँ जना अवलोकनको लागि आउने गर्नुभएको छ ।

खरको छाना विस्थापन गर्ने अभियान कहाँसम्म पुग्यो होला ?

नागरिक सुरक्षित आवासमध्ये खरको छाना विस्थापित गरी जस्तापाता लगाउने कार्यअन्तर्गत धेरै घरहरूमा जस्तापाता लगाउने काम सम्पन्न भएको छ । सुरुको वर्षदेखि चालू आर्थिक वर्षसम्म अनुमानित तीन करोड रुपैयाँ खर्च हुने देखिन्छ । जहाँसम्म पूर्ण घरको छानारहित गाउँपालिकाको कुरा छ त्यो आगामी आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी दु्रत गतिमा कार्यसम्पादन गरेका छौँ ।

गाउँपालिकामा सुशासनको अवस्था कस्तो छ ?

सुशासन कायम राख्ने कुरालाई हामीले गम्भीरताका साथ मनन गर्दै आएका छौँ । साढे तीन वर्षभन्दा बढी समय भयो जनप्रतिनिधि भएर काम गरेको तर अहिलेसम्म गाउँपालिकामा कुनै पनि कुरामा विवाद भएको छैन । गाउँपालिकाका एक जना नागरिकहरूले पनि व्यक्तिगत सेवामुखी भए, विलासी जीवन बिताए भन्ने खालको गुनासो गर्ने ठाउँ दिएका छैनौँ । अत्यन्त्यै मितव्यी भएर कामहरू गरेका छौँ । विगतमा गाउँपालिकाको आन्तरिक आय पाँच/सात लाख पनि थिएन तर अहिले करिब एक करोड रुपैयाँभन्दा बढी हुनेगरेको छ ।

जनप्रतिनिधि, कर्मचारी सबैजना जनमुखी सेवामा केन्द्रित भएर लागेका छौँ । अपारदर्शी कार्यको लागि कसैसँग पनि नजिक नहुने, एक रुपैयाँको पनि लोभ नगर्ने, कार्यमा कम्प्रमाइज गर्न नदिने, जुनसुकै काममा पनि गुणस्तर मापन र योजना अनुगमनमा कर्मचारी, जनप्रतिनिधि एकजुट भएर लागेको अवस्था छ । अहिलेसम्म गाउँपालिकामा आएर आर्थिक प्रलोभनमा परेर कोही कसैसँग मिलेको भन्ने आम सर्वसाधारणलाई दोष लगाउने ठाउँ राखेका छैनौँ । र त्यो अवस्था आउन पनि दिने छैनौँ । किनभने हामीले सुरुमै भष्ट्राचारको कुरामा शून्य सहनशीलताको बाटो अपनाउने नीतिका साथै समृद्ध गाउँपालिका निर्माणमा कसम खाएर निर्वाचित भई यो स्थानमा उभिएका हौँ ।

सर्वसाधारणले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन् त ?

हिजो जनप्रतिनिधिविहीन अवस्थामा भएको विकास र आज जनप्रतिनिधि आएपछि भएको विकास अवस्थालाई हेर्ने हो भने त्यही कुराले नै जनताले स्थानीय सरकारको अनुभूति गरे/नगरेको प्रमाणित गर्दछ । सरसर्ती हेर्दा हिजो जुन उद्देश्यका साथ गाउँपालिकाको परिचय बढाउने कुरा, आन्तरिक आय वृद्धि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, व्यावसायिक कृषि, पशु स्वास्थ्य शिक्षा हरेक कुरामा सकेसम्म नागरिकहरूलाई स्थानीय सरकारको अनुभूति मिल्ने गरी कार्यसञ्चाल गरेका छौँ । जसले जनतालाई स्थानीय सरकारको अनूभूति मिलेको कुरामा विश्वस्त छौँ ।

भन्ने गरिन्छ, राजनीति फोहोरी खेल हो । उक्त कुराको पुष्टिको लागि पछिल्लो समयमा मौलाएको देशको राजनीतिलाई पनि हेर्न सकिन्छ । देश निर्माणको हैसियत राख्ने राजनीतिमा यति धेरै बेथिति मौलाउनुको कारण के होलाजस्तो लाग्छ ?

पहिलो कुरा राजनीति कसले गर्ने ? किन गर्ने ? केका लागि गर्ने ? जस्ता दर्जर्नौँ प्रश्नहरू हुन्छन् । हामीले राजनीतिलाई हल्कारूपमा लिन्छौँ तर हामीले लिएको हल्काभन्दा धेरै गुणा बढी वजनदार छ राजनीति । पछिल्लो समयलाई नियाल्ने हो भने यो जनताका लागि गरिएको राजनीति नभएर सत्ता र शक्तिका लागि गरिएको राजनीतिजस्तो लाग्छ । त्यसमा केही राजनीतिज्ञहरूका व्यक्तिगत स्वार्थहरू लुकेका छन् तपाईंलाई त्यो मैले भनिरहनु पर्ने कुरै भएन ।

हाम्रो देशको राजनीति केवल शक्ति संकलनकै लागि मौलाएको छ । यहाँको राजनीतिमा लाग्न कुनै मापदण्ड र सीमा छैन । जो गए पनि भयो, जसरी गरे पनि भयो भन्ने गलत मानसिकताको विकासले राजनीतिमा विकासभन्दा बेथिति बढी हाबी भएको छ । वास्तवमा राजनीति त्यो वर्गको हातमा जानुपर्दछ जसले देश र जनताका लागि केही गर्न सक्छ ।

केही समय यता राजनीति पेसाको रूपमा विकास भएको देखिन्छ । योजनाविहीन साँझ–बिहान खान नपुग्नेहरू मात्र राजनीतिमा लाग्ने हो त्यहाँ निश्चितरूपमा अनियमिताको चुली भरिन्छ । किनकि उसको राजनीतिक उद्देश्य भनेको शक्तिमा बसेर सम्पत्ति वृद्धि गर्ने मात्र हुन्छ । त्यस्तो अवस्थामा जनताका इच्छा आकांक्षाहरूको गला रेटिनुको विकल्प हुँदैन । अनि, एउटा वर्गको नारा उठाएर सत्तामा पुग्ने र सत्तामा पुगेपछि त्यही वर्गलाई लात हान्ने परम्परा पनि हामीकहाँ दिनप्रतिदिन मौलाउँदै गएको छ ।

मास्टर्स गरेका युवाहरू विदेशी भूमिका गुलाम भएका छन् भने धेरै राजनीतिज्ञहरूका आठ/दश/बाह्र पासहरू पनि सरकारी पोषाकमा सजिएर शानसँग निर्देशन दिन्छन् । यावत अवस्था र गतिविधिहरूलाई मसिनोगरी केलाउने हो भने यहाँको राजनीतिमा गलत संस्कारले जरा गाडेको छ । वास्तवमा राजनीति पेसाको रूपमा मौलाउँदै जानु नै देश र जनताको लागि दुर्भाग्यको कुरा हो । राजनीतिलाई सेवाको रूपमा विकास गर्न सकियो भने समृद्ध नेपाल निर्माणका लागि धेरै पापड बेलिरहनु पर्दैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्वार्ता


तपाईको कमेन्ट लेख्नुहोस्