Techie IT
मंगलबार, माघ ६,२०७७

मूल्य भनेको आफ्नो प्रोडक्टको ब्रान्डिङमा भर पर्ने कुरा हो

सुरज भट्टराई, अध्यक्ष, औषधि व्यवसायी संघ रूपन्देही


पाल्पा जिल्लाको बर्तुङमा जन्मिएका सुरज भट्टराई औषधि व्यवसायी संघ रूपन्देहीका अध्यक्ष तथा ग्रेसफर्मास्यूटिकल्स प्रालि तिलोत्तमा–११ का प्रबन्ध निर्देशक हुन् । अर्थशास्त्र विषयमा स्नातक गरेका भट्टरार्ई २०५३ सालदेखि औषधि व्यवसायमा आबद्ध छन्् । व्यावसायिक हकहित र उपभोक्ताको मनोभावअनुसारको बजार प्रवद्र्धन गर्नुपर्ने कुरामा विशेष चासो राख्ने भट्टरार्ई औद्योगिक क्षेत्रको विकास समृद्ध नेपाल निर्माणको एउटा आधार भएको बताउँछन् । २०७६ सालमा औषधि व्यवसायी संघ रूपन्देहीको संस्थापक अध्यक्ष भएका सुरज भट्टराईसँग आर्थिक दैनिका लागि स्वास्थ्य क्षेत्रको समसामयिक विषयमा पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त अंश :

धेरै क्षमतावान युवाहरू कोरिया, अमेरिका, जापानलगायत उच्च आम्दानी हुने मुलुकहरूमा अवसरहरू खोज्दै गइरहँदा यहाँको रोजाइ नेपालमै प-यो त्यो पनि स्वास्थ्य क्षेत्रमा, त्यसको कारण के हुनसक्छ ?

मैले सानैदेखि देखिरहेको थिएँ गाउँ सहरतिरका युवाहरू एसएलसी/१२ कक्षा पास गरेपछि विदेशीने गरेको कुरा । मलाई किन मान्छेहरू विदेश जान्छन् जस्तो लाग्थ्यो । यो कुरालाई म आफूले नै प्रामणित गर्नुपर्छ, केही गर्छु भन्ने भावनामा बढी प्रेरित भएको मान्छे हुँ । विभिन्न आशा र अभिलासाका साथ युवा पुस्ताको लागि नेपाल उर्वर भूमि हो भन्ने कुरा मैले पहिल्यैदेखि चिनेको थिएँ । सोही मान्यतालाई स्थापित गर्ने उद्देश्य बोकेर अरुलाई पनि रोजगारी दिन सकिन्छ भन्ने लागेर विदेशीने रहर कहिल्यै जागेन । देशभित्रै केही गर्दा बढी आत्मसन्तुष्टि मिल्ने भएकोले नै मैले आफ्नो कर्मक्षेत्र नेपाल नै रोजेको छु । सानैदेखि नै स्वास्थ्य क्षेत्रमा काम गर्ने इच्छा भएकोले पनि पछि स्वास्थ्य क्षेत्रमै व्यवसाय गर्ने प्रण गरी अगाडि बढेको हुँ ।

यहाँ अध्यक्षको जिम्मेवारीमा रहनुभएको औषधि व्यवायीहरूको छाता संगठनले स्वास्थ्य क्षेत्रको विकासमा कस्तो भूमिका खेलेको छ ?

औषधि व्यवसायी संघको स्वस्थ्य क्षेत्रमा भूमिकाको कुरा गर्दा अत्यन्तै महत्वपूर्ण भूमिका छ । यो संस्था नेपालमा २०३० सालमा औषधिको व्यवस्थापना, उपलब्धता, मूल्यएकरूपता र गुणस्तर औषधिको सहज आपूर्तिको उद्देश्यका साथ खुलेको हो । यतिसम्मको सरकारको आफ्नो कुनै नियन्त्रक निकाय/हालको डीडीए पनि स्थापन भएको थिएन र लुम्बिनी अञ्चलमा २०३९ सालमा स्थापना भई हाल देशभरि यसको सञ्जाल छ । १६ हजार औषधि व्यवसायी यसमा आबद्व छन् । रूपन्देही जिल्लामा मेरो नेतृत्व संस्थाअन्तर्गत एक हजार दुई सय सदस्य छन् । सरसर्ती हेर्दा यस संस्थाअन्तर्गत रहेको औषधि व्यवसायीले नै देशको झन्डै ७० प्रतिशत गुणस्तरीय औषधिको सहज आपूर्तिमा उल्लेखनीय भूमिमा निर्वाह गरिरहेको सन्र्दभमा नेपाल सरकारबाट पनि फरक–फरक समयमा सम्मानित भएको छ । स्वास्थ्य क्षेत्रको नीतिनियम बनाउँदा र कार्यान्वयनको पक्षमा वकालतले पनि नेपाल औषधि व्यवसायी संघको स्वास्थ्य क्षेत्रको विकासमा अत्यन्तै महत्वपूर्ण रहेको प्रमाणित हुन्छ ।

स्वास्थ्य क्षेत्रमा रूपन्देही हब बन्दै गएको बताइए पनि यस क्षेत्रबाट काठमाडौंलगायत भारतीय अस्पतालहरूमा उपचार गराउन जाने बिरामीहरूको जमात पनि उत्तिकै छ, यसको वास्तविकता के हो ?

अहिले आएर रूपन्देहीमा हरेक क्षेत्रको विशेषज्ञ डाक्टरको कमी छैन । तर पनि टाउको, मुटुको खुला अपरेसन गनुपर्दा अझै पनि उक्त क्षेत्रका डाक्टरहरूको दरबन्दी कम हुनु र प्रविधि पनि नहुनु, ठूलो मात्रामा गर्नुपर्ने लगानीको जोखिम ठूलो हुनु, भौतिक पूर्वाधारमा ठूलो लगानी आवश्यक हुनु र त्यहीबमोजिम लगानीको सुरक्षा नहुनुले प्रविधिक र भौतिकरूपमा सम्पन्न अस्पतालहरू बन्न नसक्नुजस्ता कारण एकातिर छन् भने अर्कोतिर हाम्रो स्वास्थ्य क्षेत्रको विज्ञापनशैली पनि गलत छ । त्यही क्षेत्रका डाक्टरले बिरामी रिफर गर्नुपर्दा रूपन्देहीमै नगरी भरतपुर, काठमाडौं र गोरखपुर पठाउने चलनले गर्दा पनि बिरामी बाहिर धाउँछन् ।

हालसम्म रूपन्देहीमा एमआरआई मेसिन छैन । क्यान्सरको उपचार÷प्रविधि हालसम्म छैन, जसको कारण बिरामी बाहिर जानुलाई स्वभाविक मानिन्छ तर स्वास्थ्य क्षेत्रमा हब बन्दै गर्दा यी र यस्ता कारणहरूलाई सरकारी तवरबाट र निजी तवरबाट अनि डाक्टरहरूको एसोसियसनको तर्फबाट पनि निश्चित विषयममा पहल गरी यसको विस्तार विकास गर्न सकिन्छ । तत्कालै त्यो विषयमा ध्यान जान जरुरी देखिन्छ । यसरी हेर्दा मुटु र टाउकोको खुला अपरेसन, क्यान्सरको उपचार र एमआरआईबाहेक अन्य स्वस्थ्य उपचारको लागि अब यस क्षेत्रका जनता रूपन्देही बाहिर जानुपर्ने आवस्थाचाहिँ छैन ।

रूपन्देहीमा औषधि उत्पादन गर्ने उद्योगहरू र बिक्रीवितरण गर्ने व्यावसायिक प्रतिष्ठान तथा अस्पातालहरूको संख्यात्मक अवस्था र उत्पादन क्षमता कस्तो छ ?

रूपन्देही हालसम्म आयुर्वेदतर्फ सानाठूला गरी आठवटा एलोपेथिकतर्फ र आठवटा औषधि उद्योग सञ्चालानमा छन् । थप तीनवटा नयाँ उद्योग सञ्चालन तयारीमा छन् । आयुर्वेदतर्फ वार्षिक ५० करोडको र एलोपेथिकतर्फ वार्षिक तीन सय ३० करोडको उत्पादन गरी देशैभरिबाट खपत भइरहेको छ भने उत्पादनमा वार्षिक आयुर्वेदतर्फ एक सय ८० करोड र एलोपेथिकतर्फ नौ सय करोडको उत्पादन क्षमता राख्दछन् । त्यस्तै थोक कारोबार गर्ने व्यवसायी एक सय २५ छन्, खुद्रा व्यवसायी झन्डै एक हजार एक सय ५० छन् । यस्तै सामुदायिक अस्पताल एक प्राइभेट अस्पतालहरू १५/१५ बेडदेखि एक सय बेडसम्म जम्मा १२ वटाले सेवा दिइरहेका छन् ।

रूपन्देहीमा हालसम्म कति प्रकारका औषधिहरू उत्पादन हुनेगरेका छन् र ती औषधिहरूमध्ये सबैभन्दा बढी खपत हुने औषधिहरू कुन–कुन हुन् ?

रूपन्देहीमा आयुर्वेदतर्फ एक सय प्रकारको र एलोपेथिकतर्फ झन्डै चार सय ५० देखि पाँच सय प्रकारको औषधिहरू फरक–फरक ब्रान्डका नाममा बजारमा छन्, जसमा छाला रोग, हाडजोर्नी, पेट, छाती, मुटु, सुगर, टाउको, मानसिकलगायतका लागि प्रयोग हुने औषधिहरू उत्पादन हुन्छन् ।

औषधि उद्योगहरूले आफ्नो उत्पादनलाई बिक्री गर्न डाक्टरहरूलाई कमिसन खुवाउँछन् भन्ने हल्ला बजारमा व्यापकरूपमा फैलिँदै आएको छ, के त्यो कुरा वास्तवमै साँचो हो त ?

आफ्नो उत्पादनलाई बिक्री गर्न डाक्टरहरूलाई कमिसन खुवाउँछन् भन्ने सरासर गलत हो । हामीहरू हल्लाका पछाडि दगुर्नु हुँदैन । विश्वमै औषधिको आफ्नो ब्रान्ड चिनाउन कम्पनीको प्रतिनिधि डाक्टरलाई भेट्ने, आफ्नो ब्राण्डको बारेमा जानकारी दिने र उक्त ब्रान्डसँग रिलेटेड म्यागजीन/किताबहरू प्रदान गर्ने सम्बन्धित तालिम, गोष्ठी, सेमिनारको व्यवस्था मिलाउनेजस्ता गतिविधिलाई कमिसन भन्न मिल्दैन र यस्ता प्रमोसनका विधि औषधिको विश्व बजारमा नै प्रचलन र प्राक्टिसमा छ । साथै यो आवश्यक पनि छ ।

बजारमा एउटै रोगमा उपचारको काम गर्ने औषधिहरूको कम्पनीअनुसारको फरक–फरक दररेट हुन्छ, त्यसको कारण कतै गुणस्तरमा कैफियत त होइन ?

एउटै मलिक्यूलको औषधि पनि कम्पनीअनुसार मूल्य फरक हुनु स्वभाविक हो । किनकि मूल्य भनेको आफ्नो प्रोडक्टको ब्रान्डिङमा भर पर्छ । कुन उत्पादनलाई कसरी बजारमा स्थापित गर्ने उद्देश्य हुन्छ त्यसरी नै लागत मूल्यलाई हेरेर मूल्य निर्धारण हुने हुन्छ । विश्वमै सम्भवत सस्तो औषधिको मूल्य नेपालमै हो । यो मूल्यको निर्धारण प्रक्टिस अन्य देशहरूमा पनि यस्तै नै हुन्छ । त्यस कारणले मूल्यको नियन्त्रण ग-यो भने पक्कै पनि गुणस्तरमा कैफियत हुन सक्छ । हालको अवस्थामा कम्पनीअनुसारको फरक–फरक मूल्यको कारण गुणस्तरमा कैफियत हुन सक्दैन ।

यहाँ प्रबन्ध निर्देशक भएको कम्पनी ग्रेस फर्मास्यूटिकल्सले हाल कुन–कुन रोगका कति प्रकारका औषधिहरू उत्पादन गरेको छ र यसमा डाक्टरहरूको प्रतिक्रिया कस्तो छ ?

ग्रेस फर्मास्यूटिकल्सल आयुर्वेदतर्फ ४६ प्रकारका जसमा महिला, पेट, छाला, टाउको, हाडजोर्नी, पाएल्स, कलेजो, बच्चा, खोकीलगायतमा प्रयोग हुने अप्टिबुम, यूटिस, निलास्टो ट्याब, फिलोडेक्स, ओस्टोलेक्स जेलजस्ता औषधिहरू बनाउँछ । आयुर्वेद/एलोपेथिक दुवैतिरको डाक्टरहरूको क्वालिटिमा राम्रो प्रतिक्रिया छ । एलोपेथिकतिर हालसालै मात्र यसको उत्पादनहरू बजारमा गएका छन् । जसमा ८ महिना मात्र भएको छ । मुटु र सुगर रोगका औषधि रोस्लेट, लिपर, स्मार्टन ५० लाइनरेस, टेलकम, मेस्टी जी वान, जीटु फोर्टलगायतका औषधिहरू बजारमा छन् । अबको १ महिनाभित्रै डिभिजन निओको नाममा साधारणतर्फ महिला, हाडजोर्नी, छाला, पेट, टाउको, नसा छाती, एलर्जीसम्बन्धी औषधिहरू लिएर आउँदै छौँ । हालसम्म हाम्रो उत्पादन मुटु र सुगरका औषधिको क्वालिटिप्रति डाक्टरहरूका राम्रो प्रतिक्रियामा आएको छ ।

औषधि उत्पादनको लागि कच्चा पदार्थहरूको व्यवस्थापन कहाँबाट गर्नुहुन्छ ? कतै औषधि नेपालको कच्चा पदार्थ भारतको त होइन ?

कच्चा पदार्थको कुरा गर्दा आयुर्वेदतर्फ ६० देखि ७० प्रतिशत नेपालमै उपलब्ध हुन्छ । बाँकी भारतबाट आउँछ भने एलोपेथिकतर्फ भारतलगायत तेस्रो मुलुकबाट आउँछ । कच्चा पदार्थकै कुरा गर्दा भारत औषधि उत्पादनमा ठूलो देशमा पर्दछ तर भारतमा पनि कुनै पनि कच्चा पदार्थ आफ्नै उत्पादन छैन, त्यहाँ पनि अन्य देशबाट ल्याई प्रोसेस मात्रै गरी पठाउने हो हाम्रो त कुरै छोडौँ ।

पछिल्लो समयमा आयुर्वेदिक औषधि प्रयोगकर्ताहरू क्रमिकरूपमा बढ्दै गएको भन्ने सुनिन्छ, वास्तवमा के हो ?

पछिल्लो समयमा आयुर्वेदिक औषधिप्रतिको आम मानिसको विश्वास बढेसँगै एलोप्याथिक डाक्टरहरूको पनि विश्वास बढेको छ । प्रयोग पनि स्वमं नै गरिरहनुभएको छ या नेपालको लागि धेरै राम्रो सम्भावना पनि हो । हामी जडीबुटीको धनी देश हौँ तर सोही स्वदेशी कच्चा पदार्थबाट बन्ने औषधिको पवर्द्धनमा ठोस नीति लिँदैनौँ । जसले गर्दा आयुर्वेदमा ठूलो विकास हुन सकेको छैन । यो दुःखको कुरा हो । तर आशा गरेर आम जनता डाक्टरहरू, स्वास्थ्यकर्मीहरू र सरकारले यो सबै कुरा बुझी अगाडि बढ्नेछन् । आयुर्वेदमा विकास हुन्छ । जसले गर्दा आयात प्रतिस्थापन भई अर्थतन्त्रमा सानो हिस्सा भए पनि टेवा पुग्दै सुखी नेपाली सम्मृद्ध नेपाल सार्थक हुनेछ ।

विद्यमान समयमा औषधि व्यवसायी तथा उद्योगीहरूका समस्या के–कस्ता छन् र ती समस्यालाई समाधान गर्ने उपायहरू के–के होलान् ?

औषधि व्यवसायीका समस्याका कुरा गर्दा दोहोरो कानुनी मापदण्ड, अनुगमनमा एकरूपता नहुन, अपडेट र अपग्रेड गर्ने खालको तालिम नहनु, व्यवसायी सहायक तालिम नहुनु, जसले गर्दा एउटै व्यक्तिले २४सै घण्टा ३६५ दिनै सेवा दिन गाह्रौ हुनु, दोहोरो कर प्रणाली छन् भने समाधानमा एउटा मात्र कानुन आर्कषित हनुप-यो, सर्जिकल सामानमा पनि एमआरपी हुनुपर्याे अनुगमन गर्दा व्यक्ति र ठाउँअनुसार फरक बुँदामा र फरक तरिकाले गर्नुभएन र एक ठाउँबाट मात्रै अनुगमन गनुप-यो, व्यवसाय सहायक तालिमको पाठ्यक्रम तयार छ तालिम गराउनुप-यो ।

त्यसैगरी उद्योगका कुरा गर्दा आयुर्वेदतर्फ वतअन्तर्गतका जडीबुटी निकासीलाई सहजीकरण गर्नका लागि कृषि अन्तर्गत राख्नुप-यो । तेल आयात गर्दा भ्याट छुट, आयुर्वेद उद्योगलाई कृषि उद्योग अन्तर्गत राखी कृषिसरह बैंक ऋणको व्यवस्था, एलोपेथिकतर्फ कच्चा प्रदार्थ/सहायक प्रदार्थमा भ्याटछुट, एएचयू क्लिन रुम पार्टेसनमा भ्याट छुट गर्नुको साथै उत्पादन दर्तामा माकेटिङ लाइसेन्स लिँदा झन्झटिला प्रक्रिया हटाउन पर्छ ।

यहाँको विचारमा नेपाल औषधिको क्षेत्रमा पूर्णरूपमा आत्मनिर्भर बन्नको लागि राज्यद्वारा के–कस्ता कदमहरू चालिनु पर्छजस्तो लाग्छ ?

औषधिको क्षेत्रमा आत्मनिर्भर हुनलाई सर्वप्रथम औषधिको उद्योगलाई प्राथमिक क्षेत्रको उद्योगमा सूचीकृत गरी बैंकिङमा सहजीकरण गर्दै बैंक ब्याजमा छुट दिनुपर्छ । साथै नेपालमा उत्पादन हुने प्रोडक्ट तीनभन्दा धेरै उद्योगले उत्पादन गरेको छ भने उक्त प्रोडक्ट बाहिरवाट आउन बन्द नै गरिदिनुपर्छ । त्यति गर्दा मात्रै पनि हाल नेपालमा ४७ प्रतिशत रहेको स्वेदशी खपत बढेर ८० प्रतिशतमा जान्छ यो नैै आत्मनिर्भरीकरणका लागि पहिलो कदम हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्वार्ता


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार